मिर्गौलामा पत्थरी: ‘नौलो प्रविधिको उपचारले खुसी भयौं’



काभ्रे।

सिन्धुली कमलामाई ३९ वर्षीया निता गौतम दोश्रो पटक मिर्गौलामा देखिएको १० एमएम साइजको पत्थरी निकाल्न धुलिखेल अस्पताल आइपुगिन्  । चार वर्ष अघि गौतमको मिर्गौलाबाट १९ एमएमको पत्थरी निकालिएको थियो । गौतम जस्तै धुलिखेल अस्पतालमा मंगलबार एकैदिन भक्तपुर कमलविनायक घर भएकी २८ बर्षिया विनीता अवाल र पाँचखाल ३ घर भएकी २१ बर्षिया अनिता तामाङको मिर्गौलामा रहेको पत्थरी नौलो प्रविधिबाट फुटाइएको छ ।

‘पहिले १९ एमएमको मिर्गौलामा रहेको पत्थरी फुटाउन चिर्नु परेको थियो, अप्रेसन गर्दा भएको घाउ लामो समयसम्म निको नहुँदा बेहोर्नु परेको सास्ती भनिसाध्य छैन’– निता गौतमले भनिन–‘चारवर्षमा नै पुनः निरन्तर पेट दुखेकाले परीक्षण गर्दा १० एमएमको पत्थरी मिर्गौलामा देखिएकाले अस्पताल आएँ । अस्पतालले सुरु गरेको मिर्गौलाको पत्थरी फुटाउने नौलो प्रविधिबाट आज मंगलबार पत्थरी निकालिएको छ । विगतको तुलनामा धेरै सहज भयो । मलाई पत्थरी निकालेको प्रविधि यो पटक धेरै सहज र सरल भएको अनुभूति भयो ।’

भक्तपुर कमलविनायक घर भएकी २८ बर्षिया विनीता अवालको मिर्गौलामा १३ एमएमको पत्थरी देखियो । स्वास्थ्य कार्यालय भक्तपुर हुँदै धर्मभक्त अस्पताल पुग्दा समेत धुलिखेलमा अस्पतालमा भएको नयाँ प्रविधिका बारेमा जानकारी भयो । त्यही प्रविधिबाट उपचार गराउन धुलिखेल आउँदा अवाल दंग परिन् । उनकै माइजूको समयमै पत्थरी ननिकाल्दा मिर्गौला नै निकाल्नु परेको कारुणिक घटना सम्झेर पनि विनीता समयमै अस्पताल आइपुगिन्  । नयाँ प्रविधिबाट मिर्गौलामा भएको पत्थरी निकालिँदा विनीताको अनुहारमा खुसीको सीमा छैन ।

 पाँचखाल ३ घर भएकी २१ बर्षिया अनिता तामाङ अविवाहित हुन् । निरन्तर ढाड र पेट दुखेर अस्पताल पुगेकी अनितालाई मिर्गौलामा १३ एमएमको पत्थरी भएको जानकारी भयो । धुलिखेल अस्पतालले गरेको नौलो प्रविधिको उपचारले सहज र सरल भएको अनिताले बताइन् । उनीहरू तिनै जनाको बुधवार डिस्चार्ज हुन्छ । अस्पतालले सुरु गरेको नौलो विधिको उपचार विधिबाट खुसी र सन्तुष्ट भएको उनीहरूले बताएका छन् ।

यस्तो विधिको उपचारबाट पछिल्ला चार महिनामा एक सय भन्दा धेरैले उपचार पाएको अस्पतालका युरोसर्जरी विशेषज्ञ डा. सुजन माकजुले बताए । स्वास्थ्य विमा गरेका नागरिकहरूले यो विधिको सेवा लिँदा २० देखि ३० हजार रुपैयाँसम्म तिर्नु पर्नेछ भने अन्यको हकमा ७५ हजारसम्म लाग्ने छ । यही विधिको सेवा निजी अस्पतालबाट लिँदा ६ लाख रुपैयाँसम्म तिरेको सेवाग्राहीले बताए । धुलिखेल अस्पतालमा कम शुल्कमा गुणस्तरीय र प्रविधिमैत्री सेवा सुरु गरेकोमा खुसी लागेको बिरामी विनीता अवालले बताइन् ।

के हो यो विधि ? 

मिर्गौलाको पत्थरी फुटाएर निकाल्ने नौलो प्रविधि हो आरआईआरएस विधि । यस प्रविधिमा अप्टिकल फाइबरयुक्त दूरबिन प्रयोग मूत्र नली मार्फत  पठाएर मिर्गौलामा रहेको पत्थरी पत्ता लगाई लेजर प्रविधिबाट मिर्गौलामा रहेको पत्थरीलाई फुटाएर बाहिर निकालिन्छ । यस प्रविधिमा प्रयोग हुने दूरबिन (इण्डोस्कोप) लचिलो खालको भएकोले मुत्र प्रणाली भित्रका बाङ्गा टिङ्गा नलीमा छिराउन सजिलो हुन्छ ।यो इण्डोस्कोप पिसाब खुल्ने प्वालबाट छिराई मिर्गौलासम्म पु¥याउन सकिने भएकोले पेटमा कुनै घाउ बनाई राख्नु पर्दैन । मिर्गौलामा पत्थरीको समस्या हुँदा विभिन्न तरिकाले व्यवस्थापन गरिँदै आएको छ ।

 नेफ्रोलिथोटोमी परम्परागत एवं पुरानो तरिकामा पेटको साइडमा ठुलो घाउ पारेर मिर्गौलाको पत्थरी निकालिन्छ । यसक्रममा मिर्गौला पनि चिर्नु पर्ने भएकोले यो उच्च जोखिम हुनुका साथै सङ्क्रमण (घाउ र पिसाबको) हुनसक्ने, अस्पताल बसाई लामो हुने, पीडा पनि निकै हुने हुन्छ । करिब २०, ३० वर्ष अघिसम्म यसको खासै विकल्प पनि थिएन । पाइलोलिथोटोमी शल्यक्रिया माथिको जस्तै तर यसमा मिर्गौलाको सट्टा मिर्गौलामा मूत्रनली (युरेटर) जोडिएको भागमा घाउ पारेर मिर्गौलामा रहेको पत्थरी निकालिन्छ । शल्यचिकित्सकहरुको लागि नेफ्रोलिथोटोमी भन्दा सहज हुने भए पनि माथि उल्लेखित जटिलताहरुका साथै यस्तो खालको शल्यक्रिया पछि मूत्र नली साँगुरिने, फेरि फेरि पत्थरी बन्ने, मिर्गौला फुल्ने, बिस्तारै मिर्गौलाले काम गर्न छोड्ने (फेलखाने) जस्ता थप जटिलता उब्जिन सक्छ । ल्यापारोस्कोपी यसमा ठुलो घाउको सट्टा सानो प्वाल मार्पmत् ल्यापारोस्कोप (दूरबिन) छिराई मिर्गौलाको पत्थरी निकालिन्छ । यसमा सङ्क्रमण जोखिम कम, अस्पताल बसाई छोटो भए पनि मूत्र नली साँगुरिने जोखिम कायम नै हुन्छ ।

एक्स्ट्रा कर्पोरियल शकवेभ शरीर बाहिरबाट उपकरणका माध्यमबाट निरन्तर झट्का पठाई मिर्गौलाको पत्थरी फुटाइन्छ । जुन पिसाब फेरेसँगै बाहिरिन्छ । तर यो प्रविधि सबै खाले पत्थरीलाई काम लाग्दैन भने गर्भवती महिला, उच्च रक्तचाप, रगत पातलो हुने औषधि लिइरहेका बिरामीको लागि उपयुक्त हुँदैन । नरम खालका एवं १५ मिलिटिर भन्दा साना पत्थरीलाई मात्र उपयुक्त हुन्छ । यस उपचारको क्रममा मिर्गौलामा रगत जम्ने, पेटमा निलडाम बस्ने र सबै पत्थरी फुटाउन नसकिने पनि हुनसक्छ । त्यसैले धेरै पटक दोहो¥याउनु पर्ने, फुटाइएको पत्थरीको टुक्रा मूत्र नली तिर सरेर पीडा हुने, पिसाब रगताम्य हुने, रक्तश्राव हुने, पिसाबको बहावमा अवरोध खडा हुने (त्यसैका लागि फेरि मूत्रमार्गबाट दूरबिन छिराई पत्थरीको टुक्राहरु झिक्नुपर्ने) हुन्छ भने ठुलो खाले पत्थरीको लागि उपयुक्त छैन ।

आरआईआरएस प्रविधिमा बिरामीलाई पूरै बेहोस बनाई वा शरीरको आधा भाग मात्र बेहोस बनाई पिसाब नलीको प्वालबाट दूरबिन छिराई पिसाब थैली, मूत्र नली हुँदै भित्रभित्रै मिर्गौलासम्म पुगी त्यहाँ रहेको पत्थरीको अवस्थिति पत्ता लगाएर लेजर प्रविधिले निकै स–साना टुक्रा पारिन्छ । त्यसरी टुक्राएका पत्थरीहरु बास्केट (धोक्रो) मा जम्मा पारी बाहिर ल्याइन्छ । सबै पत्थरी निख्रियो, निख्रिएन भनेर विशेष खालको एक्सरे (फ्लुओरोस्कोप) र दूरबिनबाट चेक जाँच गरिन्छ । प्रक्रिया सकिए पछि मूत्रनलीमा विशेष खालको पाईप (डिजे स्टेण्ट भनिने) २, ३ हप्ता राखिन्छ । बिरामीलाई ४, ५ घण्टा पछि खान दिइन्छ । अर्को दिन अस्पतालबाट डिस्चार्ज गरिन्छ ।

यसका फाइदा घाउ बनाउनु पर्दैन, चाँडै तङ्ग्रिन्छ, पीडा कम, छोटो अस्पताल बसाई, मिर्गौला बिग्रिने वा चोट पुग्ने जोखिम कम, दुवै मिर्गौलामा एकै सेटिङमा गर्न सकिन्छ । यसको बेफाइदा भनेको अलि महँगो प्रविधि हो । समय बढी लाग्यो भने पिसाब नलीको सङ्क्रमण हुने, दुई सेमीभन्दा ठुलो पत्थरी वा अदुवा जस्तो बाङ्गोटिङ्गो खालको पत्थरीलाई काम लाग्दैन । पत्थरी २ सेमीभन्दा सानो, पटक पटक पत्थरी भइसकेकोमा, मूत्रनलीको पत्थरी, गुजुल्टिएको मूत्र नली भएका, पुट्ठाको जोर्नीमा समस्या भएर खुट्टा खुम्च्याउन नसक्ने खालको पत्थरीको विरामीमा, रगत पातलो हुने औषधी लिइरहेकालाई उपयुक्त हुन्छ ।

तुलनात्मक रुपमा आरआईआरएस प्रविधि महँगो भए पनि घाउ वा पिसाबको सङ्क्रमण, अस्पताल बसाई, काममा फिर्ती, झण्झट, पीडा, तनावको हिसाबले समग्रमा यो प्रविधि नै किफायती हुन जाने युरो सर्जन डा. सुजन माकजूले बताए । स्त्रीरोग विशेषज्ञ प्रा.डा. सुमनराज ताम्राकारले धुलिखेल अस्पतालले विभिन्न रोगको उपचारका लागि अस्पतालले प्रविधि र विशेष सेवा उपलब्ध गराइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्