खडेरीले उजाडिँदै बाजुराका उच्च पहाडी भूभाग



बाजुरा ।

बुढीनन्दा नगरपालिका–१० का भीमबहादुर रोकायालाई यस वर्ष हिउँदे बाली फल्ने आस मरिसकेको छ। असोज महिनायता पानी परेको छैन।

लगाएको जौ, गहुँबाली पहेँलो भइसकेको छ। माघमा पनि पानी नपरे उनीलगायत पाण्डुसैनबासी खाद्य संकट झेन्लुपर्ने चिन्तामा छन्।

जौ, गहुँ र स्याउखेतीको उर्वरभूमिका रूपमा चिनेन पाण्डुसैन क्षेत्रमा लगाएका स्याउका बोट पनि सुक्न थालेका छन्।

‘स्याउलाई चिस्यान चाहिन्छ जमिन पूरै सुख्खा छ, अब फागुनमा कोपिला आउने बेला भयो, पुस माघमा टन्न हिउँ नपरे उसै पनि हाम्रो लेकाली बाली सप्रिँदैनथ्यो। यो वर्ष त चार/चार महिनासम्म पानीको थोपा झरेको छैन। न अनाज फल्नेछ न स्याउ फल्नेछन् खाद्य संकट सामाना गर्नुपर्ने भयो’ –अगुवा कृषक रोकायाको दुःखेसो छ।

त्यस्तै, बुढीनन्दा नगरपालिका–८ की विपना कठायतको घरमै पानीको धारो छ उक्त धारामा पानी आउन छोडेको महिना दिन भयो । अलंगा र ठाडीका पानी मूल सुकेसँगै गाउँमा खानेपानी समस्या आएको कठायत बताउनुहुन्छ।

‘आँगनमा पानी नआउँदा बिस मिनेटको बाटो हिँडेर मुडे धाराबाट पानी बोकेर खानुपरेको छ। महिनौंसम्मको खडेरीका कारण खानेपानीको समस्या मात्र हैन पाखो खेतमा लगाएको बाली पनि सुुकेर पहेँलो भइसकेको छ । पर्याप्त मात्रामा साग तरकारी पाइने लमाल गाउँमा यसपालि तरकारीको बीउ पनि छैन’ –विपनाले भन्नुभयो ।

बुढीनन्दा नगरपालिकाका दुुई वडाका बासिन्दा सुख्खा खडेरीले प्रभावित प्रतिनिधिमूलक घटना मात्र हुन् । बाजुराका उच्च हिमाली भाग वाई, जुकोट, साप्पाटा, रुगिन, धिम, बिच्छ्याँ, मानाकोट, मार्तडी, जिल्ली, ढम्कने, रजाली, सल्लेना, पिनालेख, दहकोट, आँटिचौर, डोगडी, जयवागेश्वरी, छतारा, किम्नी र पन्धारालगायतका उच्च हिमाली भेगका कृषक प्रभावित भएका छन्।

चार महिनायता पानी नपर्दा बाजुराका उच्च हिमाली भूभाग उजाडिँदै गएका छन्। सुख्खा खडेरीले जौ, गहुँका पिपिराले जमिन छोडेको छैन। स्याउ, ओखर, नास्पाती, कागतीलगायतका बोट पनि सक्न थालेका छन् भने लामो खडेरीले बस्ती नै उजाड बन्दै गएको बडिमालिका–१ सल्लेनाका रामबहादुर कार्कीले बताउनुभयो।

कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैशीका अनुसार माघ मसान्तसम्म पनि बाजुरामा हिमपातसहित पानी नपरे निकट भविष्यमा खाद्य संकट आउने सम्भावना बढेको छ।

‘उच्च हिमाली भेगमा जति बढी हिमपात भयो त्यति नै बालीनाली सप्रिन्छ यो वर्ष चार महिनासम्म पानी नपर्दा ३० देखि ४० प्रतिशत हिउँदे बालीमा ह्रास आउने देखिन्छ’ –उहाँले भन्नुभयो।

माघ फागुनमा स्याउ, सुुन्ताला ओखरका लागि खाल्डा खन्ने र फागुन अन्तिमतिर बिरुवा रोप्नुपर्छ तर पानी नपर्दा खाल्डा खन्न सकिएको छैन कृषक आकासे पानी कुरे बसेका छन्।

बाजुरा उसै पनि खाद्यान्न समस्या हुने जिल्ला हो । राम्रो बाली फले पनि ३ हजार ५ सय मेट्रिकटन खाद्यान्न अपुुग हुन्छ। लामो खडेरीले हिउँदे बालीमा ह्रास आउँदा दोब्बरले खाद्य संकट बढ्ने निमित्त कार्यालय प्रमुख जैशीको अनुमान छ।

कृषि ज्ञान केन्द्र बाजुराको तथ्यांकमा बाजुरामा २ लाख ८ हजार १ सय ३५ हेक्टर जमिन खेती योग्य छ भने २६ हजार १ सय ६० हेक्टर जमिनमा खेती गरिएको छ।

३ हजार ५ सय हेक्टर जमिनमा नियमित सिँचाइ हुन्छ । १ हजार ७ सय ५० हेक्टरमा आंशिक सिँचाइ हुन्छ। २२ हजार ८ सय ५० हेक्टर पाखो जमिन छ।

पूरै पाखो जमिन सुख्खा खडेरीले प्रभावित छ। करिब ८१ प्रतिशत भूमिमा आकाशेपानीको भरमा खेती गर्नुपर्र्ने बाध्यता छ।

प्रतिक्रिया दिनुहोस्