नेपालमा भूकम्पको इतिहास

तत्कालीन राजा अभय मल्लको समेत भएको थियो निधन



 काठमाडौं । 

नेपालमा विभिन्न समयमा गएको भूकम्पको इतिहासलाई हेर्दा यसको इतिहास लामो छ । जसमा अभिलिखित इतिहासलाई हेर्दा विसं. १८९० साल भदौ १२ गते, १९९० साल माघ २ गते २०४५ साल भदौ ५ गते र २०७२ वैशाख १२ गतेको भूकम्पलाई नेपालमा भएका भूकम्पमध्ये ठूलो र विनाशकारी मानिएको छ । नेपालको भूकम्प इतिहास केलाउँदा वि.सं. १२१८ मा गएको भूकम्पलाई पहिलो विनाशकारी भूकम्प मानिएको छ । भूकम्पीय इतिहासअनुसार नेपालमा हरेक ७० देखि १ सय वर्षमा एक महाभूकम्प र हरेक ५० वर्षमा मध्यमखालको भूकम्प जाने गरेको पाइएको छ । नेपालमा वि.सं. १२८०, १३१२, १४०१, १७७१, १८३४, १८६५, १८८२, १८९०, १८९१, १९१४, १९२३, १९३८, १९९०, २०३७, २०४५, २०६८ र २०७२ सालमा ठूला भूकम्प गएको छ ।

वि.सं. १२१८ असार शुक्ल तृतीया तिथि सोमबारका दिन करिब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूले बताएका छन् । त्यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पले काठमाडौं उपत्यकाका एकतिहाइ जनसङ्ख्यालाई प्रभाव पारेको थियो । स्थानीय बासिन्दाले १५ दिनदेखि एक महिनासम्म शहर छोड्नुपरेको थियो ।

वि.सं. १३१६ रेकर्ड गरिएकामध्ये दोस्रो ठूलो भूकम्प हो । जसका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो । वि.सं. १४६५ मा आएको भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत अन्य दर्जनौँ मन्दिर क्षति भएको थियो । जमिनमा ठूलाठूला धाँजा फाटे, जसले गर्दा पानीका मुहानसमेत पुराना स्थानमा सुक्ने र नयाँ स्थानमा पलाएको थियो । यस भूकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किएका थिए ।

वि.सं. १७३७ नेपालमा अन्य थुप्रैपटक भूकम्प गएको भनिए पनि यकिन तथ्यांक फेला परेको छैन । त्यस वर्षको राति भूकम्प गएको इतिहासविद्को भनाइ छ । जसले ठूलो विपत् निम्त्याएको थियो । वि.सं. १८२४ असार १ गते एकैदिनमा २१ पटक भूकम्पको धक्का महसुस गरिएको थियो । यस भूकम्पले पु¥याएको क्षतिको विवरण अभिलेखमा पाइँदैन । तर, २४ घन्टाभित्रमा २१ पटक भूकम्प जाँदा ठूलै क्षति भएको अनुमान गरिएको छ ।

वि.सं. १८६७ जेठ १० गते गएको भूकम्पबाट काठमाडौं र ललितपुरमा ठूलो मानवीय क्षति नभए पनि मठमन्दिरमा भने भत्किएका थिए । भक्तपुरमा चाहिँ यस भूकम्पले निकै मानिसको ज्यान लिएको थियो । वि.सं १८८० यमपञ्चकका दिन एकै स्थानमा बसेका सातवटा ग्रह छुट्टिँदा यो भूकम्प गएको इतिहासकारले बताएका छन् । जानकारका भनाइमा एकै दिनमा १७ पटक भूकम्प गएको थियो । यो विपत्तिले पनि निकै क्षति पु¥याएको थियो ।

वि.सं. १८९० भदौ १२ गते सोमबार बेलुका करिब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः भूकम्पको झड्का महसूस गरिएको भूकम्पविद्ले बताएका छन् । जसका कारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरूले र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाउन बाध्य भएका थिए । यस भूकम्पले भक्तपुर, ठिमी, साँखु, बनेपालाई प्रभाव पारेको थियो । काठमाडौंमा रहेका दुईवटा धरहरामध्ये एउटालाई पूरै ढालेको थियो भने अर्को आधा मात्र भत्किएको थियो । सो भूकम्प गएको एक महिना नबित्दै असोज १० गते राति अर्को भूकम्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस भएको थियो ।
वि.सं. १८९१ सालको असार र असोज महिनामा दुईवटा ठूला भूकम्प गएको थियो । पानी परिरहेका बेला यी भूकम्प गएको कारणले बागमतीमा ठूलो बाढी आएको थियो ।

वि.सं. १९९० माघ २ गते को महाभूकम्प नेपालको इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी मानिएको छ । पूर्वको संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको भूकम्पले देशलाई नराम्रो असर पारेको थियो । उक्त भूकम्पमा परी ३ हजार ८ सय ५० पुरुष र ४ हजार ६ सय ६९ महिला गरी जम्मा ८ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो । काठमाडौं उपत्यकामा मात्र करिब ४ हजार ५ सय जनाले ज्यान गुमाएका थिए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत २ लाख ७ हजार ४० वटा संरचना भत्किएको अभिलेख भेटिएको छ ।

वि.सं. २०४५ भदौ ५ गते बिहान पौने पाँच बजे गएको थियो । पूर्वी नेपालको उदयपुर जिल्लास्थित मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ६.७ रेक्टर स्केलको भूकम्पमा परी करिब ७ सय ५० जना मानिसले ज्यान गुमाएका थिए । ६ हजार ५ सयभन्दा बढी घर भत्किएका थिए । त्यसले पूर्वी नेपाललाई नराम्ररी क्षति प¥ुयाएको थियो । वि.सं. २०६८ असोज १ गते ताप्लेजुङ र भारतको सिक्किम सीमाक्षेत्रमा केन्द्रबिन्दुमा गएको भूकम्पमा १ सय ११ जनाको मृत्यु हुनुका साथै २ सयभन्दा बढी घाइते भएका थिए ।

वि.सं. २०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पमा परी ८ हजार ५ सय ५६ जनाको मृत्यु भएको थियो । यसमा २२ हजार ३ सय ९ जना घाइते भएका छन् । गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी २ हजार ६ सय ७३ सरकारी भवनमा पूर्ण क्षति, ३ हजार ७ सय ५७ वटा सरकारी भवनमा आंशिक क्षति भएको थियो । यसै गरी ६ लाख २ हजार २ सय ५७ वटा सर्वसाधारणका घर पूर्ण क्षति र २ लाख ८५ हजार ९९ घरमा आंशिक क्षति भएको थियो । यो भूकम्पमा परी धरहरा, वसन्तपुर, बुङमतिमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर ध्वस्त भएका थिए ।

वि.सं. १२१८–अभय मल्ललगायत अन्य थुपै्र मानिसको ज्यान गएको, १५ दिन सहर छोडिएको, एक तिहाइ जनसंख्यालाई असर गरेको
वि.सं. १३१६–महामारी र अनिकाल परेको
वि.सं. १४६५–सयौं मानिसको मृत्य, हजारौँ घाइते, ठूलो ठूलो धाँजा फाट्नु, मन्दिर भत्कनु
वि.सं. १७३७–बारम्बार भूकम्प जाँदा मानवीय क्षति भएको
वि.सं. १८२४–ठूलो जनधनको क्षति
वि.सं. १८६७–मठमन्दिर भत्किएको
वि.सं १८८०–मानवीय र चौपायाको क्षति भएको
वि.सं. १८९०–धरहरा, पाटीपौवा, मन्दिर
वि.सं. १८९१–वागमतीमा बाढी आएको
वि.सं. १९९०–८ हजार ५ सय १९ मानिसको मृत्यु भएको, ४० ओटा संरचना भत्किएको
वि.सं.२०४५–७ सय ५० जना मानिसको मृत्यु र ६ हजार ५ सयभन्दा बढी घर भत्किएको
वि.सं.२०६८–१ सय ११ जनाको मृत्यु, २ सयभन्दा बढी घाइते
वि.सं.२०७२–८ हजार ५ सय ५६ को मृत्यु, २२ हजार ३ सय ९ जना घाइते, सरकारी, निजी गरी ९ लाख घरमा क्षति

प्रतिक्रिया दिनुहोस्