टी २० को लोकप्रियता लगातार बढ्दै



काठमाडौं । यस वर्षमा अन्तर्राष्ट्रिय क्रिकेटका दुई ठूला प्रतियोगिता हुनेमा एउटा एशिया कप यही बुधबारदेखि शुरु भइसकेको छ । अर्को क्रिकेट विश्वकप अक्टोबरमा भारतमा शुरु हुनेछ । यी दुबैको फरम्याट ५०–५० ओभरको हो ।

एशिया कपअन्तर्गत मुलतानमा भएको पाकिस्तान र नेपालबिचको खेलमा दर्शक लगभग कमै देखियो । आयोजक टोली पाकिस्तानका स्टार खेलाडी खेलिरहँदा पनि दर्शक न्युन देखिने भनेको दर्शकको झुकाव टी २० तिर भएको स्पष्ट हुन्छ ।

टी २० क्रिकेटको फ्रेन्चाइजी लिग होस् वा अन्तर्राष्ट्रिय खेल होस्, जता जता खेल भएपनि अपार दर्शक उपस्थित हुने गर्छन् । तर, वानडेमा दर्शकसंख्या कम भइरहेको छ । यसले वानडे फरम्याट टी २० फरम्याटसँग पछि पर्दै गएको संकेत दिएको भन्न शायद गलत नहोला ।

यो आधारमा हेर्दा वानडे मात्रै होइन टेस्ट क्रिकेट फरम्याटको भविष्य खतरामा परिसकेको छ । यो क्रिकेटको लागि चिन्ताको विषय भएको पनि क्रिकेट विज्ञहरुले बताइरहेका छन् । इंग्ल्यान्डका स्पिनर मोइन अलीले पनि यो खतरा भएको एक अन्तर्वार्तामा बताएका थिए ।

अलीले यी दुबै फरम्याटको क्रिकेट बोरिङ भएको कारण बताए । उनले भनेका थिए—वानडे र टेस्ट क्रिकेट दुबै बोरिङ खेल भइसकेको छ । यो खेलमा समय धेरै लिने हुँदा धेरै जसो खेलाडीले टी २० तिर ध्यान दिइरहेका छन् ।

टी २० को शुरुवात

टी २० अन्तर्राष्ट्रिय क्रिकेटको शुरुवात सन् २००५ देखि भएको हो । यो १८ वर्षको अवधिभरि यो छोटो फरम्याटमा २२ सय १५ वटा अन्तर्राष्ट्रिय खेल भइसकेको छ । पाँच वर्ष अघिसम्म टी २० क्रिकेटको लागि खतरा देखिने भएको थियो ।

२००५ देखि २०१८ सम्म टी २० क्रिकेटमा ७ सय १७ वटा खेल खेलिएको थियो । यो तथ्यांकअनुसार वर्षमा औसत ५५ वटा खेल मात्रै भएको थियो । तर, पछिल्ला समय ५ वर्षमा १८ सय ४७ वटा टी २० खेल भए । यानि वर्षमा औसत १ सय ४२ वटा खेल भए ।

टी २० क्रिकेटका लागि २०१९ देखि सुनौला यात्रा सावित हुन पुगेको छ । तर, यो उपलब्धि वानडेमा हुन सकेन । २०१९ देखि अहिलेसम्म ५ सय ५५ वानडे खेल सम्पन्न हुँदा टी २० को १४ सय ९८ खेल भयो । यानि वर्षमा १ सय २० वानडे र ३ सय २५ टी २० खेल सम्पन्न भएका छन् ।

यो ५ वर्षमा टी २० खेलमा वर्षेनी ४ सय ९० प्रतिशतले बढेको छ भने त्यही वानडे खेलको संख्या वर्षेनी १५ प्रतिशतले घटेको छ । यस्तै टी २० अन्तर्राष्ट्रिय क्रिकेटको शुरुवातभन्दा पहिला १३ वर्षमा हरेक वर्ष औसत ४६ टेस्ट हुन्थ्यो । तर, २०१९ पछि यो संख्या घटेर ३९ टेस्टमा पुग्यो ।

वानडे हरेक वर्ष १ सय ४२ खेल हुनेमा यो घटेर १ सय २० संख्यामा सीमित हुन पुग्यो । तर, टी २० ले भने उछाल ल्याएको छ । यो फरम्याटमा वर्षेनी ५५ खेलबाट बढेर ३ सय २५ को संख्यामा पुगेको छ । यानि टी २० को उडान रकेटको झै भइरहेको छ ।

फ्रेन्चाइजी लिगको प्रभाव

टी २० को उडान यसरी वर्षै पिच्छे झन झन आकासिनेको मुख्य कारण विश्वभरि फ्रेन्चाइजी लिग शुरु हुनु हो । सन् २००८ मा भारतमा भारतीय प्रिमियर लिग (आईपीएल) को शुरुवात भयो । यो आईपीएल विश्वको पहिलो फ्रेन्चाइजी लिग हो । त्यस समयमा १४ फ्रेन्चाइजी टोलीले सहभागिता जनाएका थिए ।

अहिले यसको प्रभावले गर्दा हरेक वर्षमा धेरै देशमा फ्रेन्चाइजी लिग भइरहेको छ । फ्रेन्चाइजी लिगको प्रभाव यति सम्म भयो कि विश्वका स्टार खेलाडीले समेत यसमा खेल्न थाले । उनीहरुले अन्तर्राष्ट्रिय क्रिकेट छाडेर टी २० तिर आफ्नो ध्यान लगाउनु पनि यो फरम्याटले आकर्षित गरिरहेको भन्ने स्पष्ट छ ।

कयौं स्टार खेलाडीले समय भन्दा पहिला नै संन्यासको घोषणा गर्दै टी २० तिर ध्यान मोडेका छन् । यसको ज्वलन्त उदाहरण स्टार खेलाडी फाफ डुप्लेसिस हुन् । डुप्लेसिसले संन्यास लिँदा उनी दक्षिण अफ्रिकी टिमका कप्तान समेत थिए ।

डुप्लेसिसले फ्रेन्चाइजी लिगको टिमका लागि कप्तानी गर्छन् तर, आफ्नो राष्ट्रिय टिमका लागि कप्तानी गर्दैनन् र खेल्न पनि खेल्दैनन् । यस्तै इंग्लिस क्रिकेटर मोइन अलीले पनि टी २० मा धेरै खेल खेल्न टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए ।

टी २० मा धेरै देश संलग्न

सन् २०१९ देखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले धेरै भन्दा धेरै देशमा क्रिकेटलाई प्रवद्र्धन गर्न कोशिस गरेको छ । २००५ देखि २०१८ सम्म कूल २३ देशमा टी २० अन्तर्राष्ट्रि खेल आयोजना भएको थियो । पछिको समयमा ७८ देशलाई जोडेको छ भने नयाँ क्रिकेटको देशका लागि पनि टी २० मार्फत क्रिकेटमा लोभ्याउन सजिलो भइरहेको छ ।

टेस्ट क्रिकेटमा लामो समयदेखि खेले पनि कुनै प्रगति नभएको टिमहरु छन् । यसले पनि टेस्ट क्रिकेटमा मन लगाउन छोड्यो । बंग्लादेशले अहिलेसम्म गरी टेस्ट खेलेको २३ वर्ष भइसकेको छ । तर, बंगलादेशले स्तर पनि सुधार गर्न सकेको छैन । वानडे खेल्न टेस्ट भन्दा सहज छ भने टी २० त्यो भन्दा झनै सजिलो बनेको छ ।

ठूला १० टिमको तथ्य

टी २० क्रिकेट शुरु हुँदा त्यतिबेला १० देश मात्रै थियो । जसमा भारत, इंग्ल्यान्ड, अस्टे«लिया, वेस्ट इन्डिज, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र जिम्बावे रहेका थिए । यी देशका टिमहरुले टी २० को शुरुवातदेखि २०१८ सम्म १६ सय ६ वानडे अन्तर्राष्ट्रिय खेल खेले । तर, २०१९ पछि यी टिमहरुले खेलेको वानडे खेलको संख्या ३ सय ६१ मात्रै भएको छ । यानि वर्षेनि ७८ खेल मात्रै भयो । यो तथ्यले ठूला टिमहरुले वानडे खेलमा ३६ प्रतिशतले गिरावट आएको छ ।

टी २० फरम्याटमा यी १० टोलीले २००५ देखि २०१८ सम्म ५ सय ६७ खेल खेले । यो वर्षेनि ४४ खेल भयो । तर, २०१९ देखि अहिलेसम्म यी टोलीले कूल ४ सय २१ खेल खेलिसके । यो वर्षेनि ९१ खेल हुन आउँछ । यानि २०१९ पछि ठूला टिमहरुको टी २० खेलमा १०७ प्रतिशतले बढेको छ । यो तथ्यांकले यी ठूला टिमहरुले टी २० लाई प्राथमिकतामा राखेका छन् ।

पैसा नै ठूलो

टी २० मा झुकाव हुनुको मुख्य कारण पैसा नै हो । पैसा धेरै आउने भएको हुँदा विश्वका क्रिकेटरहरुले टी २० खेल्न थालेका हुन् । यसमा दिग्गज क्रिकेटरहरु पनि सामेल छन् । वानडे खेल भन्दा यसमा कमाई ज्यादा हुन्छ । वानडेमा ज्यादा कमाई छुट्टीको बेला, स्कूल, कलेज या अफिसमा रहेका समर्थकलाई रंगशालासम्म ल्याउन सके मात्रै हुन्छ । तर, टी २० मा यो बाध्यता छैन । टी २० अक्सर वानडे सकिने बेला शुरु हुन्छ । यो रातिसम्म चल्छ । त्यतिबेला स्कूल, कलेज र अफिस बन्द भइसकेको हुन्छ । यस्तो बेला उनीहरुले टी २० हेर्न फुर्सद पाउँछ ।

प्रतिक्रिया दिनुहोस्