लेखनाथ महोत्सव  पुसको पहिलो साता

९ करोड बरावरको कारोबार गर्ने लक्ष्य



कास्की। 

हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साता देखि १९ औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । पहिलो चरणमा तयारीका बारेमा जानकारी दिने उद्देश्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा संघले पुसको ५ गते देखि १६ गते सम्म पोखरा २७ को तालचोकमा १९ औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराइएको हो ।

कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ सालदेखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए । उनले महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादित वस्तुहरुको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरूको उत्पादनहरुको प्रदर्शनी एवं बिक्री गरिने बताए ।

पत्रकार सम्मेलनमा महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी‘राजु’ले कोभिड १९ र युक्रेन युद्धका कारण विश्वभर आएको आर्थिक मन्दिबाट थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवद्र्धन गर्न, देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानहरुको बजार प्रवर्द्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवर्द्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्न,आन्तरिक एवं बाह्य पर्यटकहरु आकर्षण गरी आन्तरिक पर्यटनलाई सहयोग पुर्‍याउने महोत्सवको मुख्य उद्देश्य रहेको बताएका थिए ।

उनले महोत्सवका विशेष कार्यक्रमहरुमा कवि लेखनाथ पौडेलको सम्झनामा साहित्यिक कार्यक्रम, महिला विशेष तथा रीतिरिवाज जर्गेना अन्तर्गत रत्यौली कार्यक्रम, विद्यालय स्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिबासी जनजाति तथा आमा/महिला समूहहरूको आफ्नो झाँकीर्याली तथा भेषभुषा प्रदर्शनी, ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति,कृषि तथा पशुपक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, युवाहरुको इच्छालाई लक्षित गर्दै लाइभ म्युजिक कन्सर्टलाई यस वर्ष पनि निरन्तरता दिईएकोे जानकारी दिए ।

महोत्सवको बचतबाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकास तर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीहरुद्धारा उत्पादित वस्तुहरुको प्रवर्द्धनका लागि उत्कृष्ट स्तरको कोसेली घर निर्माण, सङ्घद्वारा बेगनासतालमा निर्माण  गरिएको लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिमिल्सीना पँगेनीले लेखनाथ क्षेत्रलाई विकासको दृष्टिकोणले पछि पारिएको बताउँदै यस क्षेत्रको विकास र प्रवर्द्धनको लागी सम्बन्धित निकाय र संघ संस्थाले ध्यान दिन नसकेको बताएकी थिइन।

यस्तै पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले महोत्सवको माध्यमबाट स्थानीय उत्पादनको प्रर्वद्धन र ब्राण्डिङ गरिनुपर्ने बताउँदै अहिलेको आर्थिक संकटको अवस्थामा महोत्सवको माध्यमबाट व्यवसायीहरुलाई उत्प्रेरित गर्ने खालका कार्यक्रमहरु गर्न सके राम्रो हुने सुझाव व्यक्त गरिन । उनले लेखनाथ महोत्सवमा महिलाहरुको सहभागिता र सक्रियता उदाहरणीय रहेको बताउँदै प्रोत्साहनका कार्यक्रमहरु पनि गर्नुपर्ने बताएकी थिइन ।

महोत्सवका सह-संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप-समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले चाड पर्वको रुपमा लिँदै आएको र उत्पादक र उपभोक्ताहरुलाई एकै ठाउँमा भेला गरी आर्थिक चलायमान गराउन महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरेका थिए । संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिइन भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको लेखनाथ महोत्सव २०८० का कार्यक्रमहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि ९ सदस्यीय निर्देशक समिति, ४० सदस्यीय महोत्सव सल्लाहकार समिति र ४२ सदस्यीय कार्यसम्पादन समिति एवं उपसमिति संयोजक गठन गरिएको छ ।

 करिब ३३४ स्टल रहने यस महोत्सवमा २ लाख पचास हजारभन्दा बढी  दर्शकले मेला अवलोकन गर्ने र करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९० लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८० लाख खर्च भई  १० लाख बचत हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्