बन्दीको शंकास्पद मृत्यु प्रकरणका कारण बाल सुधार गृहको अवस्था तनावपूर्ण 

भागेका २२१ मध्य १९४ बन्दी नियन्त्रणमा



भक्तपुर । 

भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहबाट विभिन्न अपराधमा संलग्न भई यहाँ राखिएका २९९ मध्य २२१ जना बालबालिका तथा किशोरहरू भागेका छन् । जसमध्ये १९४ जनालाई प्रहरीले काठमाडौँ र भक्तपुरबाट नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले भागेकामध्ये १९४ जनालाई प्रहरीले काठमाडौँ र भक्तपुरबाट नियन्त्रणमा लिएको बताए ।सम्पर्कमा आउन बाँकी २७ जनाको खोजी कार्य पनि तीव्र पारिएको उनले बताए  ।

ती मध्ये ६० भन्दा बढीलाई नियन्त्रण लिएर बानेश्वर प्रहरी वृत्तमा राखिएको छ । भागेका व्यक्तिलाई नियन्त्रणमा लिन उपत्यकाका ३ वटै जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ ।

बाल सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षीय कमल बस्नेतको मृत्युलाई लिएर उत्पन्न तनावकाबीच आज प्रदर्शनका क्रममा उनीहरू सुधार गृहको ढोका फोरेर भागेका सुधार गृहले जनाएको छ ।

सुधार गृह प्रशासन र प्रहरीमाथि कारबाहीको माग गर्दै  घरेलु हतियार सहित उनीहरु विरोधमा उत्रिएका थिए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार फरार भएका उनीहरूको खोजीका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।
सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीलाई समेत आक्रमण गरेर उनीहरु भागेका भन्दै प्रजिअ रिजालले खोजीका लागि उपत्यकाका तीन वटै जिल्लामा प्रहरी परिचालित भएको बताए ।

सुधार गृहमा २९९ जना बन्दी रहेकोमा हाल ४३ जना किशोरी र साना बालक बन्दी मात्रै सुधार गृहमै रहेको र बाँकी भागेको प्रजिअ रिजालले जानकारी दिए ।
बस्नेतको मृत्यु शंकास्पद भन्दै सुधार गृह भित्रका बाल बन्दीहरुले नाराबाजी गर्दै सुधार गृहको कम्पाउण्डको मुलढोका फोडेर बाहिर निस्किने र प्रहरी माथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड गोली चलाएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

सुधार गृहमा सशस्त्र प्रहरी बलको टोलीले सुरक्षा दिइरहेको छ । सुधार गृहमा भएका बन्दीहरुले प्रहरी माथि आक्रमण गरी मुलढोका फोडेर बाहिर निस्कन थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले गोली चलाएको बताइएको छ ।

प्रदर्शनको क्रममा झडप हुँदा ६ जना बन्दी र १२ जना सुरक्षाकर्मी घाइते भएका छन् ।सुरक्षाकर्मीसँग झडप हुँदा ६ जना बन्दी र प्रहरी निरीक्षक सञ्जीव ओलीसहित १२ जना सुरक्षाकर्मी घाइते भएका हुन् । ओलीको अहिले मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ ।जम्मा १९ जना सुरक्षाकर्मी घाइते भएको र भित्रका केही कैदीबन्दी पनि सामान्य घाइते भएको बुझिएको छ ।

यस्तै घाइते बन्दीमध्ये एक जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । अन्यलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

बन्दीहरुले सुधार गृह बाहिर निस्केर प्रहरी माथि आक्रमण गर्दै लखेटेको प्रत्यक्षदर्शीको भनाई छ । अहिले यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएको छ ।
सुधार गृहमा सजाय भुक्तान गरिरहेका बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो । सोही विषयमा सुधार गृहको लापरबाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधार गृह बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

बाहिरी उक्साहटमा लागेर उपद्रो नगर्न भन्दै  प्रमुख जिल्ला अधिकारी रिजालले छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउने भएकाले संयमित बन्न र कानुन बाहिर नजान बन्दी र आफन्तजनमा आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बस्नेतको मृत्यु सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा छानबिन समिति गठन गरिसकेको छ ।

समितिमा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) बसन्त पाठक र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य एवम् जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोक कुमार पोखरेल सदस्य सचिव रहेका छन्  ।

समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी तोकिएको छ । समिति बनेपछि बाहिरको प्रदर्शन केही मत्थर भएको थियो । परिवारले अनुसन्धानका लागि जाहेरी दिने सहमति समेत भएको प्रमुख जिल्ला अधिकारी रिजाल बताउछन्  तर जाहेरी नपरेको बरु कारागारभित्र तोडफोड र प्रदर्शन समेत भएको छ ।

बस्नेत बिरामी भई उपचारका लागि मध्यपुर थिमि ३, गठ्ठाघरस्थित नागरिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
आइतबार बस्नेतको मृत्युपछि बाल सुधार गृह तनावपूर्ण बनेको थियो । बाल सुधार गृहभित्र रहेका  थुनुवा र बाहिर रहेका आफन्तले नाराबाजी गर्नुका साथै तोडफोडको प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको हो ।

सुधार गृहले परिवारलाई मृत्यु भएको खबर दिएको भएपनि मृत्युको कारण पुस्ट्याइँ हुन नसकेको भन्दै आफन्त आक्रोशित भएका हुन् ।सुधार गृहका कर्मचारीले बस्नेतलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पताल लगे पनि अस्पताल पुग्नुअघि नै मृत्यु भएको परिवारका सदस्यहरूले दाबी गरेका छन् ।

अदालतको आदेशले बस्नेत २०७७ सालदेखि बाल सुधार गृहमा थिए । मृतकको शव पोस्टमार्टमका लागि काठमाडौँ मेडिकल कलेजमा पठाइएको डीएसपी पाठकले बताए ।प्रारम्भिक अनुसन्धानमा शंकास्पद देखिँदैन तर पोस्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान अघि बढ्ने उनले बताए ।

यूसेप नेपालको व्यवस्थापनमा नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको बाल सुधार गृहमा क्षमताभन्दा बढी बालबन्दीहरु रहेका छन् । यहाँ २१० जनाको क्षमता रहेपछि विभिन्न अपराधका घट्नामा परेर सुधार गृहमा रहेका ४३ जना केटी र २५७ जना केटा गरी हाल २९९ बन्दी रहेका यूसेप नेपालका निर्देशक केशव सुवालले जानकारी दिए ।

बालबालिकालाई मात्रै सुधार गृहमा राख्ने नियम भएपनि १८ उमेर नाघेकालाई सरकारले कारागारमा पठाउने व्यवस्था नगर्दा सुधार गृहमा १८ वर्षभन्दा माथि उमेरका समेत रहेका छन् । सुधार गृहमै खाने, बस्ने, खेल्ने, पढ्ने लगायतको सुविधा सरकारले दिएको छ । सुधार गृह भित्रै रहेको विद्यालयमा कक्षा १० सम्मको अध्ययन हुने गरेको निर्देशक सुवालले जानकारी दिए ।

बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार १८ वर्षमुनिका कुनै व्यक्तिले फौजदारी अपराध गरेमा बाल सुधार गृहमा राख्ने व्यवस्था गरेको छ । सानोठिमीस्थित सुधार गृह युसेप नेपाल नामक संस्थाले चलाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्