अस्पतालको एमआरआई प्रयोगविहीन



वीरगञ्ज । जिल्लाको नारायणी अस्पतालमा रहेको एमआरआई मेसिन चार महिनादेखि प्रयोगविहीन अवस्थामा छ ।

संघ सरकारको स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले ३० करोडमा टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिमार्फत खरिद गरेको एमआरआई अस्पतालमा गत चैत अन्तिम हप्ता नै आइपुगेको थियो ।

तर, अस्पताल प्रशासनको लापरबाहीका कारण उक्त मेसिन अहिलेसम्म पनि सञ्चालनमा आउन नसकेको हो । यसअघि गत जेठ २५ मा अस्पताल प्रशासन स्वयंले एक सूचना नै जारी गरेर गत असार १५ गतेदेखि सेवा शुरू गरिने जानकारी गराएको थियो ।

तर, अस्पताल प्रशासनले जारी गरेको उक्त सूचनामा उल्लेख गरिएको मिति बितेको तीन हप्ता भइसक्दा पनि एमआरआई सेवा शुरू हुन सकेको छैन ।

अस्पतालमा एमआरआई कक्ष तयार गरी एमआरआई मेसिन जडान गरिसकिएको भए पनि उक्त मेसिन सञ्चालनका आवश्यक जेनेरेटरको व्यवस्थापन हुन नसकेका कारण सेवा सञ्चालनमा आउन नसकेको हो ।

अस्पतालमा एमआरआई मेसिन आपूर्ति गरेको आपूर्तिकर्ता लुम्बिनी हेल्थका प्राविधिक इञ्जिनियर विनोद चौधरीका अनुसार मेसिन सञ्चालनका लागि ५०० केभीए क्षमताको जेनेरेटेर चाहिन्छ ।

चौधरीले ‘मेसिनलाई २४ सै घण्टा चिसोमा राख्नुपर्छ यदि १० मिनेट पनि पावर सप्लाई बन्द भयो भने मेसिनबाट अति संवेदनशील लिथियम ग्यास लिक भईहाल्छ,जसले ठूलो क्षति हुनसक्छ, त्यसका कारण यो मसिनका लागि ५०० केभीए क्षमताकै जेनेरेटेर चाहिने भएकाले पनि सञ्चालनमा समस्या भएको बताउनुभयो ।

अहिले अस्पतालमा २०० केभीए क्षमताको मात्रै जेनेरेटर छ । उक्त जेनेरेटरबाटै अस्पतालका विभिन्न कक्षमा विद्युत आपूर्ति भइरहेको छ ।

अस्पतालका मेसु डाक्टर चित्तरञ्जन साह अनुसार एमआरआई कक्षमा मेसिन जडान कार्य सकेर एक महिना पहिले २०० केभीए क्षमताकै जेनेरेटर चलाएर मेसिनको परीक्षण गरिएको थियो ।

त्यसैक्रममा आवश्यक विद्युतीय ऊर्जा नपुग्दा मेसिनबाट हिलियम ग्याँस लिक भएको थियो । मेसिन सञ्चालनका लागि चाहिने ५०० केभीए क्षमताको नयाँ जेनेरेटर खरिदका लागि आवश्यक बजेट अस्पतालसँग नभएको अस्पतालका मेसु साहले बताउनुभयो ।

बजेटको व्यवस्थापन नहुँदासम्मका लागि मासिक चार लाख ५० हजार रुपियाँ भाडा तिर्ने गरी ५०० केभीए क्षमताको जेनेरेटर ल्याएर अस्पतालमा राखेको छ ।

भाडामा जेनेरेटर ल्याएको दुई हप्ता बितिसक्दा पनि सेवा शुरू गरिएको छैन । उहाँले लिक भएको हिलियम ग्यास रिफल गर्न आपूर्तिकर्ताले विलम्ब गरिरहेको जानकारी दिनुभयो ।

यसका साथै भाडामा ल्याइएको ५०० केभीए क्षमताको जेनेरेटर सञ्चालनका लागि आवश्यक पर्ने अटोमेटिक प्यानल बोर्ड बजारमा नपाएर समस्या भएको अस्पतालका सूचना अधिकारी डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्