गठबन्धन तोड्न चौतर्फी षड्यन्त्र भइरहेको प्रचण्डको दाबी



काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धन तोड्न चौतर्फी षड्यन्त्र भइरहेको दाबी गर्नुभएको छ । आठ दलीय गठबन्धनको सहारामा प्रधानमन्त्री बनेका प्रचण्ड सत्ता सहयात्री दलका नेताहरूको पछिल्लो व्यवहार र प्रतिपक्षको भूमिकालाई लिएर सशंकित बन्नुभएको हो ।

पार्टीको वागमती प्रदेश भेलालाई सम्बोधन गर्दै मंगलबार प्रचण्डले यस्तो शंका व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो– ‘यो गठबन्धन तोड्न धेरै कसरत भएका छन् । प्रतिक्रियावादी, अवसरवादीहरू र अतिवादीहरू अलि बढी विक्षिप्त भएर लागेका छन् । उनीहरूको अभिव्यक्ति सुन्नुभयो, उनीहरूको गतिविधि हेर्नुभयो भने विक्षिप्त भएको राम्रैसँग देख्न र सुन्न सक्नुहुन्छ । कसरी यो सरकारलाई बद्नाम गर्न सकिन्छ भनेर षड्यन्त्र गरिरहेका छन् ।’ यद्यपि, उहाँले गठबन्धन नतोडिनेमा कार्यकर्तालाई आश्वस्त पार्दै भन्नुभयो– ‘गठबन्धन तोड्न जो जसरी लागे पनि कसैको केही लाग्ने मैले देखेको छैन । ठूलो दुर्घटना भएन भने यो गठबन्धन ५ वर्ष जान्छ । गठबन्धन तोड्न जति बल गर्छन्, त्यति नै जनताको नजरमा गिर्दै जाने छन् ।’

सत्ताको प्रमुख साझेदार दल नेपाली कांग्रेसका एकाथरि नेताहरू निरन्तर सरकारको आलोचनामा उत्रिएका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सत्ता गठबन्धनलाई कसरी भत्काउन सकिन्छ भनेर अनेकन उपायहरू खोजिरहेको छ । यही परिवेशमा प्रधानमन्त्री प्रचण्डले गठबन्धन लामो समय टिक्ने भन्दै कार्यकर्ताहरूलाई आश्वस्त पार्न खोज्नुभएको हो ।

पछिल्लो समयमा सरकारलाई समर्थन गरेका दलहरू सरकारको कामप्रति सन्तुष्ट देखिएका छैनन् । यही मौकामा गठबन्धन फुटाउने कसरतमा लागेको प्रतिपक्ष दल एमालेले गठबन्धनका असन्तुष्ट नेताहरूको पक्षमा सदनदेखि सडकसम्म आवाज उठाइरहेको छ । सुन काण्डको विषयलाई लिएर सदनबाट अर्थ र गृह मन्त्रीको राजीनामा मागेका कांग्रेस नेता सुनिल शर्मालाई पक्राउ गरेको विषयमा एमालेका अध्यक्ष केपी ओलीले सदन तताउनुभएको थियो । उहाँले शर्मालाई नक्कली प्रमाणपत्रका नाममा नक्कली उजुरी हाल्न लगाएर पक्राउ गरी सुन तस्करीलाई छाँयामा पार्न खोजेको टिप्पणी गर्दै सरकारको विरोध गर्नुभएको थियो । सरकारका पछिल्ला सबैजसो गतिविधिहरूमा एमालेले चर्को विरोध जनाउँदै आएको छ भने सत्ता पक्षका सांसदहरूले समेत सरकारलाई प्रश्न गर्दै आएका छन् । मंगलबारको संसद् बैठकमा समेत कांग्रेस सांसद चन्दा चौधरीले कांग्रेसका नेताहरूलाई मात्रै प्रमाण नै नपुगी भ्रष्टाचारी करार गरेको भन्दै असन्तुष्ट जनाउनुभयो । संसद्को विशेष समयमा बोल्दै चौधरीले प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो –‘भ्रष्टाचार नै नगरी फेक न्युजका भरमा हाम्रा नेताहरूमाथि कारबाही हुने तर, माओवादीसहित अन्य दलका नेताहरूको प्रमाण भेटिँदा पनि दूधले धोएर, चोख्याएर घरमा राख्ने ?’ उहाँले सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले सुन तस्करीमा जोडिएका आफ्ना नेताहरूलाई जोगाउने र सस्तो लोकप्रियताका नाममा कांग्रेसका नेताहरूलाई प्रमाण नै नपुगे पनि जबरजस्ती दोषी करार गराउन खोजेको आरोप लगाउनुभयो ।

तर, प्रधानमन्त्री प्रचण्डले भने संसद्मा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास र सुन तस्करी सञ्जाल तोड्ने अभियानमा सरकार लागेको दाबी गर्नुभयो । उहाँले सरकारले सुशासनलाई प्राथमिकतामा राखेर भ्रष्टाचारमा संलग्नहरू कसैलाई नछाड्ने बताउनुभए पनि त्यसलाई सत्तापक्षकै सांसदहरूले सस्तो लोकप्रियताका रूपमा टिप्पणी गरेकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकार सुशासन कायम गर्न चाहन्छ भन्दै प्रधानमन्त्रीका सल्लाहकार हरिबोल भट्टराईले भन्नुभयो– ‘प्रधानमन्त्रीले कसैलाई पनि नछाड्ने भनेर लाग्नुभएको छ । तर, सरकारपक्षकै सांसदहरूले यसरी हल्का रूपमा लिएर सस्तो लोकप्रियताका रूपमा व्याख्या गर्नु उचित हुँदैन ।’ सबै पक्षको सहयोगमा सरकाले भ्रष्टाचारलाई नियन्त्रण गर्न सक्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्