लमजुङ : आँखा पाक्ने रोगबाट दुईहजार भन्दा बढी सङ्क्रमित 



लमजुङ । 

लमजुङमा आँखा पाक्ने रोगबाट सङ्क्रमित हुनेको संख्या २ हजार नाघेको छ । स्वास्थ्य कार्यालय लमजुङका अनुसार जिल्लाका विभिन्न स्थानीय तहहरुमा गरी २ हजार सात सय ४८ जनामा सो रोगको सङ्क्रमण भएको हो ।

कार्यालयका अनुसार जिल्लामा सबैभन्दा धेरै सुन्दरबजार नगरपालिकामा आँखा पाक्ने रोग सङ्क्रमण फैलिएको छ । सुन्दरवजारमा मात्रै नौ सय १२ जनामा सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ  ।

सो बाहेक जिल्लाको मस्र्याङदीमा ५ सय ५०  जना, मध्य नेपालमा चारसय ५७ जना, राईनासमा चारसय ८, बेसीशहरमा दुईसय ५० जनामा आँखा पाक्ने रोगको सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै दोर्दीमा ९३ जना, क्होलासोँथारमा ५३ र दुधपोखरीमा २५ जनामा सङ्क्रमण भएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

पछिल्लो समय बेंसीशहर नगरपालिका सँगै जिल्लाका अधिकांश क्षेत्रमा आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दै गएको छ । आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दै जान थालेपछि अस्पतालमा बिरामीको सङ्ख्या पनि दैनिक बढ्न थालेको अस्पतालले जनाएको छ ।

कतिपयको आँखा सुनिएर हेर्न नमिल्ने समेत हुने गरेको छ । आँखा गुलाफी वा रातो देखिने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने लगायतका लक्षण देखिएमा आँखा पाकेको हुनसक्ने भएकोले समयमै स्वास्थ्य संस्थामा पुग्नुपर्ने चिकित्सकको सुझाव छ । बिरामीको परेला सुन्निने, आँखामा केही बिझाए जस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिने चिकित्सकहरुले बताएका छन् । रोगको सङ्क्रमण सबैभन्दा धेरै बालबालिका देखिएको छ ।

बढ्दो प्रदूषण र बर्सातका कारण अहिले देशका अधिकांश भागमा आँखा पाक्ने रोगबाट धेरै मानिस सङ्क्रमित भइरहेका छन् । बर्षातको समयमा तापक्रम बढी हुने र पानीको माध्यमबाट भाइरस तथा ब्याक्टेरियाको सङ्क्रमण जताततै बढ्ने सम्भावना रहेकाले यो समयमा बढी सतर्कता अपनाउनु पर्ने चिकित्सकको सुझाव छ ।

चिकित्सकका अनुसार भाइरस वा ब्याक्टेरियाबाट हुने यो रोग एकजनालाई हुनासाथ पूरा परिवारमा फैलिने सम्भावना अत्यधिक रहेको हुन्छ । त्यसकारण आँखा पाक्ने रोगबाट पीडित बिरामीले सार्वजनिक स्थल, भिडभाड, विद्यालय, कलेज तथा मानिसको जमघट भएको स्थानमा नजानु नै राम्रो हुन्छ । तर, एलर्जीबाट हुने सङ्क्रमण भने एकबाट अर्कोमा सर्ने सम्भावना निकै कम रहेको हुन्छ ।समयमै उपचार भएन भने आँखाको नानीमा घाउ हुने तथा आँसु आइरहने र लामो समयसम्म पनि औषधि नगरेमा आँखाको ज्योति नै गुम्न सक्ने चिकित्सकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्