सरकारी सेवाप्रति आकर्षण बढ्दो

एकै वर्षमा ४ लाख ८३ हजारको आवेदन



–सबैभन्दा बढी नाम निकाल्ने जिल्ला गुल्मी, स्याङ्जा, सर्लाही, जुम्ला र धनुषा
–सफल हुनेको औषत उमेर २८ वर्ष
–मनाङ, मुस्ताङ, रसुवा, म्याग्दी र डोल्पाबाट सबैभन्दा न्यून दरखास्त
–अत्यधिक दरखास्त पर्ने जिल्ला सर्लाही, बारा, रौतहट, महोत्तरी र धनुषा

 काठमाडौं । 

सरकारी सेवाप्रतिको आकर्षण बढ्दो रहेको पाइएको छ । आर्थिक वर्ष २०७९-२०८० मा लोक सरकारी सेवाका लागि अनलाइन प्रणालीमार्फत् ४ लाख ८३ हजार २ सय ३ जनाले आवेदन दिएका हुन् । अघिल्लो वर्षको लोकसेवामा दरखास्त दिनेको संख्या ३ लाख ६५ हजार ४ सय ३४ रहेको थियो । यस हिसाबले सरकारी सेवाप्रतिको आकर्षण ह्वात्तै बढेको पाइएको हो ।

लोकसेवा आयोगको सहसचिव तथा प्रवक्ता गीताकुमारी होमेगाईंले अघिल्लो वर्षको तुलनामा गत वर्ष दरखास्त दिनेको संख्या अत्यधिक देखिएकाले सरकारी सेवाप्रति आकर्षण बढेको बताउनुभयो । ‘अनलाइनबाट दरखास्त दिने व्यवस्था तथा जिल्लामा लोकसेवा आयोग नभए पनि दुर्गम मानिएको डोल्पा, हुम्लाजस्ता जिल्लामा परीक्षा केन्द्र राखिनुले पनि दरखास्त दिनेको संख्या बढेको देखिन्छ’ –प्रवक्ता होमेगाईंले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

आयोगका अनुसार आन्तरिक तथा खुला प्रतियोगितात्मक विज्ञापनबाट आयोगको अनलाइन दरखास्त प्रणालीमा कुल ४ लाख ८३ हजार २ सय ३ दरखास्त प्राप्त भएका थिए । आर्थिक वर्ष २०७९÷८० मा नेपालका ७७ वटै जिल्लाबाट दरखास्त परेको थियो । आर्थिक वर्ष २०७९÷०८० को अवधिमा निजामती सेवातर्फ महिला १ हजार ९९ र पुरुष २ हजार ५ सय ७६ गरी कुल ३ हजार ६ सय ७५ उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएको लोकसेवा आयोगले जनाएको छ । यस आर्थिक वर्षमा सिफारिस हुने उम्मेदवारहरूको औसत उमेर २८ वर्ष रहेको छ ।

गुल्मी र स्याङ्जामा लोकसेवा तयारी गर्ने र पास गर्नेको संख्या अधिक हुँदा निजामतीमा उनीहरूको नै वर्चस्व देखिएको छ । तर, पछिल्लो समयमा तराईका धनुषा र सर्लाहीजस्ता जिल्लसमेत लोकसेवा आयोगका परीक्षा पास गर्ने बढ्दै गएका छन् । प्रवक्ता होमेगाईंले नायव सुब्बा, खरिदारजस्ता पदको परीक्षा बढी दरखास्त परेको ठाउँमा लिने गर्दा पनि आकर्षणमा वृद्धि हुन सहयोग गरेको बताउनुभयो ।

आयोगका अनुसार गत वर्ष मनाङ र मुस्ताङ जिल्लाका कुनै पनि उम्मेदवार सिफारिस हुन सकेनन् । मधेस प्रदेशबाट सबैभन्दा बढी ६ सय ८४ र सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा कम ३ सय ९१ उम्मेदवार सिफारिस भएका थिए । समावेशी समूहतर्फका विज्ञापनबाट महिलातर्फ १ सय, आदिवासी र जनजातितर्फ ४ सय १, मधेसीतर्फ ३ सय १०, दलिततर्फ १ सय ३, अपाङ्गतर्फ ५८ र पिछडिएको क्षेत्रतर्फ ५८ गरी कुल १ हजार ४ सय ६० उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् ।

पछिल्लो १६ वर्षमा सबै समावेशी समूहबाट गरी कुल २४ हजार १ सय १२ उम्मेदवारहरू स्थायी नियुक्तिका लागि सिफारिस भएको आयोगले जनाएको छ । लोकसेवा आयोगका अनुसार सबैभन्दा अधिक दरखास्त पर्ने पाँच जिल्लाहरू क्रमशः सर्लाही, बारा, रौतहट, महोत्तरी र धनुषा रहेका छन् । ती पाँच जिल्लाबाट कुल ८१ हजार ४ सय ३ अर्थात् १७ प्रतिशत दरखास्त परेको आयोगकी प्रवक्ता होमेगाईंले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । मनाङ, मुस्ताङ, रसुवा, म्याग्दी र डोल्पाबाट सबैभन्दा न्यून दरखास्त गरेका थिए । यी जिल्लाबाट कुल ३ हजार ७३ अर्थात् ०.६३ प्रतिशत मात्र दरखास्त परेको थियो ।

प्रतिक्रिया दिनुहोस्