देशको ‘गलगाँड’ नै भ्रष्टाचारी र नेता



अहिले संसारको ठूलो समस्या भनेको नै जनसंख्या वृद्धि हो । यसबाहेक रोग, भोक, लडाइँ आदिका कारणले गर्दा अपराध समस्या, आर्थिक समस्या, सामाजिक समस्या आदिले गर्दा संसारको रुप नै फेरिएको छ । त्यसमाथि मानिसहरुको लालच र खोटो नियतले गर्दा हाम्रो देशमा पनि यही रोगले ढाकिराखेको छ । यस्तो बेलामा पनि गल्ती गर्नेले गरिराखेको छ, खण्डन–आलोचना गर्नेले गरिराखेको छ, बेवास्ता गर्नेको जीवन पनि चली नै राखेको छ, तर यसले भविष्यमा कस्तो रुप लिने हो ? कसैलाई थाहा छैन । यो भने हेर्न बाँकी नै छ ।

जनतालाई सुलभ जीवनयापनको अनुभूति कसरी दिने त ?

स्वार्थी, लालच, खोटो नियतको प्रादुर्भाव हुनु नै मुलुकको दुर्भाग्य हो । यस्तो बेलामा सधैँ एकले अर्कालाई दोष दिएर केही फाइदा छैन । यो बाहेक देशमा अझै सकुनी र थरी–थरीका हनुमानजस्ता मानिस पनि व्यापक छन् । यिनीहरु देश विकासका बाधक हुन्, अहिलेसम्मको गतिविधिलाई हेर्दा राम्रा–राम्रा नेताहरुलाई ठूला सरकारी कुर्सीमा पु¥याउन नसक्नुमा यहाँका जनता नै दोषी देखिन्छन् । आशा गरौं, अब त्यस्तो नहोस् । देशमा जलविद्युत्, पर्यटन, कृषि आदिको विकासले नै देशको र जनताको भविष्य उज्ज्वल हुने हो । यदि यी कुराहरुमा हामी सफल भयौँ भने आयातको बदला निर्यात गर्ने प्रोसेसमा पनि हामीले विकास गर्न सक्छौँ । तर हाम्रो देशमा मानिसहरुको आदतमा पनि सुधार आउनु जरुरी छ । खालि विदेशको चाहना राख्ने, लहैलहैमा लाग्ने, अल्छी गर्ने, मेहनत गर्न नचाहने, चाकडी गर्ने, धैर्य नगर्ने, खुट्टा तान्ने, सानो सोच राख्ने आदिजस्ता संस्कार मुलुकका लागि हानिकारक हुन् । त्यसकारण यस प्रकारका परम्परालाई बिस्तारै निर्मूल गर्दै लैजानु सबैको दायित्व हो । यसो गर्दा नै सबैको भविष्य राम्रो हुने हो न कि सधैँ एकले अरुलाई दोष दिएर देश राम्रो हुने हो ।

जे होस्, अब सरकारले राम्रो काम गरेर देखाउने हो । जस्तै– अहिले भ्रष्टाचारीहरुको गिन्ती शुरुवात हुन लागेको छ । आशा गरौं, यो प्रक्रिया निरन्तर जाओस् । यो बाहेक बेरुजु रकम, बजेटको तहबह, मितव्ययिता, दण्डहीनता आदिजस्ता कुराहरुमा सरकार गम्भीर भएर अघि बढ्नु जरुरी छ । तर यहाँनिर आएर के भन्न सकिन्छ भने, मानिसहरुको स्वार्थपनाले गर्दा सरकार पनि लाचार तथा आफ्नै बाध्यता छ, त्यो हो सबैलाई खुशी गर्नुपर्ने ।

एकपल्ट फेरि भन्नुपर्दा संघीयतामा धेरै खर्च, धेरै मन्त्री, धेरै सांसद आदि हुनु नै गाग्राबाट पानी चुहिएसरह राष्ट्रकोषको रकम खर्च फजुलमा गइराखेको छ । त्यसकारण जबसम्म यो प्रक्रिया चलिरहन्छ तबसम्म मुलुकलाई द्रूत विकासमा लैजान गाह्रो हुनेछ ।

सरकारले देशमा भएका खाद्यान्न, फलफूल, रक्सी, जडीबुटी आदी कुराहरुको निर्यातको वातावरण बनाउन नसक्नु दुःख लाग्दो कुरा हो । सकोस् पनि कसरी ? नेपालमा जति पनि सरकारहरु आउँछन् खालि आफ्नै मात्र सोच्छन् । ज्ञान–शिक्षाको कमी तथा कठोर हुन नसक्नाका कारणले नै हामी पछि परेका हौँ ।

पहिला हाम्रो मुलुकबाट निर्यात धेरै हुन्थ्यो र यहाँ आयात कम हुन्थ्यो । तर अहिले उल्टो भएको छ । आयात धेरै हुन्छ र निर्यात कम हुन्छ । हुन त समय, जनसंख्या वृद्धि, सरकारको कमजोर नीति तथा श्रमशक्ति विदेश पलायनका कारण हामीले यो दिन देख्नुपरेको छ । एक हिसाबले यो प्रक्रिया बढ्दै जाने हो भने देश टाट पल्टने अवस्था पनि आउन सक्छ । त्यसकारण यसप्रति सब सचेत हुनु जरुरी छ । एउटा दुःख लाग्दो कुरा के छ भने, अझै सरकारहरुको आँखा नखोलेको देख्दा यहाँका गल्ती गर्ने समाज तथा जनतालाई आश्चर्य लाग्नु स्वाभाविक हो, तर जनता पनि उही त हो नि, किन रोइस मंगले आफ्नै ढंगले । चुनावको समय अल्छी गर्ने, रक्सी, मासुभातमा बिक्ने त कोही हनुमान रोगले बिग्रने । फेरि हामीले देश चलाउनेहरुलाई मात्र किन गाली गर्ने ? बरु अब प्रत्येक नागरिक मुलुक बनाउनको लागि सचेत रहौँ ।

लोकतन्त्रपश्चात् हाम्रो मुलुकमा ठूला–ठूला अपराध, दरबार हत्याकाण्ड, देखिने गरी सत्र हजार नेपालीको हत्या भयो । प्रायजसो सबै नै पचेर गए । जे होस्, राम्रो भएन । नेपालीहरुलाई अझै थाहा छैन यो सब किन भयो, कसरी भयो र यो के नाटक हो ? यी कुरालाई सधैँ कोट्याएर पनि केही फाइदा छैन, जसले गर्दा गलत कर्म गरेको छ त्यसको प्रतिफल हामीले यहीँ नै हेर्न पाउनेछौँ, ढिलो र चाँडो मात्र हो । तर अब आएर कुनै पनि नागरिकले व्यक्ति तथा राष्ट्रलाई असर हुने गलत काम नगरौँ, अन्यथा यिनीहरुको भविष्य पनि घुमिफिरी उही त हो नि, यस्ता कुराहरु गहिरिएर बुझ्नु र बुझाउनु जरुरी छ ।

एउटा सत्यतथ्य कुरा के पोख्न चाहन्छु भने, सरकारले जसरी भए पनि सरकारी ढुकुटी भर्ने अनि रकमको दुरुपयोगभन्दा आफ्नो खोपडीलाई घुमाएर जनताको जीवनयापन सस्तो, सुलभ, सुविधायुक्त र सहुलियतमय बनाइदिने हो ।

अन्त्यमा, एउटा मात्र अनुरोध छ भगवान् ! खराब मानिसलाई राम्रो बनाइदेऊ र राम्रो मानिसलाई जाँगरिलो बनाइदेऊ । अब रह्यो लालसी, स्वार्थी, घमण्डी ! तिनीहरुलाई ठीक गर्ने समय नै हो कि !

प्रतिक्रिया दिनुहोस्