वामपन्थी एकताको एजेन्डामा कित्ताकाट



–वाम एकताको उच्चारण नगर्न ओलीको निर्देशन
–माओवादीसहित साना कम्युनिस्ट–वामपन्थी एकताको अभ्यासमा निरन्तर सक्रिय

 काठमाडौं  । 

वाम एकताको रटान दिएर नथाक्ने नेपालका वाम तथा कम्युनिस्ट पार्टीहरूबीच एकताको एजेन्डामा कित्ताकाट भएको छ । बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा नेताहरूलाई एकताको कुरा नगर्न निर्देशन दिएसँगै उक्त एजेन्डा नै दुई पक्षबीच कित्ताकाटको अवस्थामा पुगेको हो ।

पार्टी कार्यालय च्यासलमा भएको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले वामपन्थी एकताको कुरा नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘वामपन्थी शक्ति नमिली हुँदैन भन्ने लोकप्रिय कुरा नगर्न म साथीहरूलाई आग्रह गर्दछु ।’ ‘व्यावहारिक राजनीति नहुने, सिद्धान्त जप्ने, उपलब्धि केही नहुने, आफू साँघुरिँदै जाने, आफ्ना विचारमा अरूलाई सहमत गराउन नसक्ने, अरूका विचारतिर लहसिँदै जाने, अरूका स्वार्थका निम्ति काम गर्ने खालका कुराहरू न वामपन्थी हुन् न केही हुन् ?’ आफूले राजनीति शुरू गर्दाबाटै नेपालको वामपन्थी राजनीति विभाजित भएको समेत उहाँले बताउनुभयो ।

यद्यपि, ओलीले काँचो राजनीति क¥याप्पक¥याप्प पारेर चपाएर बसेर केही नहुने बताउनुभएको छ । एउटा एकता गर्दा अरू दुईवटा फुट्ने उहाँको तर्क छ । वामपन्थी एकता सुन्दा राम्रो सुनिने भन्दै उहाँले भन्नुभयो– ‘भन्दा राम्रो सुनिन्छ । तर, वामपन्थी एकताबिना सम्भव छैन । के हो वामपन्थी एकता भनेको ? हामी एकता गर्दै त यहाँसम्म आइपुगेका छौं । ४६–४७ वटा एकता भइसके ।’ ओलीले यसो भनिरहँदा बाँकी रहेका नेपालका कम्युनिस्ट तथा वाम पार्टीहरू एक हुनुपर्ने मुद्दा बोकेर हिँडिरहेका छन् । वाम एकताबिना समाजवाद ल्याउन असम्भव हुने कम्युनिस्ट धारका राजनीतिक दलहरूले एजेन्डा छ ।

सोही एजेन्डाअनुसार पहिलो चरणमा समाजवादी मोर्चा निर्माण गरेर त्यसैलाई विकसित गर्दै अघि बढ्ने शीर्ष नेताहरूको चाहना छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र बाबुराम भट्टराई नेतृत्वको नेकपा (समाजवादी) बीच पार्टी एकताको कुरा टुंगिसकेको छ । बाँकी वामपन्थी त्रान्तिकारीहरूबीच एकताको प्रयास जारी रहेको नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले बताउनुभयो । पार्टी एकता वार्ता समितिका संयोजकसमेत रहेका नेता महराले एमालेभित्र पनि ओलीबाहेक धेरै नेताहरूको चाहना कम्युनिस्ट एकता नै भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी कम्युनिस्ट–वाम एकता हुनुपर्छ भनेर लागेका छौं । तर, एमालेले त्यो चाहँदैन । यद्यपि, एमालेभित्र पनि कतिपय नेता साथीहरू वाम एकता गर्न सके हुन्थ्यो भन्नेमा छन् । अध्यक्ष ओलीको भूमिका पहिलादेखि नै एकताको पक्षमा थिएन । आज आएर उहाँले पुष्टि गर्नुभयो ।’

केही वर्षअघि एमाले र माओवादी पार्टीबीचको एकतापछि ठूलो कम्युनिस्ट पार्टी बनाएर करिब दुईतिहाइ मतसहित सरकार र पार्टीको नेतृत्व गरेका ओलीबाटै यस्तो अभिव्यक्ति आएपछि कम्युनिस्ट पार्टीहरूमाझ एक खालको तरङ्ग उत्पन्न भएको छ । ओलीको अभिव्यक्तिपछि नेकपा एकीकृत समाजवादीका उपमहाहासचिव तथा पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले एमाले कम्युनिस्ट पार्टीको विशेषण जोडिएर मात्रै आएकाले वाम एकताको विरुद्धमा लागेको टिप्पणी गर्नुभयो ।

हाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कम्युनिस्ट पार्टीको विशेषण जोडिएर आएको एमालेले भन्दैमा वाम एकताको कुरा रोकिँदैन । यो एमालेको विचार हो, वास्तविक कम्युनिस्टहरूको होइन । ओलीमा वामपन्थी एकताप्रति यति धेरै उदासीन, निराशा र नेतृत्वको निरीहताको अवस्था देखियो । यति धेरै निराश नहुन ओलीलाई मेरो सुझाव छ ।’

खतिवडाले आफूहरू निरन्तर एकताको प्रयासमा लागिरहनेसमेत बताउनुभयो । अहिले वामपन्थी दलहरूबीच सहकार्य र समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर लागेको खतिवडाको भनाइ छ । ‘हामी एकताको प्रयासमा निरन्तर छौं’, उहाँले भन्नुभयो– ‘अहिले नै सम्भव होला या नहोला तर ओलीले भनेकै आधारलाई मानेर एकता प्रयास रोकिँदैन । उहाँले नचाहे पनि पछिल्लो पुस्ताका कुनै न कुनैले वामपन्थी एकता गर्ने कुराको सन्देश दिन चाहन्छु ।’ अध्यक्ष ओली आफंै कम्युनिस्ट नभएको खतिवडाले टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्