धुलिखेल अस्पतालमा सामाजिक सुरक्षा कोषमा सूचीकृतहरुको उपचार सुरु



काभ्रे।

धुलिखेल अस्पतालमा सामाजिक सुरक्षा कोषमा सुचीकृत भएका व्यक्तिहरूको उपचार सेवा सुरु भएको छ । स्वास्थ्य बीमा गरेका व्यक्तिहरूको उपचार गराइरहेको धुलिखेल अस्पतालले सामाजिक सुरक्षा कोषमा सूचीकृत व्यक्तिहरूको उपचार सेवा सुरु गरेको बताएको छ ।

बनेपाको शिर मेमोरियल अस्पताल पनि उक्त कोषमा सूचीकृत हुने व्यक्तिहरूको उपचारका लागि कोषमा आबद्ध भएको छ । जिल्लाका दुवै अस्पतालबाट नागरिकहरुले सेवा प्राप्त गर्नेछन् । ‘२०८० जेठ २२ गते धुलिखेल अस्पताल र सामाजिक सुरक्षा कोषबीच दुई पक्षीय सम्झौता भई सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका व्यक्तिहरूको उपचार सेवा सुरु गर्ने सहमति भएको छ’– धुलिखेल अस्पतालका प्रशासन प्रद्युम्न श्रेष्ठले भन्नुभयो–‘सम्झौता भएर पनि ई विडिङ्ग नभएका कारण विरामीहरुको रेकर्ड राख्न सकिएको थिएन । बिरामीहरूले उपचार गराएर सिधै सामाजिक सुरक्षा कोषमा लगेर विल बुझाउनु पर्दथ्यो । केही दिन भित्रै अस्पतालबाटै त्यसको रेकर्ड राखेर उपचार सुरु हुनेछ ।’

सामाजिक सुरक्षा कोषमा सुचीकृत व्यक्ति बिरामी भएको अवस्थामा अस्पतालले कोषका तर्फबाट ८० प्रतिशत प्राप्त गर्छ भने व्यक्तिले २० प्रतिशत तिर्नु पर्नेछ । स्वास्थ्य विमा भन्दा यो सेवा फरक खालको रहेको छ । स्वास्थ्य विमाले दुर्घटना तथा अन्य उपचारमा ध्यान दिँदैन थियो । यो कोषबाट विभिन्न अवस्थाको उपचारलाई तोकेको छ । अस्पताल प्रशासनका प्रद्युम्न श्रेष्ठले नागरिकहरुलाई थप सहज बनाउन यो कोष उपयोगी देखेर सुरु गरिएको बताउनु भयो ।

सूचीकृत भएको व्यक्ति बिरामी हुँदा कोषबाट उपचार खर्च बापत वर्षमा बढीमा १ लाखसम्म पाउने व्यवस्था छ । उपचार बापतको रकम दाबी गर्न कोषमा न्यूनतम ३ महिना योगदान गरेको हुनु पर्नेछ । कोषमा योगदान गरिरहेका श्रमिकहरुले औषधी उपचार, स्वास्थ्य सुविधाबापतको दाबी रकम लिने प्रक्रिया अप्ठ्यारो छैन । नजिकैको जुनसुकै अस्पतालमा उपचार गराउन सक्ने व्यवस्था गरिएको छ । अस्पतालको प्रेस्क्रिप्सन, औषधि तथा उपचार खर्चका सक्कल बिल, सामाजिक सुरक्षा कोषबाट प्राप्त कार्डसहित कोषमा उपलब्ध गराएपछि अस्पतालले वा सोझै अस्पतालको विलसहित पेश गरेपछि आवेदन दिन सकिनेछ ।

आवेदन प्राप्त भएपछि कोषले कागजात चेकजाँच गर्छ । सबै कागजात सक्कल भएमा वा बिरामी भएको प्रमाणित भएमा कोषले उपचार बापतको कुल दाबी रकमको ८० प्रतिशत रकम अस्पताल वा व्यक्तिको बैंक खातामा १ हप्तादेखि १५ दिनभित्र जम्मा गरिदिन्छ । धुलिखेल र बनेपामा यो सेवा सुरु भए सँगै रकम नभएका नागरिकहरुलाई पनि सहज हुनेछ । अस्पताल आफैले उक्त रकम लिने भएकाले नागरिकहरुसँग रकम नभएका अवस्थामा पनि उपचारको व्यवस्था हुनेछ ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिकहरुले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा दाबीसँगै मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता, आश्रित परिवार तथा उपदानका लागि दाबी गर्न सक्छन् । कोषमा योगदान गर्ने श्रमिकले औषधि उपचारको हकमा एक वर्षमा बढीमा एक लाख रुपैयाँ पाउँछन् । योगदानकर्ताले यो सुविधा लिन कुल दाबी रकमको २० प्रतिशत आफैँ खर्च बेहोर्नुपर्छ । यसको अर्थ १ लाख रुपैयाँ खर्च भएको दाबी गर्दै गर्दा कोषबाट ८० हजार रुपैयाँ पाइन्छ भने २० हजार आफैँ खर्च गर्नुपर्ने हुन्छ । तर १ लाख २५ हजारको खर्च भएको छ भने उसले १ लाख रुपैयाँ बराबरको सुविधा पाउँछ । तर, यसका लागि श्रमिकले योगदान गर्न थालेको समयदेखि ३ महिना भएको हुनपर्नेछ भने योगदान गर्न छोडेको ३ महिनापछि भने यो सुविधा पाउँदैन ।

यसैगरी यी योजना अन्तर्गत अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने अवस्था बाहेक योगदानकर्ताले चिकित्सकको प्रेस्क्रिप्सन बमोजिम वार्षिक ५० हजार रुपैयाँसम्म पाउँछन् ।

औषधि उपचार भित्र नै मातृत्व सुरक्षाको विषय समावेश गरिएको छ । यो योजनामा महिला योगदानकर्ता सुत्केरी भएको अवस्थामा आधारभूत तलबको ३८ दिनको एकमुष्ट तलबको ६० प्रतिशत रकम पारिश्रमिकका रुपमा सुत्केरीले पाउँछिन् । यो सुविधा कर्मचारी भएको हकमा पाइने हो । कर्मचारी नभएको हकमा भने शिशु स्याहार भनेर एक महिनाको आधारभूत तलबको सुविधा सुत्केरीले पाउँछिन् । शिशु स्याहारबापतको सुविधा पुरुष श्रमिक योगदानकर्ता भएको हकमा हो । तर, श्रीमान–श्रीमती नै योगदानकर्ता भएको हकमा भने एकतर्फबाट मात्रै सुविधा लिन पाउनेछन् ।

योगदानमा आधरित सामाजिक सुरक्षा कोषले ल्याएको दोस्रो स्किममा दुर्घटना तथा अशक्तता सुरक्षा योजना हो । यसले दुई वटा कुरालाई विशेष प्राथमिकता दिएको छ । दुर्घटनाबापतको सुविधा र अशक्तता बापतको सुरक्षा । दुर्घटना तथा अशक्तता भित्र अफिसियल कामको सिलसिलामा भएको दुर्घटनाको हकमा उपचार गर्दा सम्पूर्ण खर्च कोषले बेहोर्छ । अफिसको कामको सिलसिलाभन्दा बाहिर भएको दुर्घटनाको हकमा ७ लाख रुपैयाँसम्मको उपचार खर्च कोषले बहोर्छ । यो सुविधा भने योगदानमा आधारित भएको दिनदेखि सुरु हुनेछ । योगदान गर्न छाडेपछि यो सुविधा पाइँदैन ।

त्यस्तै रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगका कारण अस्थायी रुपमा पूर्ण असक्षमता भएको योगदानकर्ताले भने आधारभूत तलबको ६० प्रतिशत रकम मासिक रुपमा काममा नफर्कँदासम्म पाउँछन् । स्थायी रुपमा असक्षमता भएको अवस्थामा भने उसले पाउँदै आएको पारिश्रमिकको ६० प्रतिशत बराबरको रकमलाई शत प्रतिशत मानी निजको असक्षमता प्रतिशतको आधारमा जीवनभर निवृत्तिभरण सुविधा मासिक रुपमा पाउनेछ । यो कोषमा समावेश हुनेहरुले अन्य विविध सेवा प्राप्त गर्न सक्नेछन् ।

मधुमेह र थाईराईडको विशेषज्ञ सेवा

धुलिखेल अस्पतालमा मधुमेह र थाईराईडको विशेषज्ञ सेवालाई थप विस्तार गरिएको छ । अस्पतालमा डा. राजेन्द्र ताम्राकारको टिमले मधुमेह र थाईराईडबाट हुने विभिन्न प्रकारमा समस्या समाधानका लागि विशेषज्ञ सेवालाई थप प्रभावकारी बनाईएको जानकारी गराईएको थियो । मधुमेहका कारण मिर्गौला, नशा तथा अन्य अङ्गमा हुने समस्याको पहिचान, परीक्षण र उपचारका लागि नयाँ विधि र प्रक्रिया सुरु गरिएको विशेषज्ञ डा. राजेन्द्र ताम्राकारले बताउनुभयो ।

सोही अवसरमा स्त्री रोग विशेषज्ञ डा. सुमनराज ताम्राकार, डा. आभा श्रेष्ठ, प्याथोलोजी विभागका डा. विनोद ढकाल, अस्पताल प्रशासनका प्रद्युम्न श्रेष्ठ लगायतले अस्पताले प्रदान गर्ने सेवा नागरिकहरुका लागि सरलीकृत र गुणस्तरीय बनाउँदै लगिएको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्