पारिवारिक भागबन्डाको चपेटामा लोसपा



– चारसिटे पार्टीको पदाधिकारी नै ६३ जना

– एक महासचिवले गरे पद बहिष्कार

– पार्टी अध्यक्ष ठाकुरले पाएको अधिकारलाई दुरुपयोग गरेको नेताहरूको टिप्पणी

काठमाडौं।

प्रतिनिधि सभामा ४ सिट रहेको मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेताको परिवारिक भागबन्डाको चपेटामा परेको छ । पार्टीका शीर्ष नेताहरूले पदाधिकारीमा आफ्नै परिवार र नातागोतालाई भागबण्डा लगाएपछि पार्टी पारिवारिक कब्जाजस्तै भएको हो ।

पुनर्गठित लोसपा केन्द्रीय समितिमा अध्यक्ष महन्त ठाकुर, वरिष्ठ नेताहरू राजेन्द्र महतो, शरदसिंह भण्डारीले छोरी ज्वाइँ, सम्धि, सम्धिनीलगायतका आफन्तलाई भागबन्डा लगाएर पार्टीलाई पारिवारिक कब्जामा पु¥याएको नेताहरूले टिप्पणी गरेका छन् । पार्टीको वरिष्ठ उपाध्यक्षमा अध्यक्ष महन्थ ठाकुरका सम्धि उमाकान्त झा र उपाध्यक्षमा सम्धिनी इन्द्रा झा मनोनीत भएका छन् । ठाकुरले एक मात्र छोरी मिनाक्षीलाई सदस्य बनाउनुभएको छ ।

अध्यक्ष ठाकुरले परिवारका सबै सदस्य समेटेपछि वरिष्ठ नेता राजेन्द्र महतोले पनि ज्वाइँ अनिल महासेठलाई महासचिव बनाउनुभएको थियो । अर्का वरिष्ठ नेता शरदसिंह भण्डारीले छोरी सृष्टिलाई सचिव बनाउनुभएको छ । भण्डारीले निर्जला राउतलाई वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष दुवै पद दिलाएका छन् ।

दुई वर्षअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग नेतृत्वको क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै पार्टी फुटाएका महन्त ठाकुर, राजेन्द्र महतो र सरदसिंह भण्डारीले पार्टीमा एकलौटी कब्जा जमाएर आफन्त भर्ती गर्ने केन्द्र बनाएको कतिपय नेताहरूले बताएका छन् । तर राजेन्द्र महतोका ज्वाइँ पर्ने अनिलले महासचिव पदमा नरहने घोषणा गर्नुभएको छ । कार्यसमिति पुनर्गठनका विषयमा लोसपाको जस्तो पार्टीमा प्रक्रिया मिचेर केही नेताहरूले मनोमानी गरेको असन्तुष्टि जनाउँदै महासेठले महासचिव पदमा नरहने घोषणा गरेको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘राजनीतिक परिवर्तन र रूपान्तरणको एजेन्डा बोक्ने बेलामा लोसपा जस्तो लोकतान्त्रिक पार्टीका नेताले एकल निर्णयमा विधानविपरीत कार्य गरेकाले म उक्त पदमा नहरेको घोषणा गरेको छु । एउटा राजनीतिक पार्टीमा मान्छेहरूलाई अटाउने नाममा १६ जान महासचिव बनाएर के तमासा गरेको हो ? यसको जवाफ नेताहरूले कसरी दिनुहुन्छ ? त्यही भएर मैले महासचिव पदमा नरहने निर्णय दिएको हुँु ।’

लोसपाको ३ सय ११ सदस्यीय पुनर्गठित केन्द्रीय समितिमा ६३ जना पदाधिकारी बनाइएको छ । वरिष्ठ नेतामध्येका एक अनिलकुमार झाले पार्टी अध्यक्षलाई दिएको स्वविवेकीय अधिकार प्रयोग गरेर समिति बनाएकाले सो विषयमा आफ्नो कुनै टिप्पणी नरहेको बताउनुभयो । पार्टीको विधानअनुसार ६५ जना कार्यकारिणी समिति बनाउन सक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार कार्यकारिणी सदस्यहरूलाई नै पदाधिकारी बनाउन सक्ने भएकाले धेरै पदाधिकारी बनाइएको महासचिव विनोद सिंहले नेपाल समाचारपत्रलाई बताउनुभयो । २०७४ सालमै ६ वटा दलहरू मिलेर बनाएको दलमा सबै नेताहरूलाई व्यवस्थापन गर्ने सन्दर्भमा धेरै पदाधिकारी हुन पुगेको सिंहको भनाइ छ ।

महासचिवको पद बहिष्कार गरेका अनिलले भने पार्टी अध्यक्षले प्रक्रिया नै गलत गरेर कार्यसमिति बनाएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो– ‘हामीले अध्यक्ष जीलाई विश्वास गरेर कार्यसमिति बनाउने अधिकार प्रत्यायोजन गरेका हौं । तर, उहाँले लिएको अधिकारलाई दुरुपयोग गर्नुभयो । कसैलाई नसोधी पादाधिकारीहरूको भीड लगाएर एकलौटी निर्णय गर्नुभयो कुनै दलहरूमा नभएको अनौठो प्रकृतिको पार्टी कमिटप्रति युवाहरूले प्रश्न गर्दा त्यसको जवाफ दिन नसक्ने भएकाले मैले पदमा नरहने भनेको छु ।’

प्रतिक्रिया दिनुहोस्