मध्यरातमा विनाशकारी भूकम्पको ताण्डव

एक सय ५७ को मृत्य, ३ सय ७५ घाइते, सयौं घर क्षतिग्रस्त, हजारौं विस्थापित



जाजरकोट । 

जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्र बनाएर शुक्रबार मध्यरातमा गएको विनासकारी भूकम्पको ताण्डबले जाजरकोट र रूकुम पश्चिम शोकमा डुबेको छ । राती ११ बजेर ४७ मिनेटमा गएको ६.४ म्याग्नेच्यूटको भूकम्पले पूरै जिल्ला शोकमग्न बनाएको छ भने छिमेकी जिल्लाहरूसमेत त्रासदीपूर्ण अवस्थामा छन् ।

गृह मन्त्रालयलका अनुसार उक्त भूकम्पले नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहसहित १ सय ५७ जनाभन्दा बढीको मृत्यु भएको छ भने ३ सय ७५ जना घाइते भएका छन् । उक्त भूकम्पमा परी सयौं घर क्षतिग्रिस्त भएको छ भने हजारौं व्यक्तिहरू विस्थापित भएका छन् । करोडौंको भौतिक क्षति हुनेगरी भएको उक्त दूर्घटनापश्चात् देशको पूरै ध्यान जाजरकोट र रूकुमतर्फ केन्द्रित छ । जाजरकोटमा एक सय ५ र रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोष रोकाका अनुसार भूकम्प गएलगतै प्रभावित क्षेत्र पुगेको प्रहरी टोलीले घाइते तथा मृतकको उद्धार गरेका थियो । भूकम्पले भेरी नगरपालिका–३ पीपलडाँडा, माथिल्लो थाप्ले, तल्लो थाप्ले, वडानम्बर १ को रावतगाउँ, कोलचौर मैदे, पिपे, रिम्नाबजार, नलगाड नगरपालिका, कुशे गाउँपालिका, छेडागाड नगरपालिका र बारेकोट गाउँपालिकाका विभिन्न वडामा जनधनको क्षति पु¥याएको छ । त्यसै गरी भूकम्पले रूकुमको आठबिसकोट नगरपालिका, सानीभेरी र चौरजहारी नगरपालिकालगायतमा जनधनको क्षति पु¥याएको छ ।

भूकम्पलगत्तै शनिबार बिहान भूकम्प प्रभावित क्षेत्रमा घाइतेको अवस्थाको बारेका जानकारी लिन आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपीडितलाई सहयोग गर्न सबैलाई आह्वान गर्दै घाइतेको औषधि उपचार नेपाल सरकारले गर्ने बताउनुभएको छ ।
उहाँले घाइतेलाई औषधिको अभाव हुन नदिन सरकार गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै भूकम्पबाट प्रभावित नागरिकलाई औषधि उपचारको व्यवस्था नेपाल सरकारले मिलाएको बताउनुभयो ।

उद्धार गरेका घाइतेको जाजरकोट अस्पतालमा कार्यरत् चिकित्सक र स्वास्थ्य चौकीमा कार्यरत् स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको छ । घाइतेको संख्या बढ्न थालेपछि नेपालगन्ज र सुर्खेतका अस्पतालमा कार्यरत् चिकित्सक, नेपाली सेना, सशस्त्र प्रहरीमा कार्यरत विशेष चिकित्सकको टोली औषधिसहित भूकम्प प्रभावित क्षेत्र पुगी उचार गर्न थालेको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले जाजरकोट अस्पताल र नगर अस्पतालमा दल्लीका घाइतेको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनुभएको थियो । उहाँ भूकम्प प्रभावित क्षेत्र दल्ली र रुकुम पश्चिमको आठबीसकोट पुग्नुभएको थियो ।

भूकम्प प्रभावित क्षेत्रको अवलोकनपछि काठमाडौं फर्केका प्रधानमत्री प्रचण्डले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । उहाँले आइतबार बिहान ८ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको जानकारी दिँदै विपद् व्यवस्थापनको बैठक बसेर राहत र पुनःस्थानाको काममा तत्काल लाग्ने बताउनुभएको छ ।यसैबीच राहत तथा उद्धारको बन्दोबस्तीका लागि जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाको बैठकले एकद्वार प्रणालीबाट छिटोछरितो राहत वितरणका लागि विभिन्न समिति गठन गरेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो ।

विनाशकारी भूकम्पले सय वर्ष पुराना दरबारहरू नष्ट भएका छन् । करोडौं मूल्य बराबरका घरसहित घरभित्रका सामान नष्ट भएका छन् । मालपोत कार्यालय, नापी कार्यालयका भवन पूर्ण रूपमा क्षति हुनुका साथै सामग्री नष्ट भएका छन् । स्थानीयबासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले उद्धारमा जुटेका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार जाजरकोटमा ७२ महिला, ३ सय ३० पुरुष गरी १ सय ५ जनाको मृत्यु भएको छ । १ सय ५ मध्ये भेरी नगरपालिकामा ४२, नलगाड नगरपालिकामा ५५, छेडागाड नगरपालिकामा १, कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ । सयौंको संख्यामा घाइते भएकालाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीले उद्धार गरेका छन् । ५० शय्याको जाजरकोट अस्पतालमा शय्या पर्याप्त नभएपछि भुईमै उपचार गरिएको छ । शनिबार बिहान सुर्खेत, नेपालगन्जबाट स्वास्थ्यकर्मी, सुरक्षा निकायका विशेषज्ञ टोली जाजरकोट पुगेर उपचारमा संलग्न भएका छन् । जाजरकोट अस्पतालमा उपचार सम्भव नभएका घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत, नेपालगन्ज र काठमाडौं पठाइएको छ ।

विनाशकारी भूकम्पबाट बालबालिका, महिला बढी प्रभावित भएका छन् । बालकदेखि वृद्धवृद्धाले ज्यान गुमाएका छन् । जाजरकोट यति बेला शोकमग्न छ । त्रसित स्थानीयले रातभर सडक र विद्यालयको चौरमा रात बिताएका थिए । ठाडा भएका घर चर्किएर चिरा परेपछि पुनः भूकम्प आउँछ कि भन्ने त्रासले स्थानीयहरू आफ्नो घरमा पस्न सकेका छैनन् ।

अस्पतालको भुईंसमेत घाइते र आफन्तले भरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार घाइतेलाई व्यवस्थापन गरेपछि आफन्तलाई शव बुझाइने छ । नेपाल सरकार, प्रदेश सरकारसहित राजनीतिक दलहले पीडितहरुको उद्धार र राहतमा परिचालित हुन मातहतका पंक्तिलाई खटाएका छन् । त्यस्तै, सञ्चार माध्यमहरूले संयमतापूर्वक नागरिकलाई सुसूचित गराउँदै खोज, उद्दार तथा राहतका लागी सहयोग पु¥याइरहेका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा तत्काल १० करोड पठाइने
वागमती र लुम्बिनी प्रदेशले डेढ करोड, कोशी र सुपले १–१ करोड
चीनबाट १० करोड रुपियाँ बराबरको राहत सामग्री आउँदै

जीवन शर्मा, काठमाडौं ।
नेपाल सरकारले खोज, उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपियाँ पठाउने निर्णय गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा ५÷५ करोड रुपियाँ पठाउने निर्णय गरेको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् हाललाई उक्त रकम पठाउने निर्णय भएको र उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत् खर्च हुने उहाँको भनाइ छ ।

शनिबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ घटनास्थलमा पुगेर खोज उद्धारको कार्यलाई सहजीकरण गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले प्रयोग गरेको हेलिकोप्टर उद्धारका लागि जाजरकोटमै छोडेर उहाँ नियमित उडानबाट काठमाडौं आउनुभएको थियो । वागमती प्रदेश र लुम्बिनी प्रदेशले पनि भूकम्प पीडितहरूलाई राहतस्वरूप एक करोड ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । त्यसै गरी कोशी र सुदूरपश्चिम प्रदेशले पनि भूकम्प प्रभावितलाई राहतस्वरूप १ करोड रुपियाँ दिने निर्णय गरेको छ ।
यसै गरी सरकार र सरकार बाहिर रहेका राजनीति दलहरू पनि तत्काल खोज, उद्धार र आपतकालीन राहतका लागि पार्टी पंक्तिलाई आह्वान

गर्दै भूकम्प पीडितहरूको दुःखमा मल्हम लगाउन सक्रिय बनेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसले वक्तव्य जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न आह्वान गरेको छ । कांग्रेसले पीडितहरुको उद्धार, राहत र पुनस्थापनाका लागि ५० लाख रुपियाँ नेपाल सरकारको कोषमा उपलब्ध गराउने समेत निर्णय गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले घाइतेहरुको उद्धार र उपचारमा परिचालित हुन पार्टी पंक्तिलाई अपिल गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले देशभरका नेता–कार्यकर्तालाई भूकम्प पीडितहरूको उपचारमा जुट्न आग्रह गर्नुभएको छ । भूकम्प पीडितहरुको उद्धार र राहत कार्यमा एमाले सरकारको साथमा रहेको बताउँदै उहाँले सुर्खेत, नेपालगञ्ज र काठमाडौंका कमिटीहरूलाई उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक रगत संकलन गर्न मातहतका कमिटीहरूलाई निर्देशन दिनुभएको छ । सरकारको नेतृत्व गरेको दल नेकपा (माओवादी केन्द्र)ले पनि आवश्यक खोज, उद्धार र राहतका सहयोग पु¥याउन पार्टी पंतिलाई आह्वान गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भूकम्प प्रभावित क्षेत्रमा पुगी उद्धार कार्यमा संलग्न हुन, राहत र पुनस्थापनामा जुट्न पार्टीको सबै निकायमा सर्कुलर गरेको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वस्थ्यकर्मी, स्वयंसेवक परिचालन, उपचारमा आवश्यक सामग्री ब्यवस्थापन र अन्य आवश्यक सहयोग गर्ने जनाएको छ । भूकम्प प्रभावित क्षेत्र नजिक रहेका र सम्बन्धित क्षेत्रका सबै दलका नेता तथा कार्यकर्ताहरू उद्धार कार्यमा परिचालित भएका छन् ।

यसैबीच छिमेकी राष्ट्र चीनले जाजरकोट भूकम्प प्रभावितहरूका लागि १० करोड रुपियाँ बराबरको राहत सामग्री सहयोग गर्ने जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले सामाजिक सञ्जाल एक्समा भुकम्पपछिको पहिलो चरणको सहयोगका रूपमा पाल र ब्ल्यांकेटका साथै अन्य सामग्री उपलब्ध गराउने जानकारी दिनुभएको हो । उहाँले चीनले दक्षिण एसियाली राष्ट्रहरूका लागि आपतकालीन आपूर्तिका लागि राखेको यी सामग्रीहरू एक दुई दिनमै नेपाल आइपुग्ने जानकारी दिनुभएको छ । साथै उहाँले थप सहायता सामग्रीहरू पनि आउने जानकारी पनि दिनुभएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समाजिक सञ्जाल एक्समा भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै यस दुःखद् घडीमा नेपाललाई आवश्यक सहयोग गर्न भारत तयार रहेको बताउनुभएको छ । त्यसै गरी काठमाडौंस्थित अमेरिकी दुतावासले पनि जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबरप्रति गहिरो दुःख व्यक्त गर्दै भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तयार रहेको बताएको छ ।

७ घाइतेको काठमाडौंमा उपचार

भूकम्पमा परी घाइते भएका ७ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । स्थानीय अस्पतालमा उपचार हुन नसकेका घाइतेहरूलाई थप उपचारका लागि चौरजहारीबाट काठमाडौं ल्याइएको नेपाल प्रहरीले बताएको छ । घाइते सात जनाको काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौं ल्याइएका घाइतेहरूको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा र अन्य घाइतेहरूको जिल्ला अस्पतालका साथ सुर्खेत, कोहलपुर र नेपालगञ्जमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
भूकम्पले जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति पु¥याएको छ । घाइतेको उद्धार कार्यका लागि दुईवटा एम्बुलेन्ससहित ६ वटा सवारीसाधन परिचालन गरेको छ ।

३ हजार ५ सय बढी सुरक्षाकर्मी परिचालन

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ठूलो जनधनको क्षति भएपछि तीनवटै सुरक्षा निकायका ३ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा अहिलेसम्म नेपाली सेनाको मेडिकल टिमसहित २ हजार, नेपाल प्रहरीको ८ सय ५० र सशस्त्र प्रहरी बलबाट ६ सय ३८ जना खोज तथा उद्धारका लागि खटिएका छन् । नेपाली सेनाको रूकुम पश्चिम र जाजरकोटमा उक्त संख्यामा सैनिक परिचालन भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली सेनाको ५ वटा हवाई साधन अहिले भूकम्प प्रभावित जिल्लामा परिचालित भएका छन् भने वीरेन्द्र अस्पताल छाउनी, नेपालगञ्ज क्षेत्रीय अस्पताल र सुर्खेतमा रहेको फिल्ड एम्बुलेन्स गुल्मसमेत घाइतेको उपचारमा खटिएको छ । नागरिकको जीउधनको सुरक्षाका साथै उनीहरूको उपचार तथा बसोवासका लागि समेत सेनाले कुनै कसर बाँकी नराखी काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै, नेपाल प्रहरीको पनि चिकित्सकसहितको ८ सय ५० भन्दा बढीको टोली अहिले जाजरकोट र पश्चिम रूकुममा परिचालित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कँुबेर कडायतले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बलको चिकित्सकसहितको ६ सय ३८ जनाभन्दा बढी सुरक्षाकर्मी भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालन भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापनका लागि खटिने सुरक्षामर्की भूकम्प प्रभावित क्षेत्रमा परिचालन हुन काठमाडौंको विमानस्थल पुगेको भए पनि हवाई साधनको अभावका कारण शनिबार साँझसम्म पनि सो टोली परिचालन हुन सकेको देखिँदैन ।

स्वास्थ्य टोली जाजरकोट, नेपालगञ्ज र सुर्खेत पुग्यो

भूकम्पमा परी घाइते भएकाको उपचारका लागि काठमाडौंबाट ४१ जनाको स्वास्थ्य विशेषज्ञ टोली औषधि, उपकरणसहित जाजरकोट, नेपालगञ्ज र सुर्खेत पुगेको छ ।

चिकित्सकहरूको टोलीमा नेपाली सेनाबाट १६, वीर अस्पतालबाट ६, सशस्त्र प्रहरी बलबाट ८, नेपाल प्रहरीबाट ११ जना जाजरकोट, नेपालगञ्ज र सुर्खेत गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी गराउनुभयो । डा. बुढाथोकीका अनुसार थप स्वास्थ्यकर्मी टोली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गएको छ । घाइतेको घटनास्थलमा प्राथमिक उपचारसहित शल्यक्रियाका लागि भेरी अस्पताल नेपालगञ्ज र सुर्खेतमा गरिने पनि उहाँले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो– ‘सुर्खेत प्रादेशिक अस्पताललाई तयारी अवस्थामा राखेका छौं ।’

स्वास्थ्यकर्मीको टिममा हाडजोर्नी विशेषज्ञसहित एनेस्थेसिया, कार्डियोलोजिस्टलगायतका विशेषज्ञ सम्मिलित टोली घटनास्थलमा खटिएका छन् । जिल्ला अस्पतालमा पनि शल्यक्रिया गरिँदै छ । स्रोतसाधन, हेलिकोप्टरबाट पठाइएको तथा बाटोमा भएका अवरोधहरू नेपाली सेनाको टोलीले खुलाउँदै गरेकाले घाइतेहरूलाई स्थलमार्गबाट पनि अस्पताल पु¥याइएको छ । नेपाल चिकित्सक संघले पनि विज्ञप्ति जारी गरी स्वास्थ्य क्षेत्रमा आवश्यक सहयोग गर्न चिकित्सकहरू तयारी अवस्थामा रहेको जनाएको छ ।

विपत्मा एकजुट हुन राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पबाट पीडितहरूको उद्धार, राहत र घाइतेको शीघ्र उपचारको व्यवस्थापन कार्यलाई तीव्रता दिन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

स्वास्थ्य उपचारमा कुनै कमी नआओस् भनेर राज्य पूरै भूकम्प प्रभावित क्षेत्रमा उद्धारका लागि टिम खटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विपत्मा एकजुट भएर उद्धारमा खटिन राट्रपति, प्रधानमन्त्री पुष्पकमल दाहालले अपिल गर्नुभएको छ । त्यसै गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले घाइतेको उपचार निःशुल्क गर्न देशव्यापी रूपमा सबै स्वास्थ्य संस्थालाई निर्देशन दिनुभएको छ । साथै जाजरकोट निवासीहरूका लागि आर्थिक अवस्था कमजोर भएर घर फर्कन समस्या नहोस् भनी ४ वटा अरनिको बस निःशुल्क रूपमा व्यवस्था गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२०७२ सालको भूकम्पमा जस्तै आपत्मा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरूका साथै सुरक्षा निकाय, उद्योग, व्यवसायी, राजनैतिक दल, जनप्रतिनिधिहरू, सर्वसाधारण सबैले एकजुट भएर उद्धार र उत्खननमा सक्रिय रूपमा जुटेको पनि डा. बुढाथोकीले जानकारी गराउनुभयो ।
यता काठमाडौंमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, प्रहरी अस्पताल, निजामती सेवा अस्पताल, ट्रमा सेन्टरलगायतका अस्पताल र चिकित्सकहरू अलर्ट भएर उपचारका लागि तयारी अवस्थामा रहेको पनि जानकारी गराउनुभयो ।

‘गण्डकी प्रदेश सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुन निर्माणलगायतका कार्यमा कर्णाली प्रदेश सरकारसँगको समन्वयमा आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगले जाजरकोट भूकम्पमा परी घाइते भएकाको उद्धार, निःशुल्क तथा प्रभावकारी उपचार गर्न सबै पक्षलाई अपिल गरेको छ ।

निःशुल्क स्वास्थ्य शिविरमा ३ सय २० को परीक्षण

कलंकी मन्दिर संरक्षण तथा सुधार संस्थाको रजतजयन्तीको अवसर पारेर शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना ग¥यो ।
सहिद मेमोरियल अस्पताल कलंकीको सहयोगमा सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय २० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
उक्त शिविरको उद्घाटन गर्दै सहिद मेमोरियल अस्पतालका मेडिकल डाइरेक्टर डा. दीपक श्रेष्ठले जनताको स्वास्थ्यका बारेमा ध्यान दिँदै अस्पतालले विभिन्न संघसंस्थासँग मिलेर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

उक्त शिविरमा हाड तथा नशा रोग, नाक, कान, घाँटी, प्रसूति रोग, दन्त रोगर आँखा रोगको परीक्षण गरिएको थियो । विषय विज्ञ चिकित्सकहरूले बिरामीको विभिन्न रोगको परीक्षण गरेको कार्यक्रम संयोजक सुन्दर थापाले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय समाजसेवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्