डेंगु नियन्त्रण गर्नका लागि लार्भा नष्ट गर्दै काठमाडौं महानगर



काठमाडौं ।

काठमाडौं महानगरपालिकाले डेंग रोग नियन्त्रणका लागि लार्भा नष्ट गर्न ६४ जना नगर प्रहरी खटाइएको छ ।

नगरबाट खटिएको टोलीले लार्भिसाइडसहित हरेक वडामा गएर पानी जमेको ठाउँमा खोज्ने र लार्भिसाइड छर्किने कार्यक्रम रहेको जानकारी गराउँदै सोमबार राष्ट्रिय सभा गृहबाट तालीमप्राप्त जनशक्ति खटाएर डेंगु नियन्त्रण कार्यक्रम आरम्भ गरेको छ ।

अभियानका बिषयमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सबै मिलेर मात्र डेंगु नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो—‘हामी सार्वजनिक ठाउँमा लामखुट्टेको बासस्थान नष्ट गर्छौँ, तपाई (आम सर्वसाधारणले) घरमा पानी जम्न नदिएर हामीलाई सहयोग गर्नोस् । यसले तपाईँलाई डेँगीबाट बचाउनेछ ।’ हरेक व्यक्ति महामारीको सम्भावित जोखिमका विषयमा सजग हुने हो भने ठूलो खतरा सजिलै टार्न सकिन्छ । डेंगु नियन्त्रणका लागि चलाइएका नियमित कार्यक्रमहरु यथावत छन् ।

स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले सबैजना मिलेर डेंगु नियन्त्रण गर्न यो अभियान चलाएको बताउनुभयो । पानी जमेको ठाउँमा लामखुट्टेले अण्डा पार्ने, बच्चा जन्माउने हुनाले त्यहि नष्ट गरेर डेंगुबाट फैलन सक्ने महामारी नियन्त्रण गर्न यो अभियान थालिएको हो ।

विशेषगरी काठमाडौं महानगर पालिकाले पानी जमेको ठाउँ, सडक पेटीका खाल्टाखुल्टालाई लामखुट्टे नियन्त्रणको लक्ष्य बनाएर अघि बढेको जनाएकोछ । महानगरपालिकाले वायो लार्भिसाइड लामखुट्टेको लार्भा नष्ट गर्न प्रयोग गरिने जैविक औषधि भएको जानकारी गराएकोछ ।

औषधिले डेंगुसहित, फिलारिया, औलो (मलेरिया), चिकगुन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुने जानकारी गराईयो । महानगरपालिकाका ६४ जनालाई दिईएको तालिममा महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति ऋषिप्रसाद भुषालले, छर्कने उपकरणको प्रयोग, यसमा राखिने पानी र औषधिको मात्रा लगायत विषयमा प्रयोगात्मक जानकारी दिनुभएको थियो । लामखुट्टे नष्ट गर्न १० लिटर पानीमा २ सय ५० मिलिलिटर औषधि प्रयोग हुने जानकारी गराईयो ।

काठमाडौँ महानगरपालिकाले गतबर्ष डेंगु महामारीका कारण नगरमा फैलिएको महामारीलाई ध्यानमा राखी यो बर्ष बर्षाद्याम शुरु भएसँगै वडास्तरीय र जनसहभागितामूलक कार्यक्रमहरु गरिरहेको जनाएकोछ । पालि

साथै डेंगु रोगका बारेमा जनचेतना जगाउँनुका साथै परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० नम्बर २४ सै घण्टा सञ्चालनमा रहेको पनि जानकारी दिएकाे छ । त्यसैगरी बिरामीलाई अस्पताल जानु परे १०२ नम्बरमा कल गरि निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको पनि जानकारी गराएकाे छ ।

प्रतिक्रिया दिनुहोस्