आज मौद्रिक नीति : आर्थिक वृद्धिदर, ब्याजदर नियन्त्रण, लगानी प्रोत्सहानमा दबाब



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका निम्ति आज आइतबार मौद्रिक नीति ल्याउने तयारी गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा छलफल गर्न आइतबार विहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाएको स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दियो । सरकारले आर्थिक वर्ष २०८०÷८१ का निम्ति बजेट सार्वजनिक गरेको करिब डेढ महिनापछि मौद्रिक नीति आउन लागेको हो ।

राष्ट्र बैंक व्यवस्थापनले मौद्रिक नीतिको खाका तयार गरेको भए पनि सञ्चालक समितिले आवश्यक थपघट गरेपछि मात्रै सार्वजनिक हुनेछ । सरकारको बजेट घाटा उच्च रहेको, पुँजीगत खर्च वृद्धि हुन नसके पनि निर्माण सम्पन्न आयोजनाहरूको भुक्तानी हुन नसकेको तथा राजस्व संकलन न्यून रहेको देशको आर्थिक पृष्ठभूमिमा केन्द्रीय बैंकको मौद्रिक नीतिलाई निजी क्षेत्रले सुक्ष्म ढंगबाट हेरेको छ ।

विशेषगरी ब्याजदर नियन्त्रण र कर्जा लगानीमा उदार हुने गरी केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउनुपर्ने निजी क्षेत्रको माग छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले भने निक्षेप गणनामा राष्ट्र बैंकले खुकुलो नीति ल्याउनुपर्ने अपेक्षा गरेका छन् । पुँजीग खर्च न्यून हुँदा स्थानीय तहको बजेटलाई बैंकहरूले निक्षेप गणना गर्ने विषयमा केन्द्रीय बैंक लचिलो हुनुपर्ने माग उनीहरुको छ । उता पुँजी बजार, घरजग्गा र अटो मोबाइल क्षेत्रमा केन्द्रीय बैंक उद्दार हुनुपर्ने माग लगानीकर्ताले उठाउँदै आएका छ । त्यस्तै मूल्यवृद्धि र आर्थिक वृद्धिसम्बन्धी चालू आर्थिक वर्षको बजेटले लिएका लक्ष्यलाई सहयोग पुग्ने गरी मौद्रिक नीति आउनुपर्ने राष्ट्र बैंकलाई सरकारको सुझाव छ । हाल बैंक तथा वित्तीय प्रणालीमा रहेको वैदेशिक मुद्राको सञ्चितिलाई जोगाउनुपर्ने दायित्व पनि राष्ट्र बैंकसँग रहेको छ । गत आर्थिक वर्षमा वैदेशिक मुद्राको सञ्चिति अर्थतन्त्र दबाबमा परेको थियो । यसअघि प्रतिनिधिसभाको अर्थ समितिले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिदर हासिल गर्न आवश्यक पर्ने लगानी र आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने गरी मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सुझाव दिएको थियो ।

त्यस्तै शैक्षिक प्रमाणपत्र धितोमा दिइने कर्जा, स्टार्टअप व्यवसायलाई दिइने कर्जालगायतका उद्यमी लक्षित कर्जासम्बन्धी व्यवस्थाको कार्यान्वयन प्रभावकारी बनाउन पनि समितिको सुझाव छ । पुँजीलाई चलायमान गर्न, सरकारी खर्च धान्ने गरी राजस्व परिचालन हुने व्यवस्था मिलाउन र व्यवसायीलाई सहज बनाउने गरी नीतिगत प्रबन्ध गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ । यसैबीच मूल्यवृद्धिलाई वाञ्छित सीमाभित्र राख्ने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति आउने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनु भएको छ । प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले सो कुरा बताउनुभएको हो ।

चालू आर्थिक वर्षका लागि सरकारले मूल्यवृद्धिलाई साढे ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ । गत आर्थिक वर्षको मूल्यवृद्धि बान्छित सीमा ७ प्रतिशत रहेकामा त्योभन्दा माथि नै रहने देखिएको गभर्नर अधिकारीको भनाइ छ । बाह्य क्षेत्र सन्तुलित अवस्थामा रहेको उल्लेख गर्दै उहाँले ब्याजदर घट्दो क्रममा रहेको, पर्याप्त तरलतालगायतका केही सकारात्मक सूचक देखिए पनि मूल्यवृद्धि नियन्त्रण हुन नसकेको बताउनुभयो ।

राष्ट्र बैंकले आगामी साता मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । सोही विषयमा बिहीबार अर्थ समितिमा छलफल भएको थियो । अर्थतन्त्रलाई सन्तुलित अवस्थामा राख्न के–कस्ता उपकरण प्रयोग गर्ने भन्ने विषयमा राष्ट्र बैंकले उचित निर्णय लिने पनि उहाँको भनाइ छ ।

बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी मौद्रिक नीतिको तयारी भइरहेको उहाँको भनाइ छ ।

अहिले सञ्चित कोष १ खर्ब ९३ अर्ब रुपियाँले घाटामा र बैंकिङ प्रणालीमा ८८ अर्ब ५४ करोड अधिक तरलता रहेको भन्दै हाल चालु खाता घाटा ७० अर्ब रहेको र बजारमा शिथिलता देखिएका कारण कर्जा असुलीमा समस्या भएको गभर्नर अधिकारीले बताउनुभयो ।

घरजग्गा क्षेत्र कारोबारमा घट्नु, सरकारी राजस्व लक्ष्यअनुसार उठ्न नसक्नु, र पुँजीगत खर्च न्यून हुनु अहिलेको समस्या रहेको उहाँको भनाइ छ । कर्जा र निक्षेपको ब्याजदर तथा आधारदर घट्ने क्रममा रहेको र सिडी रेसियो ८२ प्रतिशतमा आएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्