भ्रष्टाचारको भयावह अवस्था



पशुपति मन्दिरमा जलहरी राख्ने क्रममा डेढ किलो सुन गायब हुनुले केवल राजनीतिक, प्रशासनिक कार्यमा मात्र नभई धार्मिक आस्था र श्रद्धाको आवरणमा पनि भ्रष्टाचार हुने गरेको पछिल्लो प्रमाणका रुपमा रहेको छ । श्रद्धा, आस्था र पवित्र भावनाले काम गर्नुपर्ने क्षेत्रमा समेत स्वार्थी तत्वहरुले राज्यकोष लुट्न बाँकी नराख्नुले नैतिकरुपमा मानिस कति पतीत हुँदै गएको छ भन्ने देखाउँछ । त्यस कार्यमा पशुपति विकास कोषका पदाधिकारीहरु संलग्न हुनु झन् लाज मर्दो विषय हो ।

त्यतिमात्र नभई यो गम्भीर प्रकृतिको कसुर पनि हो । जलहरी राख्ने क्रममा सुन हिनामिनामा संलग्न भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोषका पदाधिकारीविरुद्ध मुद्दा दायर गरेको छ । यस विषयमा अदालतले छिनोफानो गर्ने नै छ तर त्यसभन्दा पनि यसले भ्रष्टाचारको विकराल र भयावह स्थितिलाई पनि उजागर गरेको छ ।

पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपियाँ बराबरको १ किलो ४९१ ग्राम ७१८ मिलिग्राम सुन हिनामिना भएको पाइएको छ । पशुपतिको शिवलिंग (ज्योतिलिंग)को गर्भगृहलाई पूर्णरुपले ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद गरिएको थियो । सो सुनमा तामा २ केजी ८९० ग्राम, चाँदी १ केजी २४९ ग्राम, जिंक १२ दशमलव ७५ ग्रामसमेत गरी १ सय ७ केजी ९२४ दशमलव ७५ ग्राम सुन कायम गरिने उल्लेख गरिएको थियो । किनेको सुनमध्येबाट जलहरीमा प्रयोग गरिएको सुन घटाउँदा १ किलो ५६५ दशमलव ६ ग्राम सुन फरक देखिएको थियो ।

तर तोकिएको सर्त र निर्णयबमोजिम सुनको जलहरी बनाइएन । निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको कीलालगायतमा प्रयोग गरिएको सुनको परिमाण ९६ केजी ८२२ ग्राममात्रै उल्लेख गरिएको थियो । त्यस बेलाको मूल्य अनुसार ७ करोड ८६ लाख ४६ हजार रुपियाँ बराबरको बाँकी १० केजी ९७६ ग्राम सुन रिङ बनाई चढाइएको जिकिर कोषले गरेको थियो । त्यसपछि खोजबिन गर्दा रिङ राखिएको भेटिएन । भनिन्छ, अरु क्षेत्रमा गरेका पाप र कुकृत्य मन्दिर, तीर्थस्थलमा गएर धुन सकिन्छ, तर धर्ममा गरेको पाप कहाँ गएर धुने ? सुन हिनामिना गरेको आरोपमा पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल, तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा, तत्कालीन स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध मुद्दाले यही कहावतलाई पुनः स्मरण गराएको छ । यसले धर्मिक क्षेत्रमा गरेको पाप धार्मिक हिसाबले अरु क्षेत्रमा गरेको कुकृत्यभन्दा निन्दनीय रहेको छ ।

यो विषयले अदालतमा प्रवेश पाइसकेकोले यसको छिनोफानो अदालतले गर्ने नै छ । भ्रष्टाचार गर्नेहरुले कहाँमात्र बाँकी राखेनन् ? स्वास्थ्य, शिक्षालगायत जनताको आधारभूत विषयमा पनि भ्रष्टाचार र माफिया उत्तिकै मौलाएको छ । महामारी र संकटका बेला झन् बढी अनियमितता र चलखेल भएका घटना बढ्दोरूपमा सुनिएको थियो । समय सान्दर्भिक शासकीय सुधार नहुनु तथा पारदर्शिता र जवाफदेहिताको कमीले दिन–प्रतिदिन भ्रष्टाचारले प्रश्रय पाइरहेको छ । यसर्थ, विगतदेखि नै मौलाउँदो भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्न र गराउन सकिएन भने समृद्धिको नागरिकको चाहना र संविधानको परिकल्पना पूरा हुँदैन । यसतर्फ सबै गम्भीर हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्