गठबन्धनभित्रको असन्तुष्टि र एमालेको च्याँखे दाउ



काठमाडौं ।

विगत १० महिनादेखि सत्ताबाहिर रहेको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट (एमाले) गठबन्धनभित्रको बेमेललाई लिएर सत्ताको च्याँखेदाउमा बसेको छ।

राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा माओवादी केन्द्रका उम्मेदवार हारेपछि माओवादी–कांग्रेसबीच देखिएको असमझदारीलाई च्याँखे दाउको रूपमा लिएर गठबन्धनभित्र चलखेल थालेको हो।

पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेस संस्थापनइतर समूहका नेताहरूसँगको छलफललाई बाक्लो बनाउनुभएको छ।

राष्ट्रियसभा चुनावमा सिट साझेदारी गर्ने जमर्को गरेको थियो। सत्ता गठबन्धनले राष्ट्रिय सभामा सिट नदिएपछि वर्तमान सरकारको औचित्य सकिएको भन्दै विरोधमा उत्रिएको एमालेले एकातिर आन्दोलनको उद्घोष गरेको छ भने अर्कोतर्फ सत्ताभित्रकै असन्तुष्ट समूहसँगको छलफललाई समेत अघि बढाएको छ।

‘वर्तमान सरकारले जनताका पक्षमा काम गर्न सकेको छैन’ एमालेका सचिव रघुवीर महासेठले भन्नुभयो – ‘गठबन्धनका कारण देश टाट पल्टँदै गएको छ। मुलुक र जनताका लागि यो सरकाले काम गर्न सकेको छैन। गठबन्धनभित्रै ठूलो अविश्वास छ।

राष्ट्रिय सभामा गठबन्धभित्रै एकले अर्कोलाई मत नहालेको अवस्था आएको छ। त्यसकारणले पनि सत्ता गठबन्धन लामो टिक्दैन भन्ने एमालेको दाबी हो। हामी सरकारमा गइहाल्नु पर्छ भनेर नलागे पनि देशको आवश्यकताका आधारमा एमालेले निर्णय गरेर अघि बढ्ने विषय सामान्य हो।

एमालेले समानान्तर रूपमा माओवादी र कांग्रेसका नेतासँग छलफल चलाइरहेको एमाले स्रोतको भनाइ छ। एमाले प्रचार विभाग सचिव गगन विष्टले वर्तमान सत्ता गठबन्धन फुटाउने एमालेको घोषित नीति रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘प्रमुख प्रतिपक्ष दल गठबन्धनको पक्षमा हुँदैन, एमाले यो गठबन्धनको पक्षमा छैन, सरकार जबसम्म रहन्छ, तबसम्म मुलुकले आर्थिक सफलता हासिल गर्न सक्दैन। राजनीतिक अराजकता बढ्दै जान्छ । त्यसैले यो गठबन्धन टुटाउने, फुटाउने हाम्रो घोषित उद्देश्य नै हो।’

एमालेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) देखि सत्ताघटक मधेसवादी दलहरूले आन्दोलनको तयारी गरेको बताएका छन्। राप्रपाले राजसंस्थासहित हिन्दु राज्य स्थापनाको एजेन्डा बोकेर अघि बढेको छ।

यद्यपि, व्यवस्था परिवर्तनको माग राख्दै आन्दोलनमा जाने तयारी गरेको उक्त दलले वर्तमान व्यवस्थाको उपयोग गर्दै कोशी र वागमती प्रदेशमा सभामुखको जिम्मेवारीमा छ।

एक वर्षअधि माओवादी–एमाले गठबन्धनको सरकारमा दुई र एक राज्यमन्त्री लिएर सत्ताको स्वादमा रमाएको थियो। एक वर्ष सत्तामा बस्न नपाएका पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले सरकारको अक्षमता प्रमाणित भइसकेकाले यसलाई हटाउन आन्दोलन चाहिएको बताउँदै आउनुभएको छ।

देश बर्बाद हुनबाट जोगाउनलाई पार्टीले सिठी बजाउँदा आन्दोलनका लागि तयार हुन कार्यकर्तालाई निर्देशन दिँदै आउनुभएका अध्यक्ष ओलीले चुनाव भनेर २०८४ सम्म पर्खिन नसक्ने अवस्था आउनसक्ने सार्वजनिक उद्घोष गर्दै आउनुभएको छ । तर, ठूला काण्ड र भागबन्डाको सेटिङमा सत्तापक्ष प्रतिपक्षबीच एकता रहेको विश्लेषकहरू बताउँछन्।

विश्लेषक तथा लेखक चिरञ्जीवी अर्यालले एमालेले आन्दोलन गर्छु भनेर दिएको धम्की सत्ता आर्जन मात्रै भएको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो– ‘ठूला काण्ड र भागबण्डाको सेटिङमा सत्तापक्षसँग निरन्तर मिलेको एमालेले देश र जनताका विषयमा कुरा गर्नु केवल सत्ता प्राप्तिकै बाटो मात्रै हो।’

संसदीय सभापति, राजनीतिक नियुक्ति, ठूला भ्रष्टाचारका काण्डलगायत प्रकरणहरूमा एमालेले आफूलाई निरपेक्ष रूपमा प्रस्तुत गरेपछि आम रूपमा उसको भूमिकाबारे नै आशंकाहरू उत्पन्न भएको उहाँले बताउनुभयो।

राष्ट्रिय सभा चुनावमा सिट साझेदारीकै तहसम्म सम्झौता गर्न अग्रसर भएका ओलीले सत्ता गठबन्धनले सिट नदिने भएपछि आन्दोलनको विकल्पमा कुरा गर्न थालेको नेताहरूले बताएका छन् ।

नेपाली कांग्रेस महामन्त्री गगन थापाले एमालेले राप्रपासँग मिलेर राजसंस्था ब्युँताउन खोजेको हो र ? भनेर प्रश्न गर्नुभयो । उहाँले भन्नुभएको छ– ‘के एमालेले राप्रपासँग मिलेर राजसंस्थाको मुद्दा ब्युँताउन खोजेको हो?’ गत राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा राप्रपासँग तालमेल गरेको एमालेले एक सिट हात पारेको छ।

उक्त स्थानमा सत्ता गठबन्धबाट माओवादी उम्मेदवार चम्पा कार्कीले हार व्यहोर्नुपरेको छ। सोही विषयलाई लिएर दरार उत्पन्न भएको गठबन्धनभित्र खेलेर सत्ताको बाटो तय गर्ने रणनीति एमालेको छ।

प्रतिक्रिया दिनुहोस्