पाँचखालमा भूकम्प, सशस्त्रले गर्‍यो पुरिएकाहरूको उद्धार



काभ्रे ।

मध्यान्ह १२ बज्नै लागेको थियो । ११।२८ मा पाँचखाल ४ को खेल मैदानमा प्रतिस्पर्धाका लागि जम्मा भएका विद्यार्थीहरु समेत अचम्ममा परे । भूकम्प गयो भूकम्प । सँगै रहेका सहभागी, शिक्षक तथा स्थानीयहरु पनि चिच्याएको आवाजपछि यताउता गर्दै थिए । दुई वटा झुप्रा र एउटा कच्ची घरबाट बचाउ बचाउको आवाज आइरहेको थियो । केही मान्छेहरु रोइरहेका थिए । केही उद्धारका लागि अपिल गरिरहेका थिए । हेर्दा हेर्दै दृश्यमा केही घर भत्किए । उनीहरुले घरमा आफन्त पुरिएको बताउँदै थिए ।

सशस्त्र प्रहरी बल १५ नम्बर गण हेडक्वार्टर पाँचखालका प्रमुख एसपी अच्युतकुमार मजगैयालाई भूकम्प गएको र केही घरहरुमा क्षति पुगेर केही स्थानीयहरु हताहत भएको खबर आउँछ । तत्कालै एसपी मजगैयाले सुरक्षा सहित उद्धार टोली खटिन निर्देशन दिनु अघि जिल्ला विपद व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई जानकारी गराउँछन् ।

प्रजिअ शर्माले सुरक्षा निकायका सबै टोलीलाई खबर गरी तत्कालै सशस्त्र प्रहरी परिचालनका लागि निर्देशन दिन्छिन् । सशस्त्र प्रहरी बल १५ नम्बर गण हेडक्वार्टर पाँचखालको उद्धार टोलीले स्थानीय श्रोत र साधन, प्रविधिको प्रयोग गरी स्ट्रेचरसहित एम्बुलेन्स लिएर घटनास्थल पुग्छ । तत्कालै घाईतेहरुलाई सुरक्षाकर्मीसँगै गएको सशस्त्र प्रहरीकै स्वास्थ्यकर्मीको टोलीले उपचारका लागि स्ट्रेचर र एम्बुलेन्स मार्फत धुलिखेल अस्पताल पठाउँछ । बाँकी रहेकाहरुको खोज र उद्धारका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै खोजतलास शुरु गर्छ । पुनः भूकम्पको पराकम्पका कारण उत्पन्न जोखिममा उद्धारका लागि खटिएको टोलीले आफ्नो रक्षाका लागि तैनाथ हुन्छ । केही समय पछि घरको ढोका काटेर पुरिएकाहरूको उद्धार हुन्छ । पुरिएका मध्ये एकको जीवितै र एकको मृत अवस्थामा उद्धार हुन्छ । उनीहरु दुबैलाई थप उपचार तथा पोस्टमार्टमका लागि जिल्ला रिफर गर्छ ।

२६ औं भूकम्प सुरक्षा दिवसका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखालमा आयोजना गरिएको डेमोमा सशस्त्र प्रहरीले भूकम्प आउनु अघिको तयारी, भूकम्प पछिको खोज तथा उद्धारका बारेमा डेमो प्रर्दशन गरेको थियो । नागरिकहरुले भूकम्पबाट बच्ने खालका संरचना निर्माण गर्न तथा भूकम्प गए पछिको उद्धारमा ध्यान दिनु पर्ने विषय र स्वयं सुरक्षाकर्मीले पनि विपदको अवस्थामा खटिँदा ध्यान दिनु पर्ने विषयमा सचेत गराइएको थियो । ‘स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ पाँचखाल फुटबल मैदानमा भूकम्प सुरक्षा सम्बन्धी डेमो प्रदर्शन गरिएको हो । भूकम्प सुरक्षा दिवस जिल्ला मूल आयोजक समिति काभ्रेको आयोजनामा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल १५ नम्बर गण पाँचखालले डेमो प्रदर्शन गरेको हो । । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, पाँचखाल नगरपालिका उप–प्रमुख सूर्यमाया दनुवार, प्रहरी प्रमुख एसपी भागेन्द्रपुरुष ढकाल, राष्ट्रिय अनुसन्धानका राजन प्रजापति, नेपाल रेडक्रस सोसाइटी काभ्रेका सभापति रघुनाथ हुमागाँई, पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, विभिन्न सहयोगी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति काभ्रेका अध्यक्ष दीपक गौतमले भूकम्प जुनसुकै बेलापनि आउन सक्ने भएकाले भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिन आग्रह गरेका छन् ।

यस्तै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भूकम्पको समयमा सुरक्षित रहन अपनाउनुपर्ने उपायबारे सबै सचेत हुनुपर्ने बताइन् । उपप्रमुख सूर्यमाया दनुवारले स्थानीय सरकारले संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक संरचना निर्माणका लागि प्रयत्न गरिरहेको बताईन् । नेपाल रेडक्रस सोसाइटी काभ्रेका सभापति रघुनाथ हुमागाईँले रेडक्रसले विपत्तिमा सहयोग गर्दै आइरहेको बताए । उनले रेडक्रसले विपद् पूर्वको तयारीमा समेत सुसूचित गराउँदै आएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले २०७२ को भूकम्पलाई अवसरको रुपमा लिँदै भूकम्प प्रतिरोधी संरचना निर्माणमा कडाइ गर्नुपर्ने बताए । भवन भूकम्प प्रतिरोधी नबन्दा धेरै जनधनको क्षति व्यहोर्नुपरेको उनको भनाई छ ।

२०७२ को भूकम्पमा जिल्लामा भएको क्षति

विनाशकारी भूकम्पका कारण काभ्रेपलाञ्चोक जिल्लामा ३ सय ७२ जनाको मृत्यु भएको थियो भने १४ हजार ८ सय ४३ जना घाइते भएका थिए । २ सय ३७ जनाको जीवितै उद्धार गरिएको थियो भने ४ सय ९६ वटा प्राणी उद्धार गरिएको थियो ।

भूकम्पमा घाइते भएकाहरु मध्ये ४ हजार ७६ जना बिरामीको उद्धार गरिएको थियो । जिल्लामा रहेका ८३ हजार २ सय २४ पूर्ण रुपमा क्षति भएका थिए ।सरकारी भवनहरु, सामुदायिक भवन, सहकारी भवन, गुम्बा, रेडक्रस भवन, लघु जलविद्यूत्त, मठ मन्दिर, दुध चिस्यान केन्द्र, सामुदायिक विद्यालय, स्वास्थ्य भवन, प्रहरी चौकी, कृषि उपजहरु १ अरव ३५ करोड ८२ लाख ५० हजार बराबरको क्षति भएको थियो । खाद्यान्न, तरकारी तथा नगदे बाली, हाट बजार, ब्यवसायीक कृषि फर्म लगायतको क्षति भयो ।खानेपानी, शौचालयहरु पुस सेवा केन्द्र र पशुधनमा समेत करोडौँको क्षति भयो ।

काभ्रेमा भूकम्पले क्षति भएको सर्भे गरिएका ९८ हजार १९ घर धुरी मध्ये लाभग्राहीको सूचीमा परेका ८४ हजार ४ सय ८६ घर धुरी थिए । जसमध्ये ७६ हजार ६ सय ८४ घर धुरीले पहिलो किस्ताका लागि सम्झौता गरेका थिए । सरकार र एनजिओ मार्फत उक्त सम्झौता भएको थियो। जिल्लामा एनजिओले पुनर्निर्माणका लागि आवासमा २ हजार ८ सय ९७ घर धुरीलाई सम्झौता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्