सिन्धुलीमा चाडपर्व लक्षित बजार अनुगमन, मरिणमा म्याद नाघेका सामान जफत



सिन्धुली । सिन्धुलीमा चाडपर्व लक्षित गरेर बजार अनुगमन शुरू गरिएको छ । जिल्लास्तरीय संयुक्त बजार अनुगमन टोलीले जिल्लाको मुख्य–मुख्य बजार क्षेत्रमा चाडपर्व लक्षित खाद्य तथा किराना पसलहरूको अनुगमन शुरू गरेको हो ।

जिल्ला सदरमुकामसहित पालिकाहरूको बजार क्षेत्रमा रहेका पसलहरूमा नजिकिँदै गएको दशैं, तिहारलगायत चाडपर्वमा हुनसक्ने मूल्यवृद्धि, उपभोग्य म्याद गुज्रेका खाद्य सामाग्रीको किनबेच, लेवल स्पष्ट नभएका खाद्य सामाग्रीहरूको किनबेच हुन नदिन र खाद्य वस्तुमा कृत्रिम अभाव सिर्जना हुन नदिन बजार अनुगमन गर्न शुरू गरिएको छ ।

जिल्लास्तरीय संयुक्त बजार अनुगमन टोलीले आज समेवार मरिण गाउँपालिकाको मुख्य–मुख्य बजारका खाद्य तथा किराना पसलको अनुगमन गरेको छ ।

मरिण गाउँपालिकाको छाप, धमिलेलगायतका ठाउँको बजार अनुगमनका क्रममा विभिन्न पसलहरुमा २९ हजार ८५५ रुपियाँ बराबरको उपभोग्य म्याद नाघेको सामाग्रीहरू भेटिएकाले जफत गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय, सिन्धुलीका प्रमुख प्रविन श्रेष्ठले जानकारी दिनुभयो ।

‘हाम्रो नियमित हुने बजार अनुगमन जिल्लाका विभिन्न ठाउँमा निरन्तर भईरहेका छन् । अहिले चाडपर्वहरू पनि नजिकिँदै गएका छन् । यस्तो बेला बजारमा हुने धेरै थरीका विकृतिलाई कम गर्न बजार अनुगमनलाई तीव्रता दिएका छौं,’ –उहाँले भन्नुभयो ।

आज नै धुराबजारमा अनुगमन गर्नेक्रममा राकेश शाहले सञ्चालन गरेको राम जानकी खाद्यान्न पसलमा लेबल नभएको र खरिद बिलसमेत नभएको सामान भेटिएकाले उक्त पसललाई १५ हजार रुपियाँ जरिवना गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

गत शुक्रबार फिक्कल गाउँपालिकाको मुख्य बजारका खाद्य तथा किराना पसलको अनुगमन गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो । गुनासो आएको बजारमा पहिलो प्राथमिकता दिएर बजार अनुगमन गरिँने र दशैंअघिसम्म जिल्लाका सबै पालिकाको मुख्य बजारमा अनुगमन गरिने प्रमुख श्रेष्ठले बताउनुभयो ।

अनुगमनका क्रममा अनिवार्य रुपमा मूल्यसूची सबैले देख्ने गरी राख्न, व्यवसाय दर्ता गरी मात्र सञ्चालन गर्न, अनिवार्य रूपमा खरिद विल लिन तथा विक्री विल जारी गर्न, म्याद नाघेका सामान नबेच्न निर्देशन दिइएको प्रमुख श्रेष्ठले बताउनुभयो ।

त्यस्तै फर्मको उद्देश्यभन्दा बाहेक सामानहरू राखेर विक्री वितरण नगर्न, थोक विक्रेतालाई म्याद नाघेका सामानहरू राख्न छुट्टै कोठाको व्यवस्था गर्नसमेत निर्देशन दिएको उहाँले बताउनुभयो ।

वागमती प्रदेश, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, जिल्ला प्रशासनका कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय, मरिण गाउँपालिका, उद्योग वाणिज्य संघका प्रतिनिधि, सुरक्षा निकाय, संचारकर्मीलगायत अन्य सरोकारवाला निकायहरूको सहभागितामा बजार अनुगमन गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्