लमजुङमा ७५ प्रतिशत खानेपानीमा इकोली भेटियो



लमजुङ ।

लमजुङमा ७५ प्रतिशत खानेपानीको स्रोतमा दिसाजन्य पदार्थ अर्थात् इकोली भेटिएको छ । स्वास्थ्य कार्यालय लमजुङले गरेको शुद्धता परीक्षणका क्रममा जिल्लाका आठ वटै स्थानीय तह अन्तर्गत २४ आयोजनामा १ सय २९ नमुना परीक्षण गर्दा ७५ प्रतिशतमा इकोली भेटिएको हो ।

स्वास्थ्य कार्यालय लमजुङले आर्थिक वर्ष २०७९/८० मा गरेको खानेपानीको परीक्षण नतिजा अनुसार अधिकांश क्षेत्रका खानेपानी मुहान तथा धाराको पानी पिउनका लागि अयोग्य भएको पाइएको छ । स्वास्थ्य कार्यालयले खानेपानी सुरक्षा योजना लागू भएका छ वटा योजनामा सो परीक्षण गरेको र तीमध्ये दुई वटा योजनाको खानेपानी मात्र पिउन योग्य पाइएको कार्यालयका ल्याब टेक्निसियन निरोधकुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार भोर्लेटार खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र भोटे ओडार तार्दी खोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट वितरण गरिएको खानेपानी  पिउन योग्य फेला परेको हो ।

यौटा आयोजनाको फिल्टरेसन स्थलदेखि वितरण टङ्की र उपभोक्ताको धारासम्म तीन ठाउँमा परीक्षण गरिएको श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार खानेपानी आयोजनाहरूको २४ वटा नमुना र अव्यवस्थित, परम्परागत कुवाहरूको खानेपानीको २९ वटा नमुनाको परीक्षण गरिएको थियो ।

उपभोक्ता समितिमार्फत व्यवस्थित रूपमा वितरित २४ मध्ये छ वटा नमुना पिउनका लागि उपयुक्त भएको र १८ वटाको खानेपानी सुरक्षित नभएको पाइएको स्वास्थ्य कार्यालयका प्रमुख प्रवीणकुमार खनालले बताउनु भयो । सो बाहेक व्यवस्थित नभएका २९ वटा पानीका स्रोत कुवा धाराहरूको नमुना परीक्षणमा २२ वटाको पानी पिउन सुरक्षित नभएको तथा दिसाजन्य पदार्थ भेटिएको स्वास्थ्य कार्यालयले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।

लमजुङमा खानेपानी सुरक्षा योजना लागू भएका योजनाहरूमा बेसी हर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बेसी हर, लसुने खानेपानी सरसफाइ तथा उपभोक्ता समिति सुन्दर बजार नगरपालिका–९, सुन्दर बजार खानेपानी सरसफाइ तथा उपभोक्ता समिति सुन्दर बजार नगरपालिका र मध्य नेपाल नगरपालिका– ४ स्थित रम्घा खानेपानी सरसफाइ तथा उपभोक्ता समिति रहेको स्वास्थ्य कार्यालयका प्रमुख खनालले बताउनु भयो ।

इकोलीले मानिसलाई प्रत्यक्ष असर नगरे पनि त्यसमा अन्य ब्याक्टेरिया मिसिए पछि भने त्यो खतरनाक हुने हुँदा पानी शुद्धीकरण गरेर मात्र पिउनुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । दूषित पानीको कारण हैजा, झाडापखाला, टाइफाइड जस्ता रोग लाग्ने भएकाले यस्ता दूषित पानीजन्य सरुवा रोग फैलन नदिन पानी शुद्धीकरण गरेर तथा उमालेर पिउनु पर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्