कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई प्रचण्ड मत



विराटनगर ।

कोशी प्रदेशमा आफ्नै दल नेपाली कांग्रेस र गठबन्धनभित्र विद्रोह गरी मुख्यमन्त्री बनेका केदार कार्कीले भारी विश्वासको मत पाउनुभएको छ ।

आफ्नै दल नेपाली कांग्रेस र सत्ता गठबन्धनको संस्थागत निर्णयको विपक्षमा उभिएर विद्रोह गर्दै मुख्यमन्त्री बनेका कार्कीलाई एमालेले समर्थन गरेको थियो। सत्ता गठबन्धनभित्रको असन्तोषमा खेल्न कार्कीलाई मुख्यमन्त्री बन्न सघाएको एमालेलाई बाहिर धकेल्नकै लागि भए पनि गठबन्धन दलहरूले पनि विश्वासको मत दिएका छन्। संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले प्रदेश सभाको ९३ मध्ये ८६ मत प्राप्त गर्नुभएको छ ।

सभामुखविहीन प्रदेश सभामा बैठक सञ्चालन गरेका उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत परेको घोषणा गर्नुभयो । राप्रपाका पाँच सांसदले विपक्षमा मत दिए। राप्रपाका एक जना सांसद बैठकमा अनुपस्थित थिए। मुख्यमन्त्री कार्कीलाई उहाँकै दल कांग्रेस (२९), एमाले (३९), माओवादी केन्द्र (१३), एकीकृत समाजवादी (४) र जनता समाजवादी (१) ले विश्वासको मत दिएका हुन्।

कांग्रेसका विद्रोही कार्कीलाई सघाएको एमाले सरकारमा गठबन्धनका दलहरूको प्रवेश रोक्न लागेको छ। तर, गठबन्धन दलहरू भने कार्की नेतृत्वको सरकारलाई आफ्नै बनाउने प्रयासमा लागेका छन्। यसको असर केन्द्रमा समेत देखिन सक्ने डरले जबरजस्त रुपमा कार्कीलाई गठबन्धनले आफ्नो बनाएको छ। कार्कीलाई मुख्यमन्त्री बनाउन मुख्य आड दिने कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको बालुवाटार सहमति प्रदेशमा कार्यान्वयन हुने आशामा गठबन्धन दलहरू छन्। तर कार्कीले त्यसविरुद्ध गएर एमालेसहितको सरकार बनाएका छन् । जसमा अझै गठबन्धनका माओवादी, नेकपा एस र जसपाले अवसर पाएका छैनन् ।

गठबन्धनलाई चुनौती दिएर प्रदेशको कार्यकारी प्रमुख बन्न पुगेका मुख्यमन्त्री कार्कीले सबैजसो दलको मत पाएपछि कोशी प्रदेशको सत्ता राजनीति फेरि एकपटक रोचक मोडतिर अघि बढेको छ। मुख्यमन्त्री नियुक्त भएलगत्तैदेखि कार्कीले कोशीमा गठबन्धन दलहरूसँग छलफल तीव्र पार्नुभएको छ । सँगसँगै उहाँले एमालेलाई समेत सँगै लगेर कोशीमा सहमतिय सरकार बनाउने योजना बनाउनुभएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मध्यावधि निर्वाचन र प्रदेशसभा विघटन रोक्न नयाँ ढंगको राजनीतिक परिस्थिति सिर्जना भएको बताउनुभयो । विश्वासको मतसम्बन्धी प्रस्ताव राख्दै कार्कीले प्रदेशको जटिल राजनीतिक अवस्थाबीच आफूले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको बताउनुभयो । ‘मध्यावधि निर्वाचन रोक्न र प्रदेशमा स्थिरता कायम गराउन सरकारको प्रमुख भूमिका रहनेछ ।

हामी त्यसमा सक्रिय हुनेछौं’ –उहाँले भन्नुभयो । कार्कीले जनताका अपेक्षा र प्रश्नहरुको उचित सम्बोधन गर्न प्रदेश सरकारको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो । यस्तै नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले संघीय गणतन्त्र नेपालको संविधानमाथि चौतर्फी आक्रमण शुरु भएको बताउनुभयो । दश महिनाको अवधिमा पाँचपटक विश्वासको मत लिने काम भएको भन्दै कोशीमा दलहरूलाई सँगै मिलेर अघि बढ्न जनादेश प्राप्त भएको सुनाउनुभयो ।

अहिलेको निर्वाचन प्रणालीले नै त्यस्तो अवस्था सिर्जना भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो– ‘कुनै पनि दलले बहुमत प्राप्त गर्न सक्ने अवस्था छैन । अहिले बुढा दलको काम छैन भन्ने हल्ला चलाइएको छ तर हामी बेसुर भएका छौँ ।’ संविधानको निर्माण सहमतिमा भएको भन्दै कार्कीले संविधानमा कमजोरी भए सच्याएर अघि बढ्न सकिने बताउनुभयो । दलहरूबीच निषेध गर्दै अघि बढ्दा थप समस्या आउने भन्दै कार्कीले सरकार निर्माणमा संविधानका सबै उपधारा प्रयोग गर्दा यो अवस्था आएको जिकिर गर्नुभयो ।

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोसी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले कोशी प्रदेशको परिस्थिति गम्भीर मोडमा पुगेको बताउनुभयो । आफूलाई संघभन्दा प्रदेश सरकार नै विश्वासिलो लागेको उहाँले बताउनुभयो । सिटौलाले अस्थिरता प्रदेशको प्रमुख चुनौती बनेको बताउनुभयो । यस्तै नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका निवर्तमान नेता उद्धव थापाले कोशी प्रदेशमा सरकार निर्माणलाई मात्र समस्याका रूपमा लिइएको बताउनुभयो ।

थापाले भन्नुभयो– ‘एमालेको समर्थन प्राप्त हुँदा हामीहरू समाधानतर्फ लागेका छौँ । अब सरकारलाई साथ दिने कुरामा अघि बढौं ।’ थापाले कांग्रेसबाट आठ भाइ माननीयले दलभित्र झगडा गरेको, कुण्ठा बोकेर हिँडेको, युद्धको मैदानमा पुगेको र आफूहरूले माला लगाएर स्वागत गरेको बताउनुभयो । नामकरणको विषयमा समस्या आएको भन्दै थापाले वार्ता समिति बनाएर छलफल अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

नेकपा (माओवादी केन्द्र) को कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले नेकपा (एमाले) जबरजस्ती सत्ता गठबन्धनमा घुसेको बताउनुभयो । बुधबार मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा विश्वासको मत पाएपछि पत्रकारहरूसँग कुरा गर्दै आङ्बोले एमालेले अब सरकारबाट बाहिरिएर नैतिकता देखाउनुपर्ने बताउनुभयो। ‘हामीले गठबन्धनको स्पिरिटअनुसार मुख्यमन्त्रीलाई निःशर्त मत दिएका हौं।

अब एमालेसँग राजनीतिक नैतिकता बाँकी छ भने गठबन्धनमा जबरजस्ती घुसेको ऊ सरकारबाट बाहिरिनु पर्छ’, उहाँले भन्नुभयो– ‘यो सरकार गठबन्धनको हो।’ यसअघि गठबन्धनले आङ्बोलाई नै मुख्यमन्त्रीमा अघि सारेपछि केदार कार्कीले विद्रोह गरी मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो । जति बेला कार्कीलाई कांग्रेसका ८ र एमालेका ३९ सांसदले समर्थन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्