पाल्पाको ऐतिहासिक भगवती जात्रा आज निकालिँदै

महत्त्वपूर्ण जात्रालाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने माग 



पाल्पा। 

 नेपाल अंग्रेज युद्धको वीरतासँग गाँसिएको पाल्पाको ऐतिहासिक भगवती जात्रा आज विहीवार निकालिँदै छ ।
नेपालले विसं १८७१/१८७२ ७२ मा भएको बुटवल जितगढीयुद्वमा अंग्रेजलाई पराजित  गरेको इतिहाससँग सम्बद्ध यो जात्रा  २०३ औं भगवती जात्रा हो ।
रथयात्राको तयारी भव्य रुपमा भएको श्री ७ रणउजिरश्वरी भगवती गुठी व्यवस्थापन  समितिले जनाएको छ ।

तत्कालीन नपाली सेनाका  कमाण्डर  कर्णेल उजिर सिंह थापाले युद्वमा जानु अघि युद्वमा जितेमा तीन तले मन्दिर बनाइ भगवतीको सिन्दुर जात्रा गर्ने भाकल गरे अनुरुप  युद्वमा विजयी भएपछि तत्कालीन कर्णेल उजिर सिंह थापाले विसं १८७७ देखि कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सव स्वरूप भगवती जात्रा मनाउन थालिएको हो ।  ऐतिहासिक पाल्पा गौंडा र तत्कालीन नेपाल अंग्रेज युद्धमा विजयोल्लास स्वरूप सुरुवात भएको भनिने पाल्पाको ऐतिहासिक भगवती जात्रालाई पाल्पाको गौरव र महत्त्वपूर्ण उत्सवको रुपमा लिइन्छ ।

तत्कालीन पाल्पा गौंडाका कर्णेल उजिरसिंह थापाले नेपाल अंग्रेजको जीतगढी युद्धमा विजय प्राप्त गरेपछि त्यसैको उत्सवको रुपमा यो जात्रा मनाउन लागिएको ईतिहासविदको भनाइ छ  । तत्कालीन जितगढीको युद्धका लागि दलवल सहित तानसेन देखि हिँड्नु अघि कर्नेल उजिरसिंह थापाले तानसेन दरबार छेवैमा रहेको भगवतीको प्रतिमा अगाडि उभिएर “अंग्रेजलाई जितेर फर्केमा जीर्ण मन्दिरको जिर्णाेद्वार गर्नुका साथै अविर जात्राको परम्परा बसाल्ने भाकल गरेका थिए ।” छ महिना सम्मको जितगढीको युद्धपछि आफ्नो पल्टनलाई सुरक्षित मुकाम फिर्ता ल्याई भगवतीको नवनिर्मित मूर्ति प्रतिष्ठापित गरी जात्राको परम्परा चलाएको भन्ने “पाल्पाको भगवती जात्रा” इतिहासकार डा. कर्णबहादुर बानियाद्वारा लिखित नामक किताबमा उल्लेख गरेको पाइन्छ ।

घरेलु हात हतियार, सेनाको संख्या कम भएको अवस्थामा समेत बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर ंिसहं थापाले युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरेका थिए । विजय उत्सव प्रत्येक बर्ष भाद्र कृष्ण नवमीको दिन भगवतिको रथजात्राको सञ्चालन हुँदै आएको छ । यो जात्रालाई पश्चिम क्षेत्रकै ऐतिहासिक जात्राको रुपमा लिने गरिन्छ । अंगे्रज साम्राज्यवादको आक्रमणबाट मुलुकलाई जोगाउन जितगढी विजय गरेको इतिहास छ ।
भगवती जात्राको अघिल्लो दिन कृष्ण जन्माष्टमी साँझदेखि नै जाग्रामबसी नवमीको दिन दिउँसो स्थानीय भगवती मन्दिरदेखि रथयात्रा सुरु गर्ने गरिन्छ ।   रणउजिरेश्वरी भगवतीको रथले तानसेन नगरका विभिन्न स्थानहरूमा भोग, बली र फूल प्रसाद ग्रहण गरी साँझ मन्दिरमै बिसर्जन गर्ने परम्परा छ  । रथयात्रामा नेपाली सेना, नेपाल प्रहरी, शिक्षण संस्थाका विद्यार्थी, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, स्थानीय नरनारी भक्तजनहरूको लामबद्ध हुने रुपमा सहभागी हुने   गर्दछन्  । जात्रा हेर्नकै लागि भनेर मंगलवा पाल्पा जिल्ला र छिमेकी जिल्लावाट ठूलो संख्यामा भक्तजनहरु आउने गर्दछन् भने  मन्दिरबाट निकालिएको रथयात्रा नगरका विभिन्न भागको परिक्रमा गर्ने र  यस अवसरमा भगवतिको जयजयकार गर्ने गरिन्छ ।
गुठी व्यवस्थापन समितिले ९ वटा विभिन्न उपसमिति गठन गरी विजय उत्सवलाई भव्य बनाउने तयारी गरेको  समितिका अध्यक्ष अशोकमान महर्जनले जानकारी दिनुभयो  ।

 विजय उत्सवको अघिल्लो दिन ८ बजे देखि मन्दिरमा विधिवत् पूजा सुरु गर्ने, भजन कीर्तन गर्ने, राती साढे ११ बजे देखि पौनी १२ बजे भित्र बजार घुमाउने रथलाई ३ पटकसम्म परिक्रमा गराउने र भगवतीको मूर्ति राख्ने कार्यक्रम छ ।

बिहीबारे साढे १२ बजे देखी १ बजेको बिचमा विजय उत्सव स्वरूप भगवतीको रथ उठाउने कार्यक्रम तय भएको छ । जात्रामा लुम्बिनी प्रदेशका  मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र विशिष्ट अतिथिका रुपमा नेपाली सेनाका  बलाधिकृत रथी सरोज प्रताप रानाको सहभागिता रहने  बताइएको छ । जात्राको दिन प्रदेश सरकारले  सार्वजनिक बिदा दिएको छ ।

 पाल्पाको भगवती जात्रा र रथ यात्रा यस क्षेत्रकै विशिष्ट परम्परा वोकेको ऐतिहासिक र वीरतासँग जोडिएको परम्परा भएको हुनाले यस जात्रालाई राष्ट्रिय जात्रा र पर्वकै रुपमा लिइ सोही अनुसारको महत्त्व दिनुपर्ने यस क्षेत्रका वासिन्दाको भनाइ छ । पाल्पा क्षेत्र नं २ का सांसद ठाकुर गैरेले यो जात्रा पाल्पाको मात्र नभई अग्रेज साम्राज्यलाई पराजित गरेको इतिहाससँग पनि जोडिएको हुनाले सरकारले सोही अनुसार राष्ट्रिय पर्वकै मान्यता दिइ सोही अनुसार यस मन्दिरको संरक्षण इतिहासको जर्गेना र संरक्षणमा लाग्नुपर्ने बताउँ छन् ।

प्रतिक्रिया दिनुहोस्