काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोह,१ हजार ८ सय ३८ विद्यार्थी दीक्षित 

शिक्षा र रोजगारीको लागि  बिदेसिनु पर्दैन- प्रधानमन्त्री 



काठमाडौँ।

काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहको पहिलो चरणमा आज बुधवार १ हजार ८ सय ३८ विद्यार्थी दीक्षित  भएका छन् ।

विद्यार्थीहरुलाई दीक्षित गर्दै कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्च शिक्षाको मुख्य गन्तब्य नेपालमा सम्भावना र अवसरलाई चिन्नु पर्ने बताए । उनले कोप-२८ सम्मेलनमा नेपालका मुद्दालाई सशक्त रुपमा उठाइएको पनि बताएका छन्  । विश्वविद्यालयले जलवायु परिवर्तन र वातावरण विषय अध्यापन गराएर महत्त्वपूर्ण योगदान दिएको उनको भनाइ छ । विश्वविद्यालयको विज्ञता, अनुभव र सुझावको उनले खुलेर प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले शिक्षा र रोजगारीको लागि बिदेसिनु नपर्ने पनि बताए । स्वदेशमै गुणस्तरीय  शिक्षा र रोजगारको वातावरण बन्दै गएको भन्दै उनले स्वदेश फर्कन आग्रह गरेका छन् ।

कुलपति समेत रहेका प्रधानमन्त्री दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय परिसर धुलिखेलमा भएको दीक्षान्तमा स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साईन्स विधाका पीएचडी, डिएम र एमसिएच तहका १८ जना, एमफिल तहका ३८ जना, स्नातकोत्तर तहका ३ सय १४ जना, पिजिडी तहका ५२ जना र स्नातक तहका १ हजार ४ सय १६ जना सहित  १ हजार ८ सय ३८ जना विद्यार्थी दीक्षित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि डा. गौरीशंकर लाल दासले  अबको दिनमा  आफ्नोपन जगेर्ना गर्नुपर्ने बताए।  उनले आफ्नोपन सिध्याउनु पनि भ्रष्टाचार हो भन्दै   यस तथ्यप्रति सचेत रहनुहुन अनुरोध  गरे। उनले भने ‘हामी मतलबी बन्दै जान्छौं । परिवारहरू टुक्रिँदै जान्छन् । हामीले अबको दिनमा जगेर्ना गर्नुपर्ने नै आफ्नोपन हो । आफ्नोपन सिध्याउनु पनि भ्रष्टाचार हो । विगतमा चिकित्सा क्षेत्रको सीमित विकास हुँदा, विकसित सेवामा पनि पहुँच, सीमित हुँदा वा गरिबी र पछौटेपनका कारण साधारण सरुवा रोगहरू पनि भयावह हुन्थे ।

थाहै छ, बिफर, हैजा, औलो वा प्लेगजस्ता महामारीले समेत लाखौँ मानिसको अकालमा ज्यान जान्थ्यो । त्यस्ता ज्यान जाने सरुवा रोगहरूको लगभग उन्मूलन भइसक्दा पनि दम, रक्तचाप, मधुमेह,क्यान्सरजस्ता जीर्ण र नसर्ने रोगहरूका कारण मानिसहरूको जीवन कष्टकर बन्दै गएको छ । रोगको कारण, रोकथाम र निदानका पद्धतिहरूप्रति पूर्ण रूपमा सचेत रहँदा रहँदै पनि अनुत्पादक, महँगो र भारपूर्ण जीवन जिउन मानिसहरू बाध्य हुँदै गएका छन् । यस्ता रोगहरूलाई  जीवनशैलीसँग सम्बन्धित रोगहरू भन्ने गछौँ ।

यिनीहरूबाट मुक्त हुन वा जीवन व्यवस्थित गर्न केही कुराहरू छोड्ने र केही अँगाल्ने नै हो । जस्तोकि धूमपान, मद्यपान, कुलत, कुसंस्कार, थेगिनसक्ने महत्त्वाकाङ्क्षा, ईर्ष्या, द्वेष र अनावश्यक द्वन्द्व छोड्ने, अनि योग, व्यायाम, सादगी, सदाचार,आध्यात्मिक चेत, सन्तुलित आहार आदि अँगाल्ने । दैनिकीलाई सरल र सरस बनाउने सबैभन्दा महत्त्वपूर्ण तत्त्व त कुनै सिर्जनात्मक रुचि नै हो । लेख्ने, पढ्ने,चित्र कोर्ने, सङ्गीत वा प्रवचन सुन्ने, बातचित गर्नेजस्ता सुन्दा अत्यन्त सामान्य लाग्ने सोख, अभिरुचि वा लतले नै भोग्न कठिन लाग्ने जीवनलाई सहज बनाउँछन् ।’

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा भोला थापाले जलवायु परिवर्तनको प्रभावबाट विश्वको सबैभन्दा जोखिममा परेको देशका रूपमा नेपालले जलवायु परिवर्तनसम्बन्धी वार्तामा उल्लेखनीय भूमिका खेलेको बताए। उनले   जलवायु परिवर्तनको असरबाट प्रभावित र पीडितलाई क्षतिपूर्ति र जलवायु न्यायको सुनिश्चितताका लागि जोडदार मागका साथै  काठमाडौँ विश्वविद्यालयको प्राज्ञिक जमात र वैज्ञानिकहरूले पनि योगदान गरेको बताए।
उनले काठमाडौँ विश्वविद्यालयमा ग्रीन हाइड्रोजनको अनुसन्धान र विकासमा उल्लेख्य लगानी गरेको  जानकारी गराए।  उनले भने,’जीवाश्म इन्धनबाट हरित हाइड्रोजनतर्फको यात्रा विश्व तापमानलाई पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियस कायम राख्ने उद्देश्यतर्फको यात्रा हो ।’

उनन्तिसौँ दीक्षान्त समारोहको पहिलो चरणको कार्यक्रमसम्ममा  काठमाडौँ विश्वविद्यालयबाट ४३ हजार १ सय २३ जना उत्तीर्ण भएका छन् । कार्यक्रममा शताब्दी पुरुष वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दास प्रमुख अतिथि थिए । सहकुलपति रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारी सहभागी भएका थिए ।

प्रारम्भदेखि नै काठमाडौँ विश्वविद्यालयले वातावरणीय विज्ञान र इन्जिनियरिङ क्षेत्रमा विभिन्न शैक्षिक कार्यक्रमहरूमार्फत जलवायु परिवर्तनलाई सम्बोधन गरी दिगो विकासलाई प्रवर्धन गर्न सक्षम तथा प्रतिबद्ध विज्ञहरू तयार गर्दै आएको छ । काठमाडौँ विश्वविद्यालयमा हाल ग्लेसियोलोजी, प्राकृतिक स्रोत, वन्यजन्तु व्यवस्थापन, ऊर्जा प्रणालीको योजना र सञ्चालन जस्ता विषयहरूमा स्नातकदेखि विद्यावारिधि स्तरसम्म अध्यापन हुँदै आएको छ  ।  सामाजिक आवश्यकता र राष्ट्रिय प्राथमिकतालाई मान्यता दिँदै विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि मुलुकको आर्थिक प्रगतिका लागि मार्ग प्रशस्त गर्ने प्रगतिशील रणनीति अनुरूप माइनिङ इन्जिनियरिङमा स्नातक तहको अध्यापन प्रारम्भ गरेको छ । यसका साथै  ग्रीन माइनिङका अभ्यासहरू औद्योगिक क्षेत्रमा प्रयोग गर्न सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्