तीजको रौनकता



नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक के शहर के गाउँ, सबैतिर फैलिरहेको छ । तीजको रसिलो माहौलले सबैलाई उमंगित बनाइरहेको छ । यो चाडको धार्मिक तथा सांस्कृतिक महत्व उच्च छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ । तर पनि यसको महत्व र यस चाडमा गरिने रमाइलोमा कुनै कमी भने आएको छैन् । यो पर्वलाई सबैको मान्य बनाउन र महिला दिदीबहिनीहरुको भावनामा कुनै चोट नपुग्ने गरी आधुनिकीकरण गर्दै लैजानुपर्ने देखिन्छ । परम्परा र संस्कृति हाम्रो लागि निकै प्रियमात्रै छैन, यसले हामी सबैलाई सभ्य र अनुशासित बनाउन महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले यस्ता परम्परा र चाडको जगेर्ना गर्नु सरकार र हामी सबैको परम कर्तव्य हो ।

पछिल्ला वर्षहरुमा चाहिँ आधुनिकताका नाममा सांस्कृतिक पक्षलाई बिर्र्र्सिएर तीज पर्वमालाई नै बद्नाम बनाउने काम पनि भइरहेको छ । विशेष गरी शहरी क्षेत्रमा तीज निकै भड्किलो हुँदै गएको देखिन्छ । शहरी महिला दिदीबहिनीले आधुनिकताका नाममा पश्चिमी शैली अनुसार तडकभडक गर्र्दै तीज मनाउने गरेका देखिन्छन् । महिला दिदिबहिनीहरुले जथाभावी खानपान गर्ने, मदिराले लठ्ठ हुने घातक प्रवृत्तिले तीजको सांस्कृतिक पक्षमाथि नै प्रहार गर्ने हो कि भन्ने चिन्ता सर्वत्र देखिन थालेको छ । त्यसैले यो विषयमा शहरी महिला दिदीबहिनीहरु सतर्क र संवेदनशील बन्नै पर्छ ।

तीज पर्व विशेष गरी नेपालमा पौराणिक कालदेखि नै चलिआएको बुझ्न सकिन्छ । नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध नेपाली पर्व हो । यो नेपालका महिलाहरूले मात्र मनाउने गर्छन् । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ, जुन विभिन्न रूपले यो पर्वमार्फत प्रकट हुन्छ ।

धार्मिक कथनअनुसार हिमालय–पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । पार्वतीले महादेवलाई श्रीमान्का रूपमा पाउन १०७ जन्मसम्म घोर तपस्या गरे पनि १०८ औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा विभिन्न शास्त्रमा उल्लेख छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमान्को दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलन छ । परम्परा यस्तो रहे पनि श्रीमान् र श्रीमती सधैँ एक–अर्काको परिपूरकको रुपमा रहने गर्छन् । यो चाडले त झन् यी दुवैलाई झन् निकट ल्याउन र कुनै असमझदारी भए समयमै हटाएर भावनात्मकरुपमा एकजुट भई अघि बढ्नसमेत प्रेरित गर्ने गर्छ । त्यसैले पनि यसको विशेष महत्व छ ।

आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलन छ, जसले माइती–चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउने गरेको छ । त्यसैले पनि तीज पर्वको सामाजिक, सांस्कृतिक महत्व उच्च छ । अतः यो चाडलाई जोगाइराख्नु हामी सबैको कर्तव्य हो । तीजलाई परम्परागत मान्यता र विधि नमर्ने गरी यसको सांस्कृतिक र सामाजिक पक्षलाई जोगाएर परिस्कृत गर्दै लैजानुपर्ने अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्