सीआईबीले तस्करीका मुख्य नाइकेहरू पत्ता लगाउला ?

विभागको फन्दामा १८ परे, अब सीआईबीको फन्दामा कति पर्लान् ?



काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा केही राजनीतिक व्यक्ति र उच्च व्यापारिक घरानाको संलग्नता रहेका विभिन्न आधारहरू देखिए पनि राजस्व अनुसन्धान विभागको अनुसन्धान त्यसतर्फ मोडिन सकेन । यद्यपि, विभागले यो तस्करी प्रकरणमा संलग्नहरूको केही जालो भने तोड्यो तर अब मुख्य जालो तोड्ने र मुख्य नाइके पत्ता लगाउने जिम्मेवारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाएको छ ।

राजस्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन विमानस्थलको भन्सार कार्यालयवाट पास भइसकेको तस्करीको एक क्विन्टल सुन बरामद गरेर अनुसन्धान थालेको थियो । विभागले अनुसन्धानका क्रममा गरेका विभिन्न अप्रेसनबाट १८ जना पक्राउ गर्न सफल भयो । जसमध्ये तस्करीको नाइकेमध्येका एक तिब्बतीमूलका चिनियाँ नागरिक दावा छिरिङ रहेका छन् । तस्करीको धन्दा सञ्चालन गर्न उनले बेल्जियम र नेपालको नागरिकतासमेत निकालेको पाइएको छ । दावाले फर्जी कागजात पेस गरेर जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नागरिकता निकालेको पुष्टि भइसकेको छ । तर, सरोकारवाला निकायले दावाको नागरिकताका बारेमा छानबिन गरेका छैनन् ।

राजस्व अनुसन्धान विभागले अप्रेसनको क्रममा गत १४ साउनमा दावा छिरिङलाई ठमेलको भियना होटलबाट पक्राउ गरेको थियो । त्यसअघि यस प्रकरणमा सहयोगी, भरिया र एजेन्ट मात्रै पक्राउ परेका थिए तर नाइकेमध्येका एक दावा पक्राउ परेपछि अन्य मुख्य नाइकेहरू पनि पक्राउ पर्न सक्ने आशा गरिएको थियो । तर, राजस्व अनुसन्धान विभागको टोलीले दावापछि भने कसैलाई पनि पक्राउ गर्न सकेन । अन्ततः सबै फाइल अनुसन्धानका लागि सीआईबीलाई बुझाएको छ । विभागले झण्डै तीन हप्तासम्म गरेको अनुसन्धानमा तस्करीका धेरै सेल्टरहरू पत्ता लगाए पनि मुख्य नाइकेका बारेमा भने विभागका अनुसन्धान अधिकृतहरूले केही पत्ता लगाउन सकेनन् । केही राजनीतिक व्यक्ति र उच्च घरानाका व्यक्तिहरूको संलग्नताका आधारहरू देखिए पनि विभाग त्यसतर्फ अघि बढ्न सकेन । बरू विभागले ट्याक्सी चालक तथा भरिया, एजेन्ट र सहयोगीहरूलाई मात्रै पक्राउ ग¥यो । विभागले दावासहित १८ जनालाई पक्राउ गरे पनि क्यान्सरबाट पीडित भन्सार एजेन्ट रुक्मिना सुब्बालाई आवश्यक पर्दा हाजिर हुने गरी परिवारको जमानीमा छाडिएपछि थप १७ आरोपित हिरासतमा छन् । विभागले उनीहरू सबैलाई सीआईबीसमक्ष बुझाइसकेको छ ।

सीआईबीले अनुसन्धानका लागि अब ३५ दिनको समय पाएको छ । सुन हङकङबाट आएकाले सीआईबीको टोली तस्करीको अनुसन्धान गर्न हङकङसम्म पुग्ने बताइएको छ । यसअघि ३३ किलो सुन तस्करी प्रकरणमा प्रहरीले दुबईसम्मै पुगेर छानबिन गरेको थियो

अब सीआईबीले विभागले थालेको अनुसन्धानको अन्तिम बिन्दुबाट नयाँ अनुसन्धान थालिने जनाएको छ । यसअघि राजस्व अनुसन्धान विभागले सुन बरामद गरेलगत्तै ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राईलाई पक्राउ गरेको थियो । त्यसलगत्तै हङकङबाट स्कुटरको ब्रेक सुको रूपमा नेपालमा सुन ल्याउने रेडी ट्रेडका नाममात्रैका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई र तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङलाई पक्राउ गरेको थियो । यसै गरी विभागले अनुसन्धान र अप्रेसनका क्रममा साउन ४ गते चिनियाँ नागरिक जिक्वान लिन र सामानको भन्सार छुटाउने कार्गो सञ्चालकहरू कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट तथा राजन श्रेष्ठलाई पक्राउ गरेको थियो । यसै गरी विभागले साउन ७ गते सामान जाँचपासमा मिलेमतो गरेका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरेमा खटिएका सरोज श्रेष्ठलाई पक्राउ गरेको गरी अनुसन्धानलाई तीव्रता दिएको थियो । सोही दिन विभागको टोलीले भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बालाई पक्राउ गरेको थियो । त्यस समयमा विभागले काठमाडौंका विभिन्न स्थानमा सुन तस्करले बनाएका सेल्टर तथा कारखानाहरूमा समेत छापा हानेको थियो ।

विभागले साउन १० गते सोह्रखुट्टेस्थित एब घरमा छापा हानेर सुन गाल्ने मेसिनसहित ६६ कार्टुन ब्रेक सु बरामद ग¥यो । गोदामका लागि स्थान मिलाइदिएको आरोपमा सुरेन्द्र तामाङलाई पनि पक्राउ गरियो । बरामद गरिएका सबै ब्रे सुबाट ठुलो परिमाणमा सुन निकालिसकिएको पाइएको थियो । यसै गरी विभागले टोखास्थित तस्करको कारखानामा छापा हानेर सुन बनाउन प्रयोग गरिने विभिन्न सामग्रीहरू बरामद गरेको थियो । यसरी विभागले सुन तस्करको केही जालो भत्काए पनि मुख्य जालो भत्काउन बाँकी देखिन्छ । बाँकी जालो सीआईबीले भत्काउने विश्वास गरिएको छ । यद्यपि, सीआईबीमाथि राजनीतिक दबाब पर्न सक्ने भएकाले अनुसन्धानले पूर्णता पाउन कठिन देखिन्छ तर, सीआईबीले राजनीतिक दबाबलाई चिरेर हिम्मतका साथ अघि बढ्न सकेमा मुख्य तस्करहरू सजिलै कानुनको दायरामा आउन सक्ने विश्वास गर्न सकिन्छ ।

विभागका अधिकारीहरूले अबको बाँकी छानबिन सीआईबीले गर्ने र सीआईबीले अन्तरदेशीय संगठित अपराधमा छानबिन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्