सुन तस्करी प्रकरणमा भरिया मात्रै नभएर योजनाकारसम्म पुग्ने गरी अनुसन्धान गर्न जरुरी :  प्रदीप पौडेल



बुटवल। 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुन काण्डको गहिराइमा पुगेर अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्   । उनले भरिया मात्रै नभएर योजनाकारसम्म पुग्ने गरी अनुसन्धान गर्न आग्रह गर्दै सामान्य मजदुरको टाउकोमा मात्रै दोष थुपार्ने काम नगर्न आग्रह गरे ।

नेपाल प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सुन तस्करीमा संलग्न व्यक्ति पक्राउ परेपछि संसद अवरोध गर्ने काम पनि राम्रो नभएको बताए । उनले त्यो काण्डको बिरोध गर्ने राम्रो कुरा भएपनि अनुसन्धान हुँदा हुँदै विरोध तथा संसद अवरोध गर्ने काम राम्रो भएको बताउनु भएको हो । उहाँले सुन काण्डमा जरैसम्म पुगेर अनुसन्धान गर्न र मुख्य योजनाकारलाई समात्न आग्रह गर्दै अनुसन्धान गरेझैँ गर्ने, सामान्य मजदुरको टाउकोमा दोष  थोपरेर दोषीलाई उम्काउने काम भयो भने गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था पनि आउन सक्ने बताए ।

उनले मुलुकमा भ्रष्टाचार बढेको बताउँदै भ्रष्टाचार रोक्नको लागि दलहरु जिम्मेवार हुनुपर्ने भनाई राखे । पुँजीगत खर्चभन्दा चालुखर्च चारगुणा बढी खर्च भएको बताउँदै त्यो पनि पुरा खर्च गर्न नसकिएको भनाई राखे । विगत १५ वर्षको तथ्यांकमा ८५ प्रतिशत भन्दा बढी पुँजीगत खर्च हुन नसकेको उल्लेख गरे  । भ्रष्टाचार, अनियमितता र बेरुजु यसको प्रमुख कारण रहेको उनको भनाई छ ।

उनले प्रतिनिधि सभामा सांसद संख्या खटाउनु पर्ने, मन्त्रीपरिषद् आकार पनि सीमित संख्याको बनाउनु पर्ने बताउँदै त्यसलाई समावेशी प्रकृतिको बनाउन पनि सकिने भनाई राखे । हालै सम्पन्न पार्टीको केन्द्रीय  समिति बैठकमा पनि यो कुरा उठाएको बताउँदै उनले भने–‘प्रतिनिधि सभाको संख्या घटाएर २०१ बनाउन सकिन्छ, त्यसै अनुसार प्रदेश सभाको पनि संख्या घटाउन  सकिन्छ, त्यसमा समावेशी चरित्रको हुँदैन कि भन्ने चिन्ता होला, त्यो पनि मिलाउन सकिन्छ ।’

कार्यक्रम नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कवीन्द्र नेपालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्