राजधानीका छाडा गाईगोरु कान्जी हाउस लगियो

गाईगोरु पाल्न मन लागे ‘कान्जी हाउस’ जानुस्



काठमाडौं।

काठमाडौं महानगरपालिकाले राखिएका गाईगोरु पाल्न मन लागे कान्जी हाउसबाट लैजान आग्रह गरेको छ । कामपाले हिजो बिहीबारबाट छाडा छाडिएका गाई, गोरु र बाच्छाबाच्छीलाई कान्जि हाउसमा व्यवस्थापन शुरू गरेलगत्तै सो आग्रह गरेको हो ।

कामपा कृषि तथा पशुपंक्षी विभाग प्रमुख डा.अवधेश झाले मल वा दुधको लागि पाल्न इच्छा भएका व्यक्तिलाई कामपाको सिफारिसमा पालन गर्न दिने जानकारी दिनुभयो । हामी अन्य प्रयोजनको लागि नभई पालन गर्न चाहने कृषकलाई स्थानीय र कामपाको सिफारिसमा गाईगोरु लैजान दिनेछौं ।
कामपाले हिजोबाट सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्न शुरू गरेको हो । कामपाले हिजो पहिलो दिन ७ वटा गाईगोरु र बाच्छाबाच्छी कान्जी हाउसमा व्यवस्थापन गरेको छ । महानगरप्रहरीले सडक, नदीकिनारा, पार्क, चौर, चोक, मठमन्दिरजस्ता सार्वजनिक स्थलबाट ती चौपाया फेला परेको हो ।

गाई पालकले गाई बुढो भएपछि र गाईले बाच्छा जन्माएपछि सडक वा सार्वजनिक क्षेत्रमा ती चौपाया छाड्ने गरेका छन् । गाईलाई पालनपोषण गर्न नसकेपछि केहीले दुधालु गाई नै सार्बजनिक स्थलमा छाड्ने गरेको कामपाको भनाइ छ ।

पशुपंक्षी विभाग प्रमुख डा. झाले त्यस्ता गाईलाई पाल्न लैजान चाहेमा दिन सकिने जानकारी दिँदै भन्नुभयो– ‘कान्जी हाउसमा भेटाएका सबै गाईगोरु राख्ने होइन, अशक्त र वुद्ध भएका चौपायालाई मात्र राख्ने व्यवस्था मिलाएका हौं । त्यसैले कसैले मल र दूध प्रयोजनको लागि चौपाया लैजान चाहेमा दिने व्यवस्था गरेका छौं ।’
घरमा पालेका चौपाया सार्वजनिक स्थलमा छाडेको जानकारी पाएपछि कारबाही गर्ने चेतावनी दिए पनि कामपाले हालसम्म कसैलाई पनि कारबाही गर्न सकेको छैन । सडक किनारामा छाडिएका गाईगोरु लगायतका चौपायाको कारण सवारी दुर्घटना बढेपछि कामपाले कान्जीहाउस बनाएर ती चौपायाको व्यवस्थापन शुरू गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २६ मा यससम्बन्धी व्यवस्था छ । सोही व्यवस्थाअनुसार २०७८ फागुन ३ गते काठमाडौं महानगरपालिका र दक्षिणकाली नगरपालिकाबीच कान्जी हाउस बनाउने सम्झौता भएको थियो ।

पशुपंक्षी विभागका प्रमुख डा. झाका अनुसार काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरिएको छ । हेरचाह गर्न २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा व्यवस्था गरिएको छ भने कान्जी हाउसमा कामपाले दक्षिणकाली नगरपालिकाको वडा नं. ७ सँगको सहकार्यमा पानी, बिजुलीलगायत सुविधा प्रबन्ध गरेको छ ।

दक्षिणकाली नगरपालिका वडा नं. ७ का अध्यक्ष हरिप्रसाद तिमल्सिनाले महानगरपालिकाका सडक चौपाया व्यवस्थापन गर्न सहकार्य गरेको जानकारी दिँदै काञ्जी हाउसमा दक्षिणकाली नगरक्षेत्रकै छाडा चौपाया पनि व्यवस्थापन गरिने बताउनुभयो ।

कामपाले बिहीबार चारवटै क्षेत्रबाट सडकमा भएका गाईबाच्छा संकलन गरेर टेकुमा ल्याई त्यहाँबाट काञ्जी हाउस पु¥याएको थियो । कान्जी हाउसमा चौपाया लैजादा पशुकल्याणलाई विशेष ध्यान दिइएको बताइयोे ।

सम्झौता हुनुअघि यो ठाउँमा मिलीजुली पशुपालन समूहले पशु पालन गर्दै आएको थियो । प्रदेश सरकार र दक्षिणकाली नगरको सहयोगमा केही टहरासहितको भौतिक पूर्वाधार, त्यस क्षेत्रमा पुग्ने बाटो, बिजुली पानीलगायतका सुविधा व्यवस्था गरेर पशुपालन थालिएको भए पनि कोभिड–१९ को कारण नियमित हुन सकेन ।
काञ्जी हाउसमा पशु व्यवस्थापन, हेरचाह तथा सरसफाईका लागि महानगरपालिकाले कर्मचारी खटाएको छ । थप पूर्वाधार निर्माण तथा मर्मत सम्भार र मृत जनावरको व्यवस्थापनलगायत काम पनि महानगरपालिकाले गर्नेछ । त्यसै गरी महानगरले पशुसेवालाई दैनिक सञ्चालन गर्न खाद्यान्न, औषधी, उपकरणको प्रबन्ध गर्नेछ ।

कान्जी हाउसले ओगेटेको १ सय २६ रोपनी क्षेत्रफलमा कामपाले सो क्षेत्रमा डाले तथा भुइँघाँस लगाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्