लुम्बिनीमा ‘शान्ति घण्टी’ को उद्घाटन 

बुद्धको सन्देश विश्वभर फैलाउन शान्ति घण्टीले महत्त्वपूर्ण भूमिका खेल्छ : मन्त्री किराँती



बुटवल। 

सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बुद्धजन्मस्थल लुम्बिनीमा शान्तिका लागि प्राथना गर्न कोरियाली धर्मगुरुद्धारा निर्माण गरिएको ‘शान्ति घण्टी’ को उद्घाटन गरे । कोरिया नेपाल मित्रता पिस पार्कमा कोरियाली बौद्ध धर्मगुरु सन्मुक हेजाको नेतृत्वमा तयार पारिएको डेढ टनको घण्टी विश्व शान्तिको कामना गर्दै घण्टी बजाएर मंगलवार उद्घाटन गरिएको हो  ।

१०८ बुद्ध समाज तीर्थयात्रा प्रार्थना समूका सदस्यहरु, नेपाल लुम्बिनी विकास समितिको आयोजनामा शान्तिका लागि प्रार्थना गर्न कोरियाली घण्टी बजाउँदै घण्टी उद्घाटन समारोह गरिएको हो । उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री किराँतीले बुद्धभूमिबाट घण्टी बजाएर विश्व शान्तिको सन्देश दिएको बताए । भिक्षुहरुले बुद्धजन्मस्थल लुम्बिनीमा चढाएको घण्टीले कोरिया र नेपालीहरूबिचको निस्वार्थ सम्बन्धलाई थप प्रगाढ बनाएको समेत मन्त्री किराँतीले बताए । उनले बुद्धको सन्देश विश्वभर फैलाउन शान्ति घण्टीले ठूलो सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘नेपाल कोरियाविच इतिहासजस्तै पूरानो, समुन्द्र जस्तो शान्त र हिमालजस्तै अग्लो सम्बन्ध छ’ लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किराँतीले भने –‘ कोरियाले नेपालीहरुलाई रोजगारी दिएर र नेपालीहरुले पसिना दिएर सहयोग गरेका छौं, अब कोरियाली जनताले बुद्धभूमि लुम्बिनीको प्रचार गरेर सहयोग गर्नुपर्छ ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) का तर्फबाट सदस्य सचिव सानुराजा शाक्यले सन्देश वाचन गर्दै कोरियन शान्ति घण्टीको अनावरण र उद्घाटनको अवस्थासम्म ल्याउने भिक्षु गुरु सन्मुक हेजा र कोरियाका बौद्ध धर्मावलम्बीहरुलाई धन्यवाद दिए ।

कार्यक्रममा शान्ति घण्टी स्थापना गर्ने कोरियाली बौद्ध धर्म गुरु सन्मुक हेजाले बुद्धजन्मस्थल लुम्बिनीमा स्थापित शान्तिको घण्टीले विश्वमा शान्ति स्थापनाका लागि सन्देश दिने विश्वास व्यक्त गरे ।

घण्टी उद्घाटन समरोहमा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपती प्रो डा. सुर्वलाल बज्रचार्य, कोरियाली बौद्ध धर्मका जोगे अर्डरका सचिव थेजुङसा नुङदकले बोल्दै बुद्धजन्मस्थलमा शान्ति घण्टी स्थापनाले धार्मिक वातावरण बनाउने बताए । उद्घाटन समरोहमा नेपालका लागि कोरियाली काउन्सीलर जीङ ही, वरिष्ठ पुरातत्वविद् वसन्त बिडारी, लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, वरिष्ठ निर्देशक ज्ञानिन राई लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्