भ्रष्टाचार नियन्त्रणमा अन्तरदेशीय प्रयास अत्यावश्यक

राष्ट्रसंघीय फोरममा अख्तियार प्रमुखको सारगर्भित सम्बोधन 



काठमाडौँ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणका लागि अन्तरदेशीय सामूहिक प्रयास अत्यावश्यक  रहेको बताएका छन् ।

अमेरिकाको एटलान्टामा हालै सम्पन्न भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको १० औं सम्मेलनलाई सम्बोधन गर्दै अख्तियार प्रमुख राईले भ्रष्टाचार नियन्त्रणका लागि पक्ष राष्ट्रहरूको सामूहिक प्रयास र सहकार्य जरुरी रहेको बताए।

सम्मेलनका क्रममा दशवटा विभिन्न क्षेत्रगत विषयमा पक्ष राष्ट्रहरूबीच भएको छलफलमा नेपालले सक्रिय सहभागिता जनाएको थियो । सो फोरममा  नेपालले भ्रष्टाचार नियन्त्रणका सवाल र सामुहिक सहकार्यका लागि  सशक्त आवाज समेत उठाएको छ ।

प्रमुख आयुक्त राईले भ्रष्टाचारको प्रवृत्ति र प्रकृति अन्तरदेशीय भएकाले यसको नियन्त्रणमा पक्ष राष्ट्रहरूको सामूहिक प्रयास र सहकार्य आवश्यक रहनुपर्नेमा जोड दिए ।

महासन्धिले व्यवस्थित गरेका कानुनी एवं संस्थागत उपायलाई नेपालले अवलम्बन गरेकाले भ्रष्टाचार नियन्त्रणमा सफलता हासिल गरेको अख्तियार प्रमुख राईको भनाइ थियो ।

भ्रष्टाचार नियन्त्रणमा नेपालले ‘एक्स–एन्टे तथा एक्स–पोस्ट’ उपायहरू अवलम्बन गरेकाले सफलता हासिल गर्दै गएको र महासन्धिले व्यवस्थित गरेका कानुनी एवं संस्थागत उपायहरूलाई आफ्ना संयन्त्रमा तादम्य बनाउँदै गएकाले कार्यान्वयनमा सहज भएको छ,’ राईले भने ।

सम्मेलनका क्रममा मुलुकको तर्फबाट सुशासन कायम गर्ने विषयमा  प्रतिवद्धता जनाउदै  नेपाल भ्रष्टाचार नियन्त्रणका लागि दृढसंकल्पित रहेको र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको पनि राईले  उल्लेख गरे ।

‘भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिका प्रावधानहरू कार्यान्वयन गर्न नेपालले महत्त्वपूर्ण विधायिकी र संस्थागत कदमहरू चालेको विषय बताउन पाउँदा धेरै खुसी लागेको छ,’ सम्मेलनमा राईले भने।

‘भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको  प्रभावकारी कार्यान्वयनका लागि कानून कार्यान्वयन र न्यायिक सहयोगलाई बलियो बनाउन, सार्वजनिक र निजी क्षेत्रहरूमा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्न र राज्यहरूबीच आपसी सहयोग संयन्त्र स्थापना गर्न नेपाल प्रयासरत छ,’ प्रमुख आयुक्त राईले भने ।
भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा हालैका वर्षहरूमा सुधार भएता पनि नेपालले भ्रष्टाचारविरुद्धको लडाइँमा धेरै संरचनात्मक चुनौतीहरू सामना गरिरहेको उनले स्पष्ट पारे ।

‘भ्रष्टाचारको जरा सामाजिक, राजनीतिक र कानुनी संरचनामा गहिरोसँग गाडिएकाले यसको दिगो सफलताका लागि यी अन्तर्निहित कारकहरूलाई सम्बोधन गर्नु महत्त्वपूर्ण छ,’ राईले भने ‘यी चुनौतीका बाबजुद अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक दायित्व र कार्यादेशलाई जिम्मेवार र पारदर्शी रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध छ ।’

सम्मेलनमा अख्तियारका  सचिव रामेश्वर दंगाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सचिव लीलादेवी गड्तौला, संयुक्त राष्ट्र संघका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायतले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्