राजनीतिक आन्दोलनमा सामाजिक आन्दोलनको भूमिका



नेपालमा विभिन्न समयमा राजनीतिक आन्दोलनहरू भएको इतिहास छ जसले मुलुकको शासनपद्धति नै परिवर्तन गरेको हुन्छ । यी राजनीतिक परिवर्तनको निमित्त विभिन्न सामाजिक आान्दोलनहरू पनि हुने गर्दछ । कुनै पनि राजनीतिक परिवर्तन एकै समयमा नभई यस्को पृष्ठभूमि सामाजिक आन्दोलन हुने गर्दछ । मुलकको १०४ वर्षको राणा शासन अन्त्य गर्न र पञ्चायती व्यवस्था निर्मूल बनाउन यस्तै सामाजिक आन्दोलनहरूको महत्वपूर्ण सुरुवाती योगदान रहेको थियो ।

१०४ वर्षको राणाहरूको शासन अन्त्यको निमित्त राजनीतिक संस्थाको महत्वपूण योगदान रहेता पनि यस्को शुरु पृष्ठभूमिमा एकल व्यक्तिकै प्रमुखता रहेको थियो । एकल आवाजहरू सामूहिक आवाजको निमित्त पूर्वाधार हुने गर्दछ । राणा शासनमा यस्तै एकल आवाज दबाउन वि.सं. १९९६मा शुक्रराज जोशीलाई समेत शहीद बनाइएको थियो । अन्ततः वि.संं २००७ सालमा राणाहरूको अन्त्य भई मुलुकमा प्रजातन्त्रको उदय भयो ।

१०४ वर्षे राणा साशनमा धेरै किसिमका दमनहरू भएका थिए । विशेषगरी, नेपालका मूलवासीहरूको भाषा संस्कृतिमा विहंगम प्रहार गरिएको थियो । यहाँका रैथाने नेवारहरूको भाषा, लिपि र संस्कृतिमा यति दमन गरिएको थियो कि नेपालको मौलिक संवत् नेपाल संवत् हटाएर भारतबाट भित्र्याइएको विक्रम संवत्लाई राष्ट्रको आधिकारिक संवत् बनाइएको थियो । नेपाल संवत्मा लेखिएका तिथिमितिहरूलाई अदालतबाट मान्यता नदिइने सदनसमेत पारित गरिएको थियो । आफ्ना मातृभाषामा लेख्नेहरूलाई शहीद बनाई धेरैलाई जेल नेल र सर्वश्व हरणको सजाएँ सुनाइएको थियो । यी कार्यहरू व्यक्तिउपर गरिएको भएता पनि यसले समाजमा धेरै नकरात्मक असर परेको र अन्ततः राणा शासनकै पतन भएको थियो ।

प्रजातन्त्र पछिको २०१९ सालको नेपालको संविधानले पनि यस्तै किसिमका विभेदहरू गरेको पाइन्छ । पंचायती शासनको प्रादुर्भावपश्चात् ‘एक भाषा एक भेष’को नीतिले देशका कयौं मातृभाषा भाषीहरूको अस्तित्व नै अन्त्य गर्ने प्रयास गरिएको थियो । सरकारी कामकाजको भाषालाई ‘नेपाली’ नामाकरण गरिएको थियो । अन्य भाषामा बोल्नेहरूलाई राज्यकै दुश्मनसरह व्यवहारसमेत गरिएको थियो ।

मुलुकमा निर्दलीय पञ्चायत व्यवस्थाले सबै राजनीतिक पार्टीहरूलाई प्रतिवन्धित गरेका कारण जनताका धेरै मौलिक हकअधिकार कुण्ठित सरह नै रहेको थियो । बाध्यात्मकरूपमा सबै कार्यालयहरूमा ‘नेपाली’ भाषाका प्रयोगका कारण आम जनताको मुख नै बन्द गरिदिएको थियो । आफ्ना कुराहरूसमेत बोल्न नपाइने वाध्यात्मक स्थितिका कारण आमजनता निसासिएका थिए । सरकारले तत्कालीन समयमा प्रशारण गर्दै आएका विविध भाषाका समाचारहरू रेडिओबाट बन्देज गरिदिएपछि आफ्ना स्वतन्त्र आवाजको निमित्त उपत्यकाका रैठाने नेवारहरूले विभिन्न टोल टोलमा मातृभाषा जागृत गराउन सभा सम्मेलन र साहित्यिक कार्यक्रमहरू गरेका थिए । नेवारहरूमाझ आफ्ना मातृभाषाको महत्व उजागर गर्न संघर्ष गरेका थिए ।

सरकारको यस्तैै रवैयाका कारण मुलुकका विविध जातिका मानिसहरू आफ्ना अस्तित्वको निमित्त आवाज उठाउने पर्ने वाध्यात्मक स्थितिका कारण सर्वप्रथम नेवार र तामांङ्गहरूको संयुक्त भेला ने.सं. १०९५मा स्थानीय मच्छिन्द्र बहालमा भाषिक कार्यक्रम गरिएको थियो । उक्त भेलाका सहभागीहरूले आफ्ना मातृभाषा र जातिको उत्थानको निमित्त आवाज उठाएका थिए । सो भेला प्रेमबहादु कसाःको नेतृत्वमा आयोजना भई पद्मरत्न तुलाधर, सीताराम तामाङ्ग आदिले सम्बोधन गरेका थिए । यो नै नेपालका आदिवासी जनजातिहरू को पहिलो सामूहिक सभा बनेको थियो । यसरी, नेपालमा पनि आदिवासी जनजातिहरूको हक र अधिकारका आवाज आम जनसमुदायमा बुलन्द गर्ने कार्य भएको थियो ।

आफ्नो मौलिक संस्कृति र सम्पदा बचाउनको निमित्त सक्रिय रहेका सासाना समूहलाई एकजुट बनाउँदै ने.सं. १०९९मा नेपालभाषा मंकाः खलःको गठन पद्मरत्न तुलाधरको नेतृत्वमा भएको हो । नेवारहरुको मौलिक संस्कृति संरक्षणको निमित्त यस संस्थाले अनेक कार्यहरू गरे । आम जनता जागृत गराउन विभिन्न सभा सम्मेलनहरू यसले गरे । सोही क्रममा मंकाः खलःले नेपालको संस्कृति जर्गेणा गर्नको निमित्त ‘भिन्तुना’ सांस्कृतिक ¥उालीको आयोजना नेपाल संवत् परिवर्तन हुने दिन नेपाल संवत्अन्तर्गत कछला थ्वः प्रतिपदाका दिन गरे । नेपाल संवत् नेपालको मौलिक संवत् रहेका कारण सरकारले यस्को आधिकारिक मान्यता दिनुपर्ने मागसहित नेपालका मूलवासी नेवारहरूको बाजागाजासहित ‘भितुना’ आदान प्रदानको सांस्कृतिक कार्यक्रम आयोजना गरे ।

तर, एक भाषा एक भेष र एक संस्कृतिको उद्देश्य बोकेका पञ्चायती शासनलाई यो कुरा सह्य भएन र अनेक किसिमका लाञ्छनाहरू राज्यले दिन थाले । नेपाल संवत्का कुरा गर्नेहरू साम्प्रदायिक र मुलुकलाई टुक्रा गर्ने समूहको रूपमा चर्चा गरिन थाले । हरेक नेपाल संवत् नव वर्षको दिन आयोजन गरिने विविध कार्यक्रमहरूलाई भाजो हाल्ने क्रममा प्रशासनले पुलिस शक्तिसमेत प्रयोग गरी यस आन्दोलनमा कार्यरत नेता कार्यकर्ताहरूलाई जेलमा कोच्ने कार्यसमेत तत्कालीन सत्ता शासकहरूले गरेका थिए । यसरी सामाजिक सांस्कृतिक आन्दोलनको सर्वप्रथम शुरुवात नेपालभाषा मंकाः खलःले आयोजना गरेको थियो । विभिन्न अन्य जातीय समूहहरूले पनि यसै कार्यको अनुशरण गरेर आफ्ना जातीय संगठनहरूको आधार बनाए । पछि यस किसिमको आन्दोलन नै मुलुकमा राजनीतिक परिवर्तनको आधार बन्न पुगे । विभिन्न जातीय संगठनहरू पनि विकसित हुन थाले ।

नेपालभाषा मंकाः खलःले विशेषरूपमा भाषा संस्कृतिको सम्वन्धमा कुनै पनि जाति, जनजातिलाई विभेद्को व्यवहार गर्नु नहुने मान्यता राखेका थिए । यसै सांस्कृतिक आन्दोलनको आधारमा विभिन्न जातजातिहरूले पनि आ–आफ्ना मौलिक हक अधिकारका कुराहरू शुरु गरेका थिए । यसैको परिणामस्वरूप मुलुकमा जनजातिहरूको संगठन निर्माण गरिएको हो । विभिन्न मातृभाषा भाषिहरुले समाजमा आफ्नो पकड् सशक्त बनाई संगठनहरू निमार्ण गरेको थियो ।

ने.सं. १११० पूर्व नेपालमा निर्दलीय राजतन्त्रको व्यवस्था थियो । राजनीतिक पार्टीहरू प्रतिबन्धित थिए । पंचायती व्यवस्थाको निर्दलीय स्वरूपमा कारण मुलुकमा अनेक विसंगती र विकृति भएपछि मुलुकमा राजनीतिक बलको आधारमा पुनः बहुदलीय व्यवस्था स्थापना गरियो । यसअधिसम्म राजनीतिक पार्टीहरू प्रतिबन्धित रहेका कारण मंकाः खलःले आयोजना गर्ने नेपाल संवत्को नव वर्षको भितुना ¥यालीमा प्रतिवन्धित राजनीतिक पार्टीका नेताहरूको पनि सहभागिता रही सत्तारुद्ध शासकहरूप्रति दबाब दिने कार्यहरु गर्दै आएका थिए । आफ्ना स्वतन्त्र अभिव्यक्तिको निमित्त मंकाःखलःकै सभा सम्मेलन प्रयोग गर्ने गर्दथे । नेपाल संवत् १११०मा बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएपछि आ आफ्नै राजनीतिक पार्टीको ब्यानरमा नेवारहरूको हक अधिकारको निमित्त विभिन्न कार्यक्रमहरू हुन थाले ।

मुलुकमा बहुदलीय शासन ब्यवस्था र ने.सं. ११२६को राजनीतिक परिवर्तनपश्चात् शाह शासनकालको अन्त्य भयो । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो । तत्कालीन अन्तरिम विधानले मुलुकका आदिवासी जनजातिहरुलाई पहिचान सहितको संघीयतामा धेरै आशा जगाए । तर, संविधान निर्माण क्रममा पहिचान सहितको संघीयता पनि तुषारापात हुन पुग्यो । मंकाः खलःको भाषा, जाति र संस्कृतिको आन्दोलनमा नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउने कार्यमा खासै सफलता प्राप्त हुन सकेन । हुनत मंकाः खलःका भितुना सांस्कृतिक ¥यालीमा सहभागि हुने अधिकाश व्यक्ति र राजनीतिक शक्ति नै सत्तामा पुगेका थिए, तर सत्तामा पुगेपछि तिनीहरुले आदिवासी जनजाति र मंकाः खलःका आन्दोल विषय साखै च्यूता गरेनन् ।

मुलुकमा नयाँ संविधान निमार्ण क्रममा नेपाल संवत्लाई राष्ट्रिय पहिचानको स्वरूप यसलाई संविधानमा नै सम्बोधन गर्ने प्रयास गरिएता पनि राजनीतिक पार्टीका नेताहरूले नेपाल संवत्लाई विवादास्पद बनाई यस संवत्विषय मतदान समेत गराए । तर विड्म्वना मान्नुपर्दछ कि, मंकाः खलःको भिंतुना सांस्कृतिक ¥यालीमा सहभागि भई नेपाल संवत्का गुण गाउने व्यक्ति र राजनीतिक पार्टीकाका व्यक्तिहरू राज्य सत्तामा पुगिसकेपछि कसैले पनि नेपाल संवत्को समर्थनमा मतदान गरेनन् । नेपाल संवत्लाई सरकारले राष्ट्रिय संवत् भनी नामाकरण गरेता पनि यसको व्यवहारी मान्यता शून्य नै रह्यो । नेपाल सरकारले आफ्नै मुलुकमा उब्जिएको राष्ट्रको मौलिक संवत्लाई मान्यता नदिई विक्रम संवत्लाई नै प्रचलनमा ल्याइरहे । यस्को निरन्तरा अहिले पनि रहेको छ । विक्रम संवत् भारतमा स्थापना गरिएको मान्यता रहेको छ, तर यसको प्रचलन भारतमा समेत हुन छोडेको छ ।

नेपाल संवत्को आधिकारिक प्रयोगका विषय संवत् परिवर्तन हुने दिनको वरपर चर्चा हुने गर्दछ । नेपाल संवत्लाई व्यवहारिकरूपमा नै प्रयोगमा ल्याउनु पर्ने माग हुने गर्दछ । वास्तवमा नेपाल संवत् व्यवहारिक रूपमा यस्को प्रयोग धेरै समय अधिदेखि हुँदै आइरहेको छ । चन्द्रमासमा आधारित यसै संवत्का तिथिमितिका आधारमा नेपालका अधिकांश जात्रा पर्वहरू सञ्चालन हुने गर्दछ । नेपालमा सञ्चालन गरिने अधिकांश ख्यतिप्राप्त जात्रपर्वका सहभागि नेपाल मण्डलका रैथाने नेवारहरू हुने गर्दछ । चन्द्रमास अन्तर्गतका नेपाल संवत्को आधारमा जात्रा पर्व संचालन गर्दा कहिलेकाहिँ तिथि दोहरिने वा तुत हुने समस्या भएमा यस्को निवारणको निमित्त तरिकाहरू अपनाएको हुन्छ । नेवारहरूले मनाउने जात्रा पर्वमा शिष्टता रहन्छ र यस्मा घडी पलाको साइतको महत्व रहन्दैन । मानिसहरू यसै चन्द्रमासका तिथिअनुसार अनेक धार्मिक संस्कारका कार्यहरू गर्दछन् । जन्म मरणमा चन्द्रमास अन्तर्गतका तिथिमितिको आधारमा नै रहेर विविध कर्मकाण्डहरू गर्ने गर्दछ । यसरी चन्द्रमासमा आधारित नेपाल संवत्को महत्व सबैमा रहँदै आइरहेको छ ।

मुलुकमा जस्तोसुकै राजनीतिक परिवर्तन भएता पनि यस्को शुरुवात सामाजिक आन्दोलनबाट नै हुने गर्दछ । मुलुकमा संस्कृति, सम्पदाको संरक्षणमा समाजका विद्यमान रिति रिवाजको पनि महत्व रहेको हुन्छ । सत्तामा नपुग्नलेस विविध अधिकारको विषयमा बोल्ने र अधिकारप्राप्ति स्थानमा पुगेर आफ्नै जाति धर्मको वर्चश्व कायम गर्नतिर लाग्ने सवै प्रकारका मानिसहरुबाट बच्नु आवश्यक रहन्छ । निरंकुश विरुद्ध नेपालभाषा मंकाः खलःले शुरु गरेको सामाजिक र सांस्कृतिक आन्दोलनको आधारमानै मुलुकमा धेरै राजनीतिक परिवर्तनहरू भए । तर मंकाः खलःले उजागर गरेको सबै भाषा भाषिहरूको समान भाषिक अधिकार प्राप्तिको विषय अझै गौण रहेको पाइन्छ । मुलुकको संविधानमा अहिले पनि देवनागरी अक्षरमा लेखिएको नेपाली भाषालाई आधिकारिक मान्यता दिएको पाइन्छ । नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रिय भाषा भनी नामाकरण गरेता पनि यस्को प्रयोग र औचित्यबारे सबै निकायहरू मौन रहेको छ । त्यसैकारण पनि मुलुकमा सामाजिक, सांस्कृतिक आन्दोलन अपरिहार्य रहेको छ र यस्मा संलग्न व्यक्ति संस्थाहरूको भूमिका अझै सशक्त हुनुपर्ने समयको माग रहेको छ ।

-सचिव, नेपालभाषा मंकाः खलः

प्रतिक्रिया दिनुहोस्