नेपाल सवंतले राष्ट्रिय एकतामा पारेको प्रभाव



 

खण्ड खण्डमा विभाजित तत्कालीन नेपाललाई संवतीय रूपमा भए पनि एकीकृत गरिरहने भावनालाई आत्मसात् गरेको देख्न सकिन्छ । मिथकलाई आधार लिएको खण्डमा पनि दासलाई दासताबाट मुक्त गर्नुको साथै भूराजनीतिक रूपमा बाह्य मुलुकमा समेत संवतीय प्रभुत्व देखाई सार्वभौमसत्ता कायम गरेको अवसरको रूपमा लिन सकिन्छ ।

नेपाल संवत्को प्रारम्भ किन गरियो भन्ने ऐतिहासिक दस्तावेजको स्पष्ट पहिचान भइसकेको छैन । यद्यपि, नेपालमा चारवटा संवत्ले जरा गाडेको देखिन्छ । पहिलो शक संवत् । दोस्रो मानदेव संवत् । तेस्रोमा नेपाल संवत् र चौथोमा हाल प्रचलनमा रहेको विक्रम संवत्।

यी चारवटा संवत्मध्ये अघिल्ला दुई संवत्ले नेपालको प्रसिद्धि कायम राख्यो वा राखेन, सार्वभौमसत्ता कायम ग¥यो वा गरेन यसबारे हालसम्म कुनै अध्ययन अनुसन्धान भएको छैन । लिच्छविकालमा प्रचलित संवतहरूले तत्कालिन नेपालको इतिहास बुझाउन धेरै सहयोग पु¥याएको छ । तर, सार्वभौमसत्ता कायम गरेको अवसरमा वा कुनै किसिमको स्वतन्त्रता प्राप्तिको नाममा यी संवत् प्रारम्भ भएको कुनै आधार देखिन्न।

नेपालमा प्रचलित अर्को संवत् विक्रम संवत्को उदयपनि अस्पष्ट नै छ । कुनै शासकीय वा राजनीतिक परिवर्तनसँग सामिप्यता नरहेपनि राणा शासक चन्द्र शमशेरले एकपक्षीय रूपमा प्रयोगमा ल्याएपछि विक्रम संवत्ले हालसम्म निरन्तरता पाएको हो ।

यसरी यी दुई संवत्हरूको राजनीतिक, सामाजिक, आर्थिक वा अन्य परिवर्तनका कारण स्थापित भएको देखिन्न । उद्भवको सन्दर्भमा पनि प्रत्यक्ष रूपमा भारतमा भएको ऐतिहासिक दस्तावेजहरूले पुष्टि गरेको छ । माथि उल्लेखित तेस्रो पंक्तिमा रहेको नेपाल संवतले सिंगो नेपालको छविलाई राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रियकरण गर्न सकेको छ । साथै, यसले नेपालको सार्वभौमसत्तालाई कायम गर्न सकेको छ । नेपालमा नेपालसंवत्लाई विभिन्न नामले चिनिन्छ । नेपाल देशीय, संवत्, ओम संवत्, शंखधरकृत संवत् आदि । अर्कोतर्फ यसका आधार भनेको संवत् ३०४ को गुणोत्तर नामक ग्रन्थमा उल्लेख गरिएको संवत्को नाम नेपाल देशीय भन्ने शब्द हुन् ।

अर्को नेपालमा मात्र प्रचलित नरही चौधौं शताब्दीको चीनका बादशाह तायिमिङले नेपालका शासक जयशक्ति सिंह रामवद्र्धनलाई नेपाल संवत् उल्लेख गरी फरमाना पत्र पठाएका थिए । यद्यपि, फरमानापत्रमा नेपाल संवत्लाई महाचीनाब्द भनी उल्लेख गरेको छ । नेपाल संवत्लाई महाचीनाब्द भनिएतापनि चीनले समेत नेपाल संवतको अस्तित्व वा प्रभुत्व स्वीकार गरेको आंकलन गर्न सकिन्छ । यी दुईबाहेक भारत विहारका राजा प्राण नारायणले आफ्नो मुद्रामा समेत नेपाल संवत् उल्लेख गरेका आधारमा नेपालको नामसँग जोडिएको नेपाल संवत्ले राजनीतिक भूगोलभन्दा पर गई विदेशी भूमिमा समेत नेपालको स्वतन्त्र अस्तित्व देखाउन सकेको देखिन्छ ।

सन्दर्भ नेपाल संवत्, नेपाल संवतको वैधानिक रूपमा प्रारम्भ भएको इतिहासले ११४४ वर्ष देखाएको छ । कसले किन र कसरी स्थापना ग¥यो भन्ने विवादका विषय हुनसक्छ । अध्ययनका विषय हुनसक्छ । तर, नेपालमा नेपाल संवत्को स्थापनामा कुनै विवाद भने देखिन्न ।

नेपाल संवत् राजनीतिक महत्वाकांक्षा भन्दा पनि प्रजालाई नागरिकसरह बाँच्न दिनुपर्ने मान्यताबाट उठेको देखिन्छ । नेपालसंवत्को स्थापनामा जोडिएको दुई नाम आनन्ददेव वा शंखधर साख्वा यी दुवैले संवत् स्थापना गर्नमा राजनीतिक अभ्यस्त पूरा गर्न गरेका कामसँग यो संवत्लाई तासको तुरुपको रूपमा प्रयोग गरेको पाइन्न । बरु नेपाल संवतसँग जोडिएर आउने व्यक्तित्व शंखधर साँख्वाले प्रजालाई नागरिकसरह जिउन दिनुपर्छ भनी विष्णुमतिको खोलाबाट बालुवासँगै संकलित सुनले ऋणले आक्रान्तहरूलाई ऋणबाट मुक्त गरिदिएपछि उक्त दिनको स्मरणमा नयाँ सम्वत प्रारम्भ गरे भन्ने मिथक छ ।

साख्वाले सुन संकलन गरेको हो वा होइन भन्दा पनि लिच्छविकालमा दासहरूको संख्यात्मक उपस्थिति बढ्दो छ भनी संवत् ८१ को अनन्तलिंगेश्वरको अभिलेखले गरेको दासदासीबारे संकेतले प्रष्ट्याएको छ। अभिलेख पटक–पटक दास दासीबारे लेखिएको छ । छैटौं शताब्दीको चावहिलको अभिलेखमा पनि दास शब्दको उल्लेख छ । अभिलेखमा लेखिएको छ –‘दुद्र्धरैरिन्द्रियैः कृत्स्ना बाह्यते यैरियम्प्रजा दासवत्तानि सन्धार्य कृपयापरिपीड्य ता दानशील.. ।’ यस आधारमा पनि लिच्छविकालमा नेपालमा ऋणका कारण दासहरूको बढ्दो संख्यामा रहेको मान्न सकिन्छ । यसरी समस्याको रूपमा विकास हुँदै गएको ऋणका कारण दास भएकाहरूलाई मुक्ति वा स्वतन्त्रता दिलाउन उनीहरूको पीडामा मलम लगाउने कार्य गरेकै कारण यो संवत् प्रारम्भ भएको मान्यता छ । यस आधारमा पनि यो संवत्ले राष्ट्रिय मात्र होइन अन्तराष्ट्रिय रूपमा ख्याति पाएको नकार्न सकिन्न।

नेपाल संवत्को विषयवस्तुमाथि दृष्टि दिएको खण्डमा यस संवतलाई वैज्ञानिक छैन भन्नेहरूको संख्यात्मक कमी छैन । विशेषतः चान्द्रमासका आधारमा गणना हुने नेपाल संवत् कुनै महिना २८ दिन र तीनवर्षको एकपटक मलमासका कारण एक वर्षमा १३ महिनाको गणना गर्नुपर्ने भएकोले राष्ट्रिय क्यालेन्डरमा यो संवत् वैज्ञानिक छैन भन्ने गर्छन् । तिथिहरूमा हुने घटबढका कारण प्रशासनिक गतिविधिहरूमाथि व्यवधान वा कठिनाइउत्पन्न हुने गर्छ भन्ने छ । सामान्य रूपमा हेर्ने हो भने यी कुरा सही हुन् । तर, यो संवत्लाई अव्यवहारिक मान्नुको कारण नेपाल संवत् नेवार समुदायबीचमात्र प्रचलित भनी लेबल लगाइदिने गरेको पाइन्छ । जुन हास्यास्पद र तर्कहीनहरूको तर्क मान्नुपर्ने अवस्था छ । चान्द्रमासका आधारमा गणना गरिने यो संवत्लाई व्यवहारमा लागू गर्दा अव्यवहारिक हुने तर्क आफैंमा गलत मान्न सकिन्छ । नेपाल संवत्ले अख्तियार गरेको चान्द्रमासका तिथिहरूलाईमात्र संवतबाट छुट्याइदिएको अवस्थामा नेपालको मौलिक पहिचानको रूपमा रहेको धार्मिक, सांस्कृतिक गतिविधिहरूले विश्राम लिने छ ।

स्पष्ट शब्दमा भन्ने हो भने यो संवत्लाई अस्वीकार गरेको खण्डमा बहुधार्मिक, बहु सांस्कृतिक मुलुकबाट संस्कृति एवं सभ्यताविहीन मुलुकको रूपमा चिनिने छ । यस अर्थमा पनि नेपाल संवत्लाई अव्यवहारिक भनी मान्न सकिन्न ।अर्को अर्थमा भन्ने हो भने नेपालको मौलिकताको उपेक्षा गरी व्यवहारिकताको नाममा पाश्चात्य मुलुकले अख्तियार गरेको इश्वी संवत्लाई प्रतिस्थापित गरी विश्व एउटा ग्राममा परिणत भइसकेको छ भन्नका लागि नेपाल संवत् अव्यावहारिक भन्न खोजिएको हो कि भन्ने शंका उत्पन्न हुन्छ ।

विशेषतः काठमाडौं उपत्यकामा नेपाल संवत्लाई एक सांस्कृतिक उत्सवका रूपमा लिने गरिन्छ । पश्चिमाहरूले इश्वीको नयाँ वर्षलाई जुन किसिमले सांस्कृतिक मूल्य मान्यतासहित स्थान दिँदै आएको छ, त्यसैगरी काठमाडौं उपत्यकामा पनि नेपाल संवत्लाई सांस्कृतिक रूपमा स्थान दिँदै आएको पाइन्छ ।
काठमाडौं उपत्यकामा चार दशक यतादेखि नेपालसंवत्लाई आधिकारिक मान्यता दिनुपर्ने भन्दै नेपालभाषा मंकाः खलःले सांस्कृतिक अभियान गरिँदै आए पनि शताब्दियौं अघिदेखि नै नयाँ संवत् फेरिने दिने स्वतःस्फूर्त रूपमा जनसमुदाय नै तामझामका साथ लागि पर्ने गर्छन् ।

सरकारी एवं प्रशासनिक रूपमा असारको मसान्तमा आर्थिक वर्षको अन्त्यको घोषणा गरे पनि व्यापारिक घरानाहरूले नेपालको सार्वभौमिकता, अखण्डता र सांस्कृतिक एकता कायम गरी राखेको यो संवत्को प्रारम्भ हुनुभन्दा अघिल्लोदिन अर्थात् लक्ष्मीपूजाका दिन वर्षान्तको रूपमा अनौपचारिक रूपमा सालतमामी गर्दै आएको पाइन्छ । हालसम्म पनि लक्ष्मी पूजाका दिन पुरानो वासलातका ढड्डा बन्द गरी नेपालसंवत् प्रारम्भ हुने दिन नयाँ ढड्डा खडा गर्ने गरिन्छ ।

यस आधारमा पनि यो संवत्लाई एउटा भित्तामा झुण्ड्याइएको क्यालेन्डरको पानाको रूपमा मात्र लिनु युक्तिसंगत हुँदैन । जहाँसम्म यो परम्पराको सन्दर्भ हो यो लिच्छविकालीन परम्पराको निरन्तरता नै मान्न सकिन्छ । लिच्छविकालमा प्रचलित शक संवत् वा मानदेव संवत्को निरन्तरताको रूपमा नेपाल संवत्लाई लिनुपर्ने देखिन्छ।

दक्षिण भारतमा चैत्रादिमा शुरु हुने शक संवत् नेपालमा पुगेपछि कार्तिकबाट थालनी भयो । सार्वभौमसत्ता कायम गर्न वा आर्थिक दलदलमा फसेका दासहरूलाई मुक्ति दिलाउने पुनित कार्य शक वा मानदेव संवत् फेरिने दिनलाई केन्द्रविन्दु बनाइ दासहरूको ऋण मोचन गरी नयाँ संवत् स्थापना गरेको पाइन्छ । सामान्य रूपमा दासताबाट मुक्ति दिलाउने कार्यको रूपमा नेपाल संवत्लाई लिइएपनि संवत् प्रारम्भ हुने दिनमा विशेष रूपमा धार्मिक एवं सांस्कृतिक उत्सव मनाउनुपर्छ भन्ने शास्त्रीय मान्यता नै छ ।

नेपाल संवत्को नामाकरण हुनुपूर्व नै शास्त्रीय मान्यताअनुसार वर्ष फेरिने दिन कार्तिक शुक्ल प्रतिपदाका दिन स्नान न्यास गरी सम्पूर्ण लोक सुत्ने बेला मध्यरातमा अनामिका मोटाइको बत्ती बाली पूजा गर्नुपर्ने विधान उल्लेख गरेको पाइन्छ ।

अथ कार्तिकमासस्य शुक्लप्रतिपदीश्वरि ।
स्नात्वाचम्य विशुद्धात्मा न्यासान् कृत्वा पुरोदितान् ।।
प्रसुप्ते जीवलोके तु मुदितात्मा महानिशि ।
……………………..
आज्येनानामिकास्थूलवर्तिं प्रज्वाल्य पार्वति ।

अर्को एक तान्त्रिक ग्रन्थमा पनि संवत् फेरिएपछि साँझ मण्डला लेखी सर्वतोभद्रमण्डल पूजा गर्ने विधान उल्लेख गरेको छ ।

कार्तिकशुक्लप्रतिपत् संयतनिशिव्यापिनी ।
स्नात्वा नित्यक्रियां कृत्वा सर्वतोभद्रमण्डले ।।

यसरी दुई पृथक ग्रन्थहरूमा वर्णित सन्दर्भ हालका दिनमा नेवार समुदायले गरिँदै आएको म्हपूजासँग तादात्म्यता राखेको पाइन्छ । जुन विगतमा सम्पूर्ण सनातनी धर्मावलम्बीहरूले अंगिकार गर्ने गरिन्थ्यो ।
यद्यपि, कतिपयले म्हपूजा र संवत्फेरिने दिनबीच कुनै किसिमको सम्बन्ध नरहेको भनी स्वव्याख्या गरी पृथक रूपमा सांस्कृतिक गतिविधि गर्न थालेका छन् । यस्ता कार्यले समाज वा भावी पुस्तामा कुन किसिमको सन्देश दिन्छ आफैँ मनन गर्नुपर्ने अवस्था निम्तिन्छ ।

साँचो अर्थमा भन्ने हो भने नेपाल संवत्को प्रारम्भ भएको दिन पुरानो क्यालेन्डरले विश्राम लिई नयाँ क्यालेन्डरले स्थान पाएको दिनको रूपमा मात्र लिन सकिन्न । यसभित्र खण्ड खण्डमा विभाजित तत्कालीन नेपाललाई संवतीय रूपमा भएपनि एकीकृत गरिरहने भावनालाई आत्मसात गरेको देख्न सकिन्छ । मिथकलाई आधार लिएको खण्डमा पनि दासलाई दासताबाट मुक्त गर्नुको साथै भूराजनीतिक रूपमा बाह्य मुलुकमा समेत संवतीय प्रभुत्व देखाई सार्वभौमसत्ता कायम गरेको अवसरको रूपमा लिन सकिन्छ । सांस्कृतिक रूपमा नेपाल संवत् प्रारम्भ हुनुपूर्व नै संवत् फेरिएसँगै गरिने उत्सव म्हपूजा गरी वर्ष प्रारम्भ भएको घोषणाको रूपमा यो दिनलाई लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्