सन्दर्भ भोलि विश्व बाघ दिवस : बाघ संरक्षण आजको आवश्यकता



नेपाल वन, वन्यजन्तु, वनस्पतिलगायत जैविक विविधताका लागि विश्वमा नै धनी मुलुकका रुपमा परिचित छ । नेपालले जम्मा ०.१ प्रतिशत भूभाग मात्र ओगटेको छ तर यहाँ विश्वमा पाइने वनस्पति र वन्यजन्तुमा ३.२ प्रतिशत वनस्पति र १.१ प्रतिशत वन्यजन्तु पाइन्छन् । ती वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित जैविक विविधताहरुको वैज्ञानिक, सांस्कृतिक, मनोरञ्जनात्मक र आर्थिक दृष्टिकोणबाट समेत महत्व बढ्दै गइरहेको छ । तसर्थ जैविक विविधताहरुको निरन्तर उपयोग गर्न र प्राकृतिक सन्तुलन कायम राख्नका लागि तिनको संरक्षण गर्नु हाम्रो प्रमुख दायित्व हो ।

यसै सन्दर्भमा हरेक वर्षको जुलाई २९ मा (भोलि) विश्व बाघ दिवस मनाइन्छ । सोबारे संक्षेपमा चर्चा गर्नु सान्दर्भिक होला । मुख्यतः बाघ संरक्षणसम्बन्धी जनचेतना फैलाउने मुख्य उद्देश्यले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाइन्छ । यसै सन्दर्भमा नेपालमा बाघको संख्या वृद्धि भए पनि विश्वमै भने यसको संख्यामा कमी आएको तथ्यांकले देखाउँछ । यसको मुख्य कारण जंगल फँडानी, बासस्थानको कमी, आवश्यक आहाराको अभाव, मौसमी परिवर्तन, गैरकानुनी सिकार आदि हुन् । बाघलाई प्रतिकात्मक प्राणीको रुपमा लिइन्छ । प्राकृतिक सम्पदाको रुपमा रहेको बाघलाई सांस्कृतिक र ऐतिहासिक रुपले पनि महत्व मानिन्छ । वातावरण सन्तुलनमा यसको महत्वपूर्ण योगदान छ । बाघलाई संरक्षण गर्दा धेरै ठाउँ चाहिने भएकोले ठूलै जंगल संरक्षित गरिनुपर्छ । सो संरक्षित गर्दा अन्य धेरै प्राणीको संरक्षण हुन्छ अर्थात् वातावरण संरक्षण भई मानव तथा पशुपन्छीको जीवन कल्याण हुन्छ ।

नेपालमा सन् १९९५ मा ९८ वटा, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८, सन् २०१८ मा २३५ र सन् २०२२ मा ३५५ वटा बाघ रहेका छन् । सन् २०१० यता १२ वर्षमा नेपालमा २३४ वटा बाघ बढेको देखिन्छ । बाघको संख्या वृद्धिसँगै सो अवधिमा बाघको आक्रमणबाट ८० जना मानिसको ज्यान गयो । निकुञ्जभित्रका बाघ स्थानीय समुदायका समृद्धिको आधारशिलाको रुपमा हुनुपर्दछ, द्वन्द्वको रुपमा होइन । बाघ संरक्षण त नेपालको उन्नति र प्रगतिको सकारात्मक सन्देश हो । यो सन्देश निकुञ्जवरिपरिका बस्तीमा जान जरुरी छ । घाँस, दाउरा, निउँरो आदि लिन जंगल जाऊँ, फर्केर आइन्छ कि आइन्न भन्ने त्रास हटाउने व्यवस्थापन मिलाउन आवश्यक छ ।

बेलाबखत मानिसलाई बाघले आक्रमण गरी क्षति पु¥याएको दुःखद समाचार आउने गरेको पाइन्छ । किन गर्छ त मान्छेलाई आक्रमण ? बच्चासँगै भएको पोथी बाघ, पोथी र भालेबीच संसर्गको अवस्था, बूढो र सिकार गर्न अशक्त तथा आफ्नो क्षेत्र अतिक्रमणको क्रममा तथा भाले–भालेबीच लडाइँ हुँदा बाघ बढी आक्रामक भई मानिसमाथि आक्रमण गर्दछ । बाघको आक्रमण बढेपछि सम्बन्धित पक्षले त्यस्ता वन्यजन्तुलाई नियन्त्रण गरी राख्न रेस्क्यु सेन्टर बनाउन जोड दिएको छ । यो रेस्क्यु केन्द्र हाल चितवनको देवनगर, बर्दियाको रम्भापुर, पोखरा र भक्तपुरमा छ । मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिएर रेस्क्यु सेन्टरमा राख्नुभन्दा रेस्क्यु सेन्टरलाई विकास गरी टाइगर रेन्चिङको व्यवस्था गरी ठूलो वनक्षेत्रमा बाघ थुन्ने गरेमा बाघको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुगी देश आर्थिक समृद्धिमा चलायमान हुन सक्ने थियो । स्मरण रहोस्, नेपालमा भित्रिने पर्यटनमध्ये ६० प्रतिशतभन्दा बढी पर्यटकले प्राकृतिक सुन्दरता, बाघ, गैँडालगायत वन्यजन्तुको दृश्य अवलोकन गर्न संरक्षण क्षेत्र घुम्ने गरेको पाइन्छ ।

पृथ्वीमा रहेका वन्यजन्तु तथा वनस्पतिहरु विभिन्न कारणले गर्दा लोप भइरहेका छन् । बासस्थानको क्षति, अन्तर्राष्ट्रिय बजारमा रहेको उपयोगको उच्च माग, अधिक प्रयोग, चोरी सिकारी, बेरोजगारी तथा अज्ञानता तिनीहरु लोप हुनुको प्रमुख कारण हुन् । वैज्ञानिक, सांस्कृतिक, मनोरञ्जनात्मक र आर्थिक दृष्टिकोणबाट वन्यजन्तु तथा वनस्पतिहरुको बढ्दो महत्व, निश्चित क्षेत्रमा भएका ती वन्यजन्तु तथा वनस्पतिहरुको संरक्षण गर्ने उपयुक्त संरक्षणकर्ता सम्बन्धित राज्य र जनता नै भएको र अन्तर्राष्ट्रिय माग पूरा गर्नका लागि हुन सक्ने अधिक संकलन र व्यापारलाई नियन्त्रण तथा नियमन गर्दै उक्त प्रजातिको संरक्षण गर्नुपर्ने अपरिहार्य छ । सो कुरालाई मध्यनजर राखी सन् १९७३ मार्च ३ को दिन संयुक्त राज्य अमेरिकाको वासिङटन डीसीमा विश्व संरक्षण संघको संयोजकत्वमा एक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना भयो । सो सम्मेलनमा ८० राष्ट्रका प्रतिनिधिले सहभागी जनाई दुर्लभ वन्यजन्तु तथा वनस्पति प्रजातिको संरक्षणको लागि अन्तर्राष्ट्रिय संकटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि ‘साइटिस’ नामाकरण गरियो । सो महासन्धि सन् १९७३ मा पारित भई सन् १९७५ को जुलाई १ बाट कार्यान्वयन हुँदै आएको छ ।

पछिल्लो तथ्यांक अनुसार यस महासन्धिमा विश्वका १८३ देश संलग्न रहेका छन् । यो सम्मेलनको आयोजना हरेक दुई–दुई वर्षमा हुने गर्दछ । यस महासन्धिको अभिप्राय सम्बन्धित राष्ट्रहरुले आफ्ना मुलुकहरुमा भएका लोपोन्मुख वन्यजन्तु र वनस्पतिलाई यथासक्य प्राकृतिक अवस्थामा नै संरक्षण एवं सुरक्षा गर्नु र अन्ततः राष्ट्रिय व्यापार नियमन गर्नु हो । साइटिस सचिवालयसँग नियमित सम्पर्क र समन्वय गर्न नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई प्रमुख व्यवस्थापन निकायको रुपमा तोकेको पाइन्छ ।

साइटिस महासन्धिले दुर्लभ वन्यजन्तु र अन्तर्राष्ट्रिय व्यापार नियमन एवं नियन्त्रण गर्ने उद्देश्यले यसमा सूचीकृत वन्यजन्तु अनि वनस्पतिलाई तिनीहरुको अवस्थाको आधारमा तीनवटा अनुसूचीमा वर्गीकरण गरेको छ । तिनैबारे संक्षपमा उल्लेख गर्न जमर्काे गरिएको छ । साइटिस महासन्धिको अनुसूची १ मा लोप हुने स्थितिमा पुगेका प्रजाति समावेश गरिएको पाइन्छ । ती प्रजाति व्यापारका कारणले अझै खतरामा पर्ने भएकोले तिनिहरुको व्यापार र ओसारपसारलाई नियन्त्रण गरिएको छ । पूर्वरुपमा संरक्षण गर्नुपर्ने भएकोले व्यापारमा रोक लगाइएको छ । अध्ययन अनुसन्धान शैक्षिक प्रयोजन वा चिडियाखानामा राख्ने प्रयोजनाको लागि यस अनुसूची अन्तर्गत रहेको वन्यजन्तु तथा वनस्पतिको सम्बन्धित देशका व्यवस्थापन र वैज्ञानिक निकायको सिफारिसको आधारमा ओसारपसार गर्न पाइन्छ । विनाइजाजत ती वनस्पति र वन्यजन्तु निकासी, पैठारी गर्न पाइँदैन । निकासी गर्ने इजाजत पत्र लिनुभन्दा पहिले पैठारी गर्ने मुलुकले पैठारी पत्र र इजाजत पत्र पनि दिएको हुनुपर्दछ । निकासी र पैठारी इजाजत पत्र दिनुभन्दा अगाडि सम्बन्धित वैज्ञानिक निकायहरुले सो कार्यबाट उक्त प्रजातिको अस्तित्वमा हानि पुग्दैन । साथै पैठारीकर्ता त्यसको हेरचाह गर्न सक्षम छ भन्ने कुरा सन्तुष्टि भएको हुनुपर्दछ ।

साइटिस महासन्धिको अनुसूची २ मा वन्यजन्तु तथा वनस्पति प्रजाति जो लोप हुने स्थितिमा पुगिसकेको तर तिनको व्यापारलाई समयमा नियन्त्रण नगर्ने हो भने निकट भविष्यमा लोप हुन सक्ने अवस्थामा रहेका वन्यजन्तु तथा वनस्पति प्रजातिलाई यस अनुसूचीमा समावेश गरिएको छ । अनुसूची २ मा समावेश भएको प्रजातिको निकासी गर्दा सम्बन्धित राष्ट्रको वैज्ञानिक निकायले त्यस्ता प्रजातिको निकासीबाट अस्तत्विमा खतरा छैन भन्ने कुरा सुनिश्चित भएपछि मात्र व्यवस्थापन निकायले निकासी इजाजत दिन सक्छ । नेपालको संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ ले महासन्धिको अनुसूची २ मा उल्लिखित वन्यजन्तु वा वनस्पतिको कुनै प्रजाति वा उपप्रजातिलाई लोपोन्मुख वन्यजन्तु तथा वनस्पति भनी परिभाषित गरेको छ ।

त्यस्तै अनुसूची ३ मा कुनै देश वा राष्ट्रले आफ्नो राष्ट्रको व्यापार नियमन एवं नियन्त्रण गर्नुपर्ने आवश्यकता महसुस गरेमा त्यस्ता प्रजातिलाई अनुसूची ३ मा समावेश गरेको पाइन्छ । सोही राष्ट्रले ती प्रजातिको संरक्षण र व्यापारलाई नियन्त्रण गर्न कानुनी व्यवस्था गरेको भए पनि एक प्रयासले सम्भव नहुने र त्यसको कार्यान्वयनको लागि अन्य सदस्य राष्ट्रहरुको सहयोग आवश्यक पर्ने हुनाले सहयोग जुटाउनको निम्ति विभिन्न प्रजातिलाई अनुसूची ३ मा समावेश गरेको पाइन्छ । सो ओसारपसार गर्नको निमित्त व्यवस्थापन निकायबाट इजाजत पत्र लिएर मात्र ओसारपसार गर्न, निकासी गर्न र पैठारी गर्न सकिन्छ ।

निष्कर्षमा साइटिस महासन्धिले बाघजस्ता लोपोन्मुख तथा संकटापन्न वन्यजन्तु एवं वनस्पतिलाई संरक्षण गर्न ठूलो मद्दत पु¥याएको छ । समय किटान गरेरै गर्ने भनिएको वन्यजन्तु तथा वनस्पति संरक्षण कार्य बेलैमा पूरा नगर्ने हो भने पटक–पटक बनाइएका सम्बन्धित वन्यजन्तु तथा वनस्पति व्यवस्थापनसम्बन्धी कार्ययोजना अर्थहीन साबित हुनेछन् । त्यसको परिणाम पनि उत्साहजनक आउने छैन । सो सम्बन्धी संख्या बढाउनुको साथै त्यससँग प्रत्यक्ष–अप्रत्यक्षरुपमा जोडिएका स्थानीय बासिन्दा, पर्यटन क्षेत्र, मानव–वन्यजन्तु द्वन्द्व न्युनीकरणलगायतका विषयलाई पनि उच्च प्राथमिकतामा राखेर अघि बढ्नु आवश्यक हुन्छ । त्यसो हुन सक्यो भनेमात्रै वन्यजन्तु–मानव सहअस्तित्व दीर्घजीवी बन्न सक्छ ।

अतः विश्वकै प्राकृतिक सम्पदाको धनी राष्ट्र भनी उपाधि पाएको नेपालमा प्राकृतिक सम्पदाको संरक्षण गरी बिहानीको सुनौलो सगरमाथा, शीतल फेवातालमा परावर्तित माछापुच्छ«्र्र्रेको छाया, लालीगुराँसको फूलबीच लुकामारी खेल्ने डाँफे चरी, मुनाल, कालिजजस्ता चराचुरुङ्गी, चारकोसे झाडीले प्रसिद्धि कमाएका हाम्रा जङ्गल अनि त्यसमा छुनुमुनु गर्ने हरिण र मृग, सावकहरु, गैँडाका केटाहरु, बाघका डम्बरुहरु, हात्तीका छावाहरु र कोइलीका मधुर स्वरहरु संरक्षण गरी पर्यटन प्रवद्र्धन गरेर आर्थिक समृद्धि गर्नु आजको आवश्यकता हो । तबमात्र हरेक वर्ष भोलि जुलाई २९ मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय बाघ दिवसले सार्थकता पाउनेछ ।

(लेखक डा. अधिकारी गुणस्तर जीवनमा विद्यावारिधि हुनुहुन्छ ।)

[email protected]

प्रतिक्रिया दिनुहोस्