मूल्य वृद्धि र कालोबजारीले उपभोक्ताको ढाड सेकियो

बजार अनुगमन सुस्त



काठमाडौं । दैनिक उपभोग्य वस्तुको मूल्य दिनानुदिन आकासिँदै जाँदा आमउपभोक्ता अत्याधिक पीडित बनेका छन् । अस्वाभाविक मूल्य वृद्धिका कारण कमजोर आम्दानी भएका सर्वसाधारणलाई बिहानबेलुकीको दुई छाक जोहो गर्न नै कठिन हुन थालेको छ ।

सरकारको नियमन गर्ने निकायले नियमित अनुगन गर्न नसक्दा व्यवसायीले मनपर्दी मूल्यवृद्धि गर्दै आइरहेका हुन् । सरकारी निकायले चाडपर्वमा मात्र बजार अनुगमन गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिँदै आएको हो । केही निश्चित व्यापरीको कब्जामा बजार भएको हुनाले मूल्य वृद्धि र कालोबजारीको क्रम बढेको र सरकारी निकाय त्यसलाई रोक्न असफल भएको उपभोक्तावादी संघसस्थाले दाबी गरेका छन् ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका सहासचिव विष्णुप्रसाद तिमिल्सिनाले केही समय अघिसम्म २५ किलोको १७ सय प्रतिबोरामा पाइने चामल अहिले २२ सयभन्दा बढी पुगेको छ । यस्तै रहरको दाल प्रतिकिलो १ सय ६० बाट २ सय २० पुगेको छ । मसुरोको दाल प्रतिकिलो १ सय ४० बाट १ सय ७० पुगेको छ भने चिनी ९० रुपियाँबाट १ सय १५ पुगेको छ ।

सरकारले कुन खाद्य वस्तुको मूल्य कति पर्छ भन्ने कुनै निश्चित मापदण्ड नतोकेको हुनाले पनि व्यापरीलाई मनलाग्दी गरेर बेच्न सजिलो भएको महासचिव तिमिल्सिनाको भनाइ छ । बजारमा व्यापारीले चामल लुकाएर राखेको र पुन लेबलिङ गरिरहँदा पनि सरकार मूकदर्शक भएर बसेको पनि उपभोक्तावादीको आरोप छ ।

यसै गरी खुद्रा व्यापारीहरुले ९२ पर्ने चिनी अहिले १ सय २२ रुपियाँसम्म लिइरहेको पनि उपभोक्ता हित संरक्षण मञ्चका महासचिव तिमिल्सिनाले दाबी गर्नुुभयो । यसरी मनपरी मूल्यवृत्ति हुँदा दैनिक ज्यालादारी गरेर जीवन चलाउने उपभोक्ता समस्यामा पर्ने गरेका छन् । सरकारले एक पालिका एक सहुलियत पसल भन्ने नीति लिएको छ । तर, नीति कार्यान्वयन नहुँदा व्यापारीले मनलाग्दी गरिरहेको पाइएको छ । सरकारले ठाउँठाउँमा सुपथ मूल्य पसल सञ्चालन गरिदिने हो भने पनि यस्ता समस्या समाधान भएर जाने उपभोक्ता अधिकारकर्मीको सुझाव छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मूल्य वृद्धि भएको स्वीकार्दै मूल्य वृद्धि रोक्नका लागि जिल्ला प्रशासन कार्यालयले उच्च तहमै अनुगमन गर्ने बताउनुभयो । उहाँले केही दिन अगाडि पनि पिउने पानी, चामलजस्ता उपभोग्य वस्तुमा अनुगमन गरेको र आउँदा दिनमा चाडवाडमा म्याद गुज्रेको सामान बिक्री हुने गरेको प्रति प्रशासन कार्यालय सतर्क रहेको दाबी गर्नुभयो । ‘हामीले वाणिज्य विभाग, राजस्वलगायत निकायसँग समन्वय गरेर उच्च तहमा अनुगमनका जाने निर्णय गरेका छौँ’ –प्रमुख जिल्ला अधिकारी बस्नेतले भन्नुभयो ।

अहिले चामल, गेडागुडी, चिनी मात्र नभएर तरकारीको मूल्य पनि अचाक्ली बढेको छ । गत आइतबार बिहानको कालीमाटी बजारको थोक मूल्य ४० देखि ५० मा पाइने टमाटरको खुद्रा मूल्य १ सय रुपियाँ रहेको छ । यसरी हेर्दा ५० प्रतिशत भन्दा बढी परेको देखिन्छ । त्यस्तै प्याज, लसुन, आलुको मूल्य पनि खुद्रा बजारमा दोब्बरले बढेको छ । कालीमाटी बजार विकास समितिका प्रवक्ता विजय श्रेष्ठले बजार घट्ने बढ्ने भइरहने बताउनुभयो । उहाँले कालीमाटी बजारमा मूल्य प्रतिस्पर्धात्मक रहे पनि खुद्रा पसलमा भने आफूले भन्न नसक्ने बताउनुभयो ।

चाडपर्वमा बढी सामानको माग र खपत हुने हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने र नापतौलमा ठगी गर्नेजस्ता समस्या नहोऊन् भनेर सरकारले अनुगमनलाई तीव्रता दिने दाबी गर्दै आए पनि कार्यान्वयन गर्न सकेको छैन । बजारमा अहिले पनि मूल्य, नापतौल र गुणस्तरमा असाध्यै समस्या रहेको बताइएको छ ।

यता मूल्य नियन्त्रण गर्ने गर्ने भनेर सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि वैशाखदेखि चामलको मूल्यमा पनि वृद्धि गरेको छ । खाद्य व्यवस्थामा पनि केही सीमित व्यापारीले मात्र सामान बेच्ने गरेका छन् ।

१५ दिन यता चिनीको मूल्य अस्थिर

१५ दिनदेखि यता चिनीको मूल्य अस्थिर रहेको छ । १५ दिन आगाडि ९२ रुपियाँ प्रतिकिलो रहेको चिनी यसबीचमा ९५ हुँदै मंगलबारसम्म आइपुग्दा होलसेलमै १ सय २० रुपियाँ पुगेको नेपाल खुद्रा व्यापार संघका कोषाध्यक्ष वसन्त श्रेष्ठले बताउनुभयो । उहाँले बजारमा चिनीको अभाव देखाउँदै होलसेल बेच्नेले नै चिनीको मूल्य पठाएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्