सुन तस्कर दावासहित ३ सय ५० को अनुसूची गायव, नागरिकता छानबिन गर्न गृहले बनायो समिति



काभ्रे । सय किलो सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर लिएको नागरिकताका सन्दर्भमा छानबिन गर्न गृह मन्त्रालयले नागरिकता महाशाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता सह सचिव नारायणप्रसाद भट्टराईले दिनुभएको जानकारीअनुसार तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले गृह मन्त्रालयमा बुझाएको अनुसूची गायव पारिएका दावा लामासहित ३ सय ५० जनाको नागरिकताका सन्दर्भमा गठन गरिएको छानबिन समितिले आवश्यक छानबिन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउने छ ।

समितिमा जिल्ला प्रशासन कार्यालय काभ्रेबाट एकजना प्रतिनिधि राखिएको छ । तत्कालीन अवस्थामा जिल्ला प्रशासन कार्यालय काभ्रेबाट बुझाइएको प्रतिवेदनमा दावा छिरिङ भनिने निमा तामाङसहित ३ सय ५० जनाको समेत अनुसूची फेला नपरेको उल्लेख छ ।

समितिले प्रतिवेदन बुझाएपछि नागरिकताका सन्दर्भमा देखिएका अन्य विषयहरूमाथि के गर्ने भन्ने निर्णय लिइने जानकारी दिँदै प्रवक्ता भट्टराईले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘छानबिनका क्रममा नक्कली कागजात बुझाएर नागरिकता लिने र दिने प्रकरणमा संलग्नहरूलाई कानुनअनुसार कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने छ ।’

जिल्लामा कार्यरत रहँदाको समयमा अनुसूची गायव बनाउन मुख्य भूमिका खेल्ने तत्कालीन समयका नागरिकता फाँटमा कार्यरत नायव सुब्बा रामचन्द्र अर्याल, अधिकृत भुपेन्द्र पाण्डेय र झपेन्द्रराज खरेलमाथि पनि अनुसन्धान हुने भएको छ । झपेन्द्रराज खरेल हाल मेलम्ची नगरपालिका सिन्धुपाल्चोकमा कार्यरत छन् भने अर्याल धादिङको स्थानीय तहमा कार्यरत छन् । भुपेन्द्र पाण्डेय बढुवासँगै लुम्बिनीमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन् ।

सुब्बा अर्यालको डिजाइनमा दुवै अधिकृतले हस्ताक्षर गरेको स्रोतको भनाइ छ । यद्यपि, अभिलेखमा भएकाले अनुसूची बिना नागरिकतामा हस्ताक्षर नगरेको दुवै अधिकृतले दाबी गरेका छन् । अनुसूची नक्कली कि सक्कली ? अनुसूचीमा सिफारिस गरिएका कागजात गलत हुन् कि हैनन् ? त्यो विषयमा आफूहरूलाई जानकारी जिकिर गर्दै अधिकृत द्वय पाण्डेय र खरेलले अनुसूची फाराममा उल्लेख भएका कागजात र प्राप्त प्रमाणका आधारमा नागरिकतामा हस्ताक्षर गरिएको बताउनुभयो । दिनभर संकलन गरिएका नागरिकताका अनुसूचीहरू सुब्बा अर्यालले बोकेर लैजाने गरेको बताइन्छ । वि.सं. २०७५ साउन २ गते अनसूची उपलब्ध गराउने शर्तमा मात्रै उहाँलाई रमाना दिइएको हो । असार मसान्तबाट उहाँको सरुवा भएको थियो ।

नक्कली कागजात तयार गरी लिइएका नागरिकताको अभिलेख मेटाउने कार्यमा नायव सुब्बा अर्यालको विशेष भूमिका रहेको स्रोतले बतायो । अनुसूची नभएकामध्ये कति जिल्लाबासी हुन् ? कति जिल्लाबाहिरका हुन् ? कति विदेशी हुन् ? छानबिन नगरी यकिन गर्न सम्भव नभएको प्रशासनका एक कर्मचारीले बताए । सय किलो सुन तस्करमा नमोबुद्ध– ११ ठेगाना राखेर नागरिकता लिएका निमा तामाङले पेमा तामाङलाई बाबु बनाए पनि उनको नागरिकता अझै रद्द गर्ने निर्णय भएको छैन । वडामा नभएका नागरिकका हकमा वडा कार्यालयले सिफारिस नै नगरेको स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्