डेंगु नियन्त्रण गर्न कामपाको सक्रियता, नेपालमै पहिलोपटक ब्याक्टोपावर प्रयोग गर्दै



काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रण गर्न पहिलोपटक वातावरणमैत्री, हानिकारक र विषादीमुक्त ब्याक्टोपावर (बीटीआई) प्रविधि प्रयोग गर्ने भएको छ । यो लामखुट्टे नियन्त्रण गर्ने ब्याक्टेरिया बायो लार्भिसाइड हो । कामपाले प्रयोग गर्न लागेको यो प्रविधिबाट डेंगु, मलेरिया, चिकन्गुनीया, फिलारिया तथा जिकालगायतका सबै प्रजातिका लामखुट्टेको लार्भा र प्युपा नष्ट हुनेछ ।

देशभर डेंगु संक्रमण बढ्न थालेपछि कामपाले बीटीआई लार्भिसाइड प्रयोग गर्न लागेको हो । कामपा जनस्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले सबै वडामा यसको प्रयोग शुरू गर्ने बताउनुभयो । ‘मधेस प्रदेश सरकारले नेपाल भित्र्याउने तयारी गर्दागर्दै प्रक्रिया रद्द भएपछि कामपाले पहिलोपटक ब्याक्टोपावर प्रयोग गर्न लागेको हो’ –पौडेलले भन्नुभयो ।

कामपाले एक दुई दिनभित्रमा यसको प्रयोग शुरू गर्ने तयारी थालेको छ । विभागीय प्रमुख पौडेलले ६४ जना नगरप्रहरीको सहयोगमा सबै वडामा ब्याक्टोपावरको लार्भिसाइट प्रयोग गर्न लागेका बताउनुभयो । हरेक बुधबार डेंगु नियन्त्रण गर्न सबै वडामा अभियान चलाएपछि महानगर क्षेत्रमा तुलनात्मक रूपमा डेंगु संक्रमित घट्दै गइरहेका कामपाको दाबी छ । ‘लार्भिसाइड प्रयोग गरेपछि काठमाडौं महानगरक्षेत्र डेंगु नियन्त्रण हुनेछ पौडेलले भन्नुभयो ।

‘सबै प्रजातिका लामखुट्टे पानी जमेका ठाउँमा बस्ने र त्यहीँ प्रजनन् प्रक्रिया पूरा गर्दछन् । ब्याक्टोपावरको लार्भिसाइडलाई पानीको माथिल्लो भागमा छर्कनुपर्दछ त्यसपछि यसले लार्भाको पेटमा गएर विष उत्पन्न गरेर लार्भाको पाचन प्रक्रियालाई नष्ट गर्छ र लामखुट्टे पूर्ण विकसित हुन नपाई मर्छ’ –लार्भिसाइडको बारेमा जानकारी दिँदै प्रमुख पौडेलले भन्नुभयो ।

कामपाले पानी पर्न रोकिएपछि सबै वडामा लार्भिसाइड प्रयोग गर्ने जनाएको छ । घर, विद्यालय, गोठ, खेतबारी, धाप, पोखरी, खोला, सिमसार, फूलदानी, बाल्टिन, ड्रमलगायत सबै पानी जम्ने स्थानमा डेंगुको लार्भा बस्ने गर्छ । ती स्थान खाली गराएर वा सफा गरेर लार्भिसाइड छर्कनुपर्ने विभागको भनाइ छ । विभागीय प्रमुख पौडेलले एकदुई दिनमै सबै वडामा लार्भिसाइट छर्कन शुरू गर्ने जानकारी दिनुभयो ।

अन्य ल्यार्बिसाइटको तुलनामा बीटीआईका धेरै फाइदा छन् । बीटीआई जीवाणु अर्थात् ब्याक्टेरिया जीवाणुमा आधारित बायो ल्यार्बिसाइड हो । यसले कुनै पनि जीवजन्तु, मानिस, बोटविरुवा तथा बालिनालीलाई असर गर्दैन । ब्याक्टोपाओरले सबै किसिमका लार्भालाई मार्ने गर्छ ।

‘बीटीआईले दिउँसोमा पनि काम गर्ने भएकाले शुरूमै प्रजनन् स्थल पहिचान गरी सबै वडामा दिउँसो मात्रै छर्कने तयारी गरेका छौं’ –पौडेलले बताउनुभयो । जबकि, अन्य लार्बिसाइटलाई साँझपख छर्न सल्लाह दिने गरिन्छ । २ सय ५० मिलिलिटरमा १० लिटर वा १ लिटर ब्याक्टोपावर लार्भिसाइट ४० लिटर पानीमा मिसाएर यसको प्रयोग गर्न सकिन्छ । यसलाई पानी जमेको स्थानमा स्प्रे गरी छर्कनुपर्छ ।

विभागीय प्रमुख पौडेलले यसको प्रयोगबाट महानगरक्षेत्रमा डेंगु नष्ट हुने अपेक्षा गरिएको बताउनुभयो । उहाँका अनुसार कामपाले पहिलो चरणमा ३ सय लिटर लार्भिसाइट प्रयोग गर्ने भएको छ ।

विश्वस्वास्थ्य संगठनबाट अनुमति पाएको र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्वीकृत दिएको ब्याक्टोपावर जैविक किटनाशक भएको विभागको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीटीआईको प्रयोग गर्नाले स्तनधारी, चरा र माछालाई गैर विषाक्त हुने उल्लेख गरेको छ । महानगरले दुई साताअघि सबै वडामा डेंगु नियन्त्रण अभियान शुरू गरेको थियो । अभियानकै क्रममा महानगरले नयाँ प्रविधि प्रयोग गरेर लामखुट्टेको लार्भा नष्ट गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्