सुदूरपश्चिमको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा बेथिति र मनोमानी

२ अफिस राखेर आफ्नै लेखापाललाई भाडा



धनगढी।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगतको प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रमा व्यापक मनोमानी गरेको पाइएको छ। सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखाका स्वास्थ्य शिक्षा अधिकृतसमेत रहेका प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख (हाकिम) हेमराज खड्काले मनोमानी गरेको  पाइएको हो।

हाकिम खड्काले प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यालय मात्रै २ जिल्लामा राखेका छन् । सुरुमा कञ्चनपुरको स्वास्थ्य कार्यालयमै प्रवर्द्धन केन्द्रको कार्यालय स्थापना गरेकोमा अहिले त्यो कार्यालय सारिएको छ। सो कार्यालय अहिले हाकिम खड्काले स्वास्थ्य प्रवर्द्धन केन्द्रका लेखापालसमेत रहेका आफ्नै कर्मचारी पबेन्द्र भट्टको घरमा सारेका  हुन्  ।

लेखापाल भट्टले आफ्नो घरमा गत वर्ष माघदेखि मासिक ३० हजार भाडा तिर्ने गरी अफिस सारिएको जानकारी दिए। उनका अनुसार अहिले त्यहाँ आफूसहित एक सुब्बा र एक कार्यालय सहयोगी मात्रै ड्युटी बजाएर बसिरहेका छन्। हाकिम खड्काको दोहोरो जिम्मेवारीका कारण समस्या भएको र खड्का कहिलेकाहीँ मात्र टाइम मिलाएर अफिसमा आउने गरेको भट्टले बताए। प्रदेशका सबै (९ जिल्ला)मै कार्यक्रम गर्नुपर्ने भएपनी आफ्नो हाकिमले धनगढी केन्द्रित काम गरेको उनको बुझाइ छ।

यस्तै, खड्काले सोही स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यालय धनगढीमा पनि खडा गरेको खुलेको छ। उनले धनगढी उपमहानगरपालिकास्थित धनगढी गाउँमा रहेको तत्कालीन सेती आयुर्वेद औषधालयको भवनमा बोर्ड नै लगाएर कार्यालय खडा गरेका हुन् । स्रोतका अनुसार खड्काले धनगढीमा २ जना कार्यालय सहयोगी समेत राखेको र उनीहरुले  नै धनगढी गाउँको उक्त कार्यालयको भवनलाई आवासको रुपमा प्रयोग गरिरहेका छन् ।

सो कार्यालयमा एक कोठामा एक टेबलमात्रै राखिएको बताइन्छ। यसरी कैलाली र कञ्चनपुरमा कार्यालय राखेर पनि काम भने मन्त्रालयबाटै हुने गरेको छ। यता, स्वास्थ्य प्रवर्द्धन केन्द्रका हाकिम खड्काले भने आफू धनगढीमै बस्ने भएकाले कहिलेकाही बस्नका लागि मात्र त्यहाँ बनाइएको बताए। तर उनले कार्यालय भने नबनाएको दाबी गरे । यस्तै आफूलाई यहाँ बस्दा खाना पकाउन भनेर कार्यालय सहयोगी नियुक्त गरेको उनको भनाई छ। यतीमात्र होइन, स्वास्थ्य प्रवर्द्धन केन्द्रका नाममा खड्काले कमिसनखोरी, अनियमितता गर्ने गरेको समेत आरोप लाग्ने गरेको छ।

 २०७८ फागुन २८ गते तत्कालीन सामाजिक विकासमन्त्री लालबहादुर खड्काले जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरमा प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको उद्घाटन गरेका  थिए। कार्यालयको प्रमुखमा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्कालाई जिम्मेवारी दिइएको थियो। मन्त्रालय र प्रादेशिक स्वास्थ्य प्रवर्द्धन कार्यालयको दोहारो जिम्मेवारी पाएका खड्कालाई त्यसबेला सरुवा गर्न खोज्दा राजनीतिक पहुँचको प्रयोग गरी उनले दोहोरो जिम्मेवारी हत्याएका थिए।

प्रतिक्रिया दिनुहोस्