घान्द्रुकमा प्रशोधन केन्द्र स्थापनासँगै निकम्मा बनेको तीतेपाती उपयोगमा आउँदै



कास्की ।

पर्यटकीय घान्द्रुक गाउँका पाखाभरि निकम्मा बनेको तीतेपाती अब भने उपयोगमा आउने भएको छ । स्थानीयले करिब १ करोडको लगानीमा घान्द्रुकस्थित उरीमा तीतेपाती प्रशोधन केन्द्र स्थापना गर्ने भएपछि निकम्मा बनेको तीतेपाती उपयोगमा आउने भएको हो । प्रशोधन केन्द्रले तीतेपातीबाट तेल उत्पादन गर्न लागेपछि स्थानीयहरू समेत उत्साहित भएका छन् ।

हिमालय एग्रो तथा जडीबुटी बहुउद्देश्यीय कृषक समूह, घान्द्रुकले तीतेपातीलाई प्रशोधन गरी सुगन्धित तेल उत्पादनको तयारी थालेको छ । तेल उत्पादनका लागि कच्चा पदार्थका रूपमा प्रयोग हुने तीतेपाती गाउँमै प्रशस्त रहेको विज्ञहरूको भनाई छ । ‘एक पटक काटेको तीतेपाती तीन महिनामा पुनः काट्न योग्य हुन्छ,’ कृषि वैज्ञानिक डम्बर गुरुङले भने । वर्षमा ४ पटकसम्म काट्न पाइने भएपछि प्रशोधन केन्द्रलाई आवश्यक पर्ने तीतेपाती पर्याप्त हुने भएकाले तेल उत्पादनमा कमी नहुने कृषि वैज्ञानिक गुरुङको भनाई छ । उनका अनुसार पाँच सय किलो तीतेपातीबाट १ लिटर तेल उत्पादन हुन्छ ।

गाउँमै तीतेपाती प्रशोधन केन्द्र स्थापना भएपछि निकम्मा बनेको तीतेपाती प्रति के जी ४ रुपियाँमा बिक्री हुने भएको छ । प्रशोधन केन्द्रले गाउँमै रोजगारीको सिर्जना समेत भएको सञ्चालक समितिका सदस्य ललित गुरुङले बताए । नेपालमा १२ प्रकारको तीतेपाती पाइने तीतेपाती बिज्ञ डम्मर बहादुर गुरूङ बताउँछन् । स्थानीय समेत रहेका गुरुङले भने, ‘तीमध्ये दुई प्रकारका तीतेपातीबाट तेल निकाल्न सकिँदैन, घान्द्रुकमा तीन प्रकारका तीतेपाती रहेको र ती सबैबाट राम्रो तेल निकाल्न सकिन्छ । तीतेपातीको सम्पूर्ण भागबाट तेल निकाल्न सकिन्छ, सबैभन्दा बढी पातबाट त्यसपछि डाँठबाट तेल निस्किन्छ ।’ उनीसँग धेरै थरीका जडीबुटी प्रशोधन गरी तेल निकालेको अनुभव छ । चितवन बसेर २० वर्षदेखि जडीबुटी प्रशोधन गरी तेल निकालेका गुरुङले आफ्नै गाउँ फर्किएर तीतेपाती प्रशोधन गर्न लागेका छन् ।

‘अहिलेसम्म आफूलाई मात्र काम गरेँ, अब सामाजिक रूपमा पनि काम गरौँ भनेर आफ्नै जन्मस्थानमा कृषि समूह बनाएर सबैलाई समेटेर सस्टेनेवल एग्रिकल्चरको कामलाई अगाडी बढाएको हुँ,’ उनले भने, ‘गाउँका धेरै मान्छे विदेश वा सहर पसेर गाउँका खेतबारीमा तीतेपाती उम्रिएको छ । हामीलाई तीतेपाती कहाँबाट जोहो गर्ने भन्ने चिन्ता पनि छैन ।’

प्रशोधन केन्द्रमा उपकरण जडान गर्ने कार्य भइरहेको छ । उपकरण जडानका गर्नु अघि स्थानीय परम्परागत चलन अनुसार पच्यु खेगी जगन प्रसाद गुरुङबाट “छ्योप धें“ पूजा समेत गरिएको कृषक समूहका सचिव पूर्ण गुरुङले बताए ।

तीतेपातीको तेलले पचासौँ थरीका रोग निको पार्ने

तीतेपातीको तेलले चर्म रोग लगायतका विभिन्न पचासौँ थरिका रोग निर्मूल पार्ने विज्ञहरू बताउँछन् । चोटपटक लागेर बगेको रगत बन्द गर्न, विभिन्न थेरापीमा प्रयोग गर्न, रुघाखोकी निराकरण, जीउको विभिन्न ठाउँको दुखाई कम गर्न, छालासम्बन्धी समस्या निराकरण गर्न, काखी गन्हाउने समस्याको समाधान, खोकी लाग्दा, शरीर दुख्दा, लुतो खटिरा आउँदा यसले निको हुन्छ ।
त्यस्तै, डन्डिफोरको निराकरण, यौनाङ्गमा देखा पर्ने छालासम्बन्धी समस्याको उपचार गर्न सकिन्छ । तीतेपातीको तेलमात्रै होइन पात नै पकाएर खाए पनि धेरै रोग निको हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्