वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था सुध्रिँदैन : स्वास्थ्यमन्त्री बस्नेत 



काठमाडौं। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था नसुध्रिने बताएका छन् । देशकै सबैभन्दा पुरानो र ठूलो वीर अस्पतालको १३४ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वीर अस्पताल नसुधारी देशको समग्र स्वास्थ्य अवस्था सुधार्न नसकिने भएकाले वीर अस्पताल सुधार्न आफू  लागि परेको बताए।

आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको अढाई महिनामा वीर अस्पतालमा विपन्न देखि भिआइपीसम्मका बिरामीले महसुस गर्ने गरी काम गरेको दाबी गर्दै मन्त्री बस्नेतले वीर अस्पताल सबै बिरामीका लागि सबै प्रकारका विशेषज्ञ सेवा प्राप्त हुने अस्पतालका रुपमा विकास गरेको दाबी गरे । वीर अस्पतालका ७०० शय्या विपन्नका लागि निःशुल्क  गरेको, आकस्मिक कक्षमा शय्या सङ्ख्या बढाएको, ओपिडी सेवा बिहान ८ बजेदेखि बनाएको, अनलाइनबाट पनि टिकट काट्ने व्यवस्था लागु गरेको, भिआइपी र भिभिआइपी कक्ष दुईवाट बढाएर पाँच पुर्‍याएको र कर्मचारी समायोजन गरेको लगायतका सुधारको महसुस हुने गरी काम भएको बताए ।

वीर अस्पताल सुधार्न यहाँको सिंगो टीमको अहं भूमिका रहेको मन्त्री बस्नेतले बताए । उनले भने, ‘ वीरमा योग्य चिकित्सक र स्वास्थ्यकर्मी छन् । उहाँहरुको संयुक्त पहलबाट वीरमा सुधार संभव भएको छ ।’ वीर अस्पताल गरिब, विपन्न मात्र नभएर भिआईपीहरुको उपचारको पनि केन्द्र हुनु पर्ने सरकारको योजना अनुसार काम अगाडि बढिरहेको मन्त्री बस्नेतले जानकारी दिए ।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स ) का उपकुलपति प्रा. डा.भूपेन्द्र बस्नेतले न्याम्सले दक्ष जनशक्ति उत्पादनलाई पनि महत्वका साथ अगाडि बढाइरहेको बताउँदै निकट भविष्यमै आइसियुको सङ्ख्या बढाएर सञ्चालन गर्न लागिएको बताए । वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले १५ शय्याबाट सुरु भएको वीर अस्पतालमा अहिले ९६६ शय्या सञ्चालन हुन थाले पनि सो अनुसार बजेट वृद्धि नभएको दुखेसो पोखे । उनले ३८६ शय्याको अस्पताल हुँदा २ अर्ब भन्दा बढी बजेट विनियोजन हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै यो वर्ष ७३ करोड मात्र बजेट विनियोजन भएको बताए । गएको वर्ष ओपिडी, इमरजेन्सी गरेर ५ लाख ६६ हजार जना बिरामीले सेवा पाएको बताउँदै वीरमा सेवा थपिँदै गएको अवस्थामा बिरामीको सङ्ख्या अर्को वर्ष अझ थपिने दाबी पौडेलले गरे ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईँले वीर अस्पताल देशको स्वास्थ्य क्षेत्रको अनुहार भएकाले यसको विकासमा मन्त्रालयले हरदम सहयोग गर्ने बताइन । राष्ट्रिय चिकित्सा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, न्याम्सको रजिस्टार डा. ज्ञानेन्द्र शाह, रेक्टर डा. लोचन कार्की लगायतले वीर अस्पतालले प्रदान गरिरहेको सेवाको चर्चा गर्दै यसको सुधारमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिएका थिए । समारोहमा मन्त्री बस्नेतले उत्कृष्ठ कार्य सम्पादन गर्ने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विभिन्न पुरस्कारबाट सम्मानित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्