हरेक नेपालीको टाउकोमा ७६ हजार सार्वजनिक ऋण



काठमाडौं । नेपाल सरकारको ऋण २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाख रुपियाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आर्थिक वर्ष २०७९÷८० को तथ्यांक सार्वजनिक गर्दै आन्तरिकतर्फ ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख बराबर र बाह्यतर्फ १० खर्ब ९३ अर्ब ३४ करोड ९३ लाख रुपियाँ तिर्न बाँकी रहेको हो ।

कुल सार्वजनिक ऋणलाई जनसंख्याको आधारमा प्रतिव्यक्ति ऋण ७६ हजार १७७ रुपियाँ बराबर रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म नेपालको कुल ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख रुपियाँ रहेको थियो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्रै २ खर्ब ८ अर्ब ३८ करोड २१ लाख रुपियाँ सार्वजनिक थपिएको छ । जसमध्ये

१ खर्ब ४० अर्ब ८७ करोड ९९ लाख आन्तरिक र ६७ अर्ब ५० करोड २२ लाख बराबर बाह्य ऋण रहेको छ ।

सरकारले गत वर्ष साँवा ब्याजमा २ खर्ब २२ अर्ब ७४ करोड २१ लाख रुपियाँ खर्च गरेको छ । जसमध्ये, आन्तरिक ऋणको १ खर्ब ७९ अर्ब ७२ करोड ५३ लाख र बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा ४३ अर्ब १ करोड ६८ लाख रुपियाँ खर्च गरेको छ ।

सरकारले आन्तरिक ऋणको साँवा १ खर्ब १५ अर्ब ११ करोड ७८ लाख, ब्याज ६४ अर्ब ४९ करोड ४२ लाख र कमिसन ११ करोड ३३ लाख रुपियाँ बराबर खर्च गरेको छ । त्यस्तै बाह्यतर्फ ३४ अर्ब ६१ करोड ७९ लाख साँवा र ८ अर्ब ३९ करोड ८९ लाख रुपियाँ ब्याज भुक्तानी गरेको छ ।

सरकारले आर्थिक वर्ष २०८०÷८१ मा ४ खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये २ खर्ब ४० अर्ब आन्तरिक र बाह्य २ खर्ब १२ अर्ब ७५ करोड बाह्य ऋण उठाउने लक्ष्य लिएको छ ।

आर्थिक वर्ष २०७९÷८० मा व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपियाँ भएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८÷७९ को तुलनामा १५ दशमलव ४५ प्रतिशतले कम हो ।

आर्थिक वर्ष २०७९÷८० नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा १ खर्ब ५७ अर्ब १४ करोड रुपियाँको वस्तु निर्यात गरेको छ । आयात अघिल्लो वर्षको तुलनामा १६ दशमलव शून्य ०८ प्रतिशतले कमी हो । त्यस्तै निर्यात पनि २१ दशमलव ४४ प्रतिशतले कमी हो ।

आव २०७९÷८० मा १७ खर्ब ६८ अर्ब ८७ करोड रुपियाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को तुलनामा ३ खर्ब ५१ अर्ब ६० करोड रुपियाँ कम हो । आर्थिक वर्ष २०७८÷७९ मा वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड रुपियाँ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्