नेपाललाई लायन्समार्फत विश्वभर चिनाउन प्रयास गर्नेछु : बुर्लाकोटी



काठमाडौँ । 

लायन्सका अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले नेपाललाई लायन्स मार्फत विश्वभर चिनाउन प्रयास गर्ने बताएका छन्  । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालको डिष्ट्रिक्ट पदाधिकारी पदस्थापन एवम् पहिलो क्याबिनेट बैठकको उद्घाटन समारोहमा बुर्लाकोटीले सो कुरा बताएका हुन् ।

बुर्लाकोटी जुलाई ७ देख़ि ११ सम्म अमेरिकाको बोस्टनमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनबाट २०२३-२५ सम्मका लागि नेपालबाट लायन्सको अन्तर्राष्ट्रिय निर्देशकमा निर्वाचित भएका हुन् ।

बुर्लाकोटीले डिष्ट्रिक्ट ३२५ आई नेपालका लायन वर्ष २०२३/२४ का डिष्ट्रिक्टका भाइस गभर्नरहरूसहित क्याबिनेटका पदाधिकारीलाई शनिवार राष्ट्रिय सभा गृह काठमांडौंमा सम्पन्न पदस्थापन समारोहमा पद तथा गोपनीयताको शपथ गराई पदस्थापन गराएका थिए ।

पदस्थापनपछि बोल्दै बुर्लाकोटीले लायन्जिमको विकास र विस्तारमा आफ्नो सक्रियता निरन्तर रहि रहने बिचार व्यक्त गरे । नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजना ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तर्राष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय रहने उनको भनाई थियो। आफूलाई अन्तर्राष्ट्रिय निर्देशकमा पुर्‍याउन नेपालका लायन्सले खेलेको भूमिकाको खुलेर प्रशंसा गर्दै सहयोगी मनहरूलाई धन्यवाद दिएका थिए ।

पूर्व अन्तर्राष्ट्रिय निर्देशक एवं कन्सिटुशनल एरिया लिडर सञ्जय खेतानले नेपालीलाई विश्वले हौसला दिइरहेको र नेपालमा विभिन्न अन्तर्राष्ट्रिय प्रोजेक्टहरू ल्याउन सफल भएको भन्दै लायनवादमा लागेर सेवा गरिरहनु भएकाकै कारण समाजमा सेवा स्थापित भएको जिकिर गरेका छन् ।
अध्यक्षता गरेका  डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले डिष्ट्रिक्टका मुख्य कार्यक्रम, हालसम्म सम्पादन गरिएका कार्य र भावी कार्यक्रम बारे प्रस्टाएका थिए  ।

डिष्ट्रिक्ट गभर्नर केसीले हिजोका दिनमा जस्तै सबैको साथ र सहयोग पाउनेमा आफू विश्वस्त रहेको बताउँदै आफ्नो कार्यकालको थिम नेतृत्वका लागि उत्प्रेरित गरौँ (इन्स्पाएर टु लीड ) को नारा अन्तर्गत रहेर वर्ष सफल बनाउन आफू उत्प्रेरित हुँदै सबैलाई उप्रेरणा प्रदान गर्न आग्रह गर्दै संस्था बलियो बनाउन, योगदानका लागि, तालिम/प्रशिक्षणका लागि, फेलोसिप, नैतिक जिम्मेवार बन्न र सेवाका कामका लागि उत्प्रेरित गर्न नारालाई वर्ष भरि नै प्राथमिकतामा राखेर कार्य गर्न लिडरहरूलाई आग्रह गरे  ।

सुरुवाती कालदेखि नै नेपालको लाईनिजम विश्वमा चिनाउन पूर्व गर्भनरहरुले गरेको कार्य उत्कृष्ठ रहेको बताउँदै यस पटक पनि क्लब गठनको हिसाबले विश्वको नम्बर १ मा डिष्ट्रिक्टलाई राख्न सफल भएको जनाउ दिए ।

गभर्नर केसीले  विभिन्न शीर्षकमा उत्कृष्ट काम गर्ने डिष्ट्रिक्टका पदाधिकारी एवं विभिन्न क्लबका अध्यक्ष लगायत पदाधिकारीलाई गभर्नरको पिन, प्रशंसा पत्र, अन्तर्राष्ट्रिय अध्यक्षको पिन लगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा जिएटी एरिया लिडर खगेन्द्र सिटौला, एलसिआईएफ एरिया लिडर राजन लम्साल, मल्टीपल काउन्सिल चेयर पर्सन सिबी चन्द, निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, द्वितीय भाइस डिष्ट्रिक्ट गर्भनर पार्वती खरेल पाण्डे, पिएमसीसी मनबहादुर रोका, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल, कार्यक्रमका संयोजक खोमराज बराल लगायतले आ-आफ्नो भनाई राख्नु भएको क्याबिनेट सेक्रेटरी महेश पाण्डेले जानकारी दिए।

पदस्थापन समारोहमा क्याबिनेटका अफिसरहरु, विभिन्न क्लबका अध्यक्षहरु, क्लब अफिसरहरु तथा क्लबका सदस्यहरुसहित १ हजार बढी लायन सदस्यहरु सहभागिता रहेको थियो ।

डिष्ट्रिक्ट पदाधिकारी पदस्थापन एवं पहिलो क्याबिनेट बैठकको संयोजन लायन्स क्लब अफ काठमाडौँ देउराली दियालोले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्