लुम्बिनी गुरुयोजनामा केही परिमार्जन गर्नुपर्ने अवस्था देखियो : उपाध्यक्ष डा. लामा 



बुटवल। 

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले  लुम्बिनी बनाउन आफू आएको भन्दै सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।
उनले लुम्बिनी आफ्नो धार्मिक आस्थाको धरोहर भएको भन्दै स्थानीय, बुद्धिजीवी, पत्रकार र अन्य विभिन्न संघसंस्थालाई समेत साथ र सहयोग गर्न अपिल गरे ।

लुम्बिनीमा रूपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारहरूसँग बिहीबार परिचयात्मक तथा भेटघाट कार्यक्रममा   मेरो धार्मिक आस्थाको ठाउँ हो लुम्बिनी, इतिहास बनाउन सँकु भनेर आएको छु’ उपाध्यक्ष डा. लामाले भने –‘मायादेवीको कसम खाएर भनेको छु, लुम्बिनीमा लिने होइन दिन आएको छु ।’

उपाध्यक्ष लामाले लुम्बिनी गुरुयोजना आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जनाए । उनले आफ्नो कार्यकालमा गुरुयोजना सम्पन्न गर्ने र मायादेवी मन्दिर निर्माण गर्ने उद्देश्य रहेको बताए । मायादेवी नयाँ डिजाइन र आकर्षक बनाउनुपर्ने उनको भनाइ छ ।

गुरुयोजनाको बाँकी काम, बुद्ध सर्किट निर्माण, रामग्राम, तिलौराकोट र देवदहको पुरातात्त्विक क्षेत्रको संरक्षण र विकासका लागि काम गर्ने गरी आफू आएकाले सहयोग गर्न पत्रकारहरुसँग उपाध्यक्ष डा. लामाले आग्रह गरे । ‘म लुम्बिनी बनाउन लड्छु, जुध्छु, भिड्छु तर, नैतिकता गुमाउँदिन’ उनले भने  ।

उनले लुम्बिनी गुरुयोजनाका सम्बन्धमा र कोषको कामका बारेमा विभिन्न प्रश्न र गुनासाहरु उठेको बताउँदै त्यसलाई सम्बोधन गर्ने गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।  संविधानसभा सदस्य, पूर्व अर्थराज्यमन्त्री समेत रहेका  डा. लामाले आफ्नो क्षमतालाई लुम्बिनी बनाउन खर्चिने बताए ।

 विश्वका विभिन्न मुलुकबाट लुम्बिनी आउन चाहनेहरुलाई अनुलुकुल वातावरण बनाउने बताए । उपाध्यक्ष लामाले रूपन्देही, कपिलवस्तु र नवलपरासीमा रहेका बौद्ध क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाएको बताए ।

उनले बौद्ध क्षेत्रको विकासका लागि आवश्यक रकम जुटाउन विश्व समुदायमा पुग्ने समेत बताए । ‘अब ६/७ अर्बको रकम जुटाएर गुरूयोजना सकाउनु छ, अहिले देशको बजेटमा नि समस्या छ’ उपाध्यक्ष लामाले भने । उपाध्यक्ष लामाले कोषलाई सबै पक्षमा पारदर्शिता बनाउने प्रमुख उद्देश्य रहेको बताउँदै त्यसमा साथ दिन पत्रकारलाई अनुरोध गरे  ।

 उपाध्यक्ष लामाले गुरुयोजनामा केही परिमार्जन गर्नुपर्ने अवस्था देखिएको बताउँदै त्यसका लागि युनेस्को, विभागीय मन्त्रालय र सरोकारवाला निकायसँग परामर्शमा गरिने बताए । ‘४५ वर्षअघि केन्जो टाँगेले बनाएको योजना हो, अहिले धेरै अवस्था फेरिएको छ, त्यसका कारण पनि परिमार्जन जरुरी छ’, उनले भने  । बुद्धजन्मस्थल लुम्बिनी वरिपरिका स्थानीयहरुलाई अपनत्व बनाउने गरी काम गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्