सन्दर्भ : पुष्पलाल स्मृति दिवस ‘नेपाल रत्न’ पुष्पलालको योगदान र हाम्रो दायित्व



नेपालको राजनीतिक इतिहासको कालखण्डमा पृथ्वीनारायण शाहले शुरुवात गरेको नेपाल एकीकरणको अभियान भीमसेन थापासम्म चल्यो । सो अवधिमा नेपालको राजनीतिक राज्यसत्ता र शक्तिको खिचातानी पनि सँगसँगै मौलाइरहेको थियो । शाहवंशको शक्ति खिचातानीको रुप राज्यलक्ष्मीसम्म आइपुग्दा राजनीतिक शक्तिको हस्तान्तरण जंगबहादुरको हातमा पुग्यो र राणा शासनकोे उदय भयो । १०४ वर्षसम्म जहानियाँ राणा शासन चल्यो । सो दौरानमा राणाहरूले आफ्नो शासन सत्ता टिकाउनका लागि जनताको मौलिक हक–अधिकारहरूमाथि अंकुश लगाए भने जनजीविकाका सवालमा ज्यादै कमजोर भएको इतिहासबाट प्रस्ट हुन्छ । तर राणाहरूले राष्ट्र र राष्ट्रियताका सवालमा भने सतिसालझैँ दह्रो र निर्भिकतापूर्वक विश्वराजनीतिमा उभ्याए । जुन सबैका लागि एउटा अनुशरणीय, प्रशंसनीय र गौरवमय छ । मातृभूमिको अस्मिताका खातिर देखाएको वीरता र कूटनीतिक चातुर्यता सिंगो नेपाल र नेपालीको लागि गौरवको विषय हो ।

जनजीविका र स्वतन्त्रताका सवालमा राणाहरूले लादेको निरङ्कुश तन्त्रको विरोध गर्दै नेपाली राष्ट्रिय कांग्रेस, प्रजा परिषद्जस्ता पार्टीहरू स्थापना भए । स्वतन्त्रताका खातिर लागेका युवाहरूलाई १९९७ सालमा राणाहरूले गरेको क्रूर दमन, यातना र मृत्युदण्डको राजनीतिक परिणति २००७ सालको प्रजातन्त्र हो ।

वि.सं. १९९७ मा तत्कालीन शासनद्वारा फाँसी दिइएकामध्ये सबैभन्दा कान्छो योद्धा शहीद गंगालाल हुन् । उनीहरूको हत्याले नेपाली राजनीतिमा एउटा छुट्टै आयाम थप्न सफल भयो । पुष्पलालले १९९७ सालमा आफ्नो दाजु गंगालालले सहादत प्राप्त गर्नुअगाडि ‘नेपाली जनताको जनजीविका र मौलिक अधिकारका लागि आफूले बालेको दियो निभ्न नदिनु है माइँला’ भन्ने मार्मिक भनाइले पुष्पलाललाई राणा–शाहीको विरुद्ध उभिनका लागि प्रेरणा र दायित्वबोध गरायो । तत्पश्चात् पुष्पलालले राणा शासनको अन्त्यका लागि संगठित सङ्घर्षको परिकल्पना गरेका थिए । नेपाली राष्ट्रिय कांग्रेसमा संगठित भई कार्यालय सचिवजस्तो गहन जिम्मेवारीसमेत सम्हालिसकेका थिए ।

राष्ट्रिय कांग्रेसभित्र मातृका, सुवर्ण र कोइरालाबीचको पदीय खिचातानीलाई नजिकैबाट नियालेका पुष्पलालले २००५ सालमा कांग्रेसले पनि देश उँभो लगाउने नदेखेपछि पुष्पलालले आफू पार्टीमा नरहेको भनी पत्र लेख्दै पार्टी परित्याग गर्नुभयो । राणा–शाहीलाई अन्त्य गर्न सक्ने एउटा दह्रिलो र जनताको पक्षमा लड्ने पार्टीको खोजीमा लाग्नुभयो ।

कम्युनिस्टले मात्र गरिब जनताको पक्षमा काम गर्छन् भन्ने कुरा सुनेकोले भारतीय पुस्तकालयमा गई अध्ययन गर्ने क्रममा कम्युनिस्ट घोषणापत्रलाई अंग्रेजीबाट नेपालीमा अनुवाद गरी २००६ साल वैशाख १० गते सहकर्मी निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशीको उपस्थितिमा कलकत्ताको श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो र ढिला पुग्नुभएकी मोतीदेवी श्रेष्ठलाई पनि पार्टीमा आबद्ध गर्नुभयो । सो कमिटीमा महिलालाई पनि समावेश गराउनुले समावेशिताको सिद्धान्त कमरेड पुष्पलालले कम्युनिस्ट पार्टीको स्थापनाकै बेला अवलम्बन गर्नुभएको ज्वलन्त उदाहरण हो ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापनापश्चात् पार्टीभित्र झाँगिएको नेतृत्वको हानथापले फरक विचारको समेत बीजारोपण ग¥यो । जसले गर्दा पार्टीमा फुट आउँदा कम्युनिस्ट आन्दोलन कमजोर अवस्थामा पुग्यो । पार्टी स्थापनाको बखतमा लिएको ‘नयाँ जनवादी क्रान्तिको कार्यक्रम’ पछि गएर राष्ट्रिय प्रजातन्त्र र पछिल्लो कालखण्डमा बहुदलीय जनवादमा पुगेको देखिन्छ । दोस्रो महाधिवेशनमा कमरेड पुष्पलालको कार्यनीति नयाँ जनवादी क्रान्ति पास भए पनि महासचिवमा भने डा. रायमाझी निर्वाचित भएको इतिहासले नेतृत्वको चाहना र त्यसको लागि गरिएका गुटबन्दी र छलछामहरू कम्युनिस्ट आन्दोलनका लागि घात सार्थक भएको इतिहासबाट देखिन्छ । पछि तेस्रो महाधिवेशनमा तुल्सीलालले पेस गर्नुभएको राष्ट्रिय प्रजातन्त्रको कार्यनीति पास भई पार्टीको बागडोर समाउनुभएका तुल्सीलालले पार्टीलाई सुषुप्त र निष्कृय बनाउनुभयो । तत्पश्चात् पुष्पलालले २०२५ सालमा तेस्रो सम्मेलनको आयोजना गरी पार्टीलाई जोगाउनुभयो र नयाँ जनवादी क्रान्तिको कार्यनीतिलाई निरन्तरता दिनुभयो ।

कमरेड पुष्पलाललाई तेस्रो महाधिवेशनसम्म निस्तेज पार्न खोजियो तर उहाँ पार्टी अन्तरसंघर्षमा निरन्तर लाग्नुभयो । कमरेड पुष्पलालले नेपालको वर्गीय र राजनीतिक विश्लेषणपश्चात् संयुक्त जनआन्दोलनको कार्यनीति अगाडि सार्दा ‘गद्दार पुष्पलाल’, ‘कांग्रेसको पुच्छर’ जस्ता आरोप र लान्छना सहनुपरेको थियो । राजनीतिक दूरदर्शी नेता क. पुष्पलाल सतीसालझैँ अडिग र निर्भिकतापूर्वक उभिनुभयो । पार्टी सशक्तीकरणका लागि सधैँ लागिपर्नुभयो ।

एक्लाएक्लैले गरेको हरेक आन्दोलन बिफल भएपछि कमरेड पुष्पलालले देखाउनुभएको संयुक्त जनआन्दोलनको सिद्धान्त अख्तियार गर्नु अनिवार्य हुन पुग्यो । संयुक्त वाममोर्चा र नेपाली कांग्रेसको संयुक्त आन्दोलनले ०४६ सालमा पञ्चायती निरंकुश शासनको अवसान भयो । त्यसै गरी २०६२÷६३ को लोकतान्त्रिक आन्दोलन पनि संयुक्त जनआन्दोलनको अर्काे रुप थियो । जुन आन्दोलनले शान्तिपूर्ण बाटोबाट राजतन्त्रको अन्त्य भई संघीय गणतन्त्र नेपालको स्थापना भयो ।

नेपालमा गणतन्त्र स्थापनाका लागि सशस्त्र क्रान्ति सम्भव नभएको तसर्थ संयुक्त जनआन्दोलन, संसदीय व्यवस्थानको व्यापक उपयोग, त्यसपछि प्राप्त हुने उपलब्धिबाट नेपाली जनताको आर्थिक, सामाजिक र जनजीविकाका सवालमा आमूल विकास र परिवर्तनपश्चात् प्राप्त हुने जनमतबाट संविधानसभा र संविधान संशोधन गर्दै शान्तिपूर्ण बाटोबाट गणतन्त्र नेपालको स्थापना हुनेछ भन्ने विश्लेषण र मार्गदर्शन कमरेड पुष्पलालको थियो । सोही विश्लेषण अनुरुप आजको राजनीतिक उपलब्धि हो भन्दा फरक पर्दैन ।

नेपालमा कमरेड पुष्पलाल जस्ता विचारक, वीर शहीदहरूको बलिदान, लोकतान्त्रिक पार्टीहरूको आन्दोलन र नेपाली जनताको अभिमतबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । तर देश र जनताप्रतिको अनुत्तरदायी प्रवृत्तिले गर्दा संघीय गणतन्त्रप्रति अनास्था बढेको अवस्था छ, धर्म निरपेक्षता र संघीय गणतन्त्रमाथि नै प्रहार हुन खोजेको छ । यदि देशको राजनीतिले पश्चगामी मोड लिएमा देशले पुनः दशकौँ राजनीतिक अस्थिरता भोग्नुपर्नेछ । यसबाट जनजीविका थप पछि पर्नेछ । अहिलेका लोकतान्त्रिक पार्टीहरुले यसको जिम्मेवारी लिनुपर्छ । तसर्थ यसलाई रोक्न हाल देखिएको राजनीतिक विचलन, भ्रष्टाचारबाट माथि उठ्नुको विकल्प छैन । अन्यथा आउँदो निर्वाचनमा गणतान्त्रिक शक्तिहरू क्षीण हुँदै जाने र नीति र पार्टीविनाका जनप्रतिनिधिको व्यापक प्रतिनिधित्व हुनेछ । परिणाम देशले लक्ष्यहीनता व्यहोर्नुपर्नेछ र हालसम्म प्राप्त गरेका उपलब्धिहरूमाथि खतराको सम्भावना क्रमशः बढ्नेछ । तसर्थ यसलाई रोक्नका लागि लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्छ भने नेपाली कम्युनिस्ट आन्दोलनका नाममा टुक्रिएका पार्टीहरुको कार्यगत एकता मात्र नभएर पार्टी एकीकरण गर्नु आजको आवश्यकता हो ।

अझ उदेक लाग्दो कुरा त ! भुटानी शरणार्थी, ललिता निवास, विभिन्न क्षेत्रमा देखिएको मन्त्री, नेतादेखि कार्यकर्तासम्मले गरेका भ्रष्टाचारदेखि नीतिगत भ्रष्टाचारसम्मका परिघटनाहरूले लाजमर्दाे बनाएका छन् । यसमा दोषी केवल सरकार, नेता र कार्यकर्ता मात्र होइन जनता पनि उत्तिकै दोषी छन् । यो देशलाई रुपान्तरण सरकार र नेताले मात्र गरेर हुन्न । देशलाई साँच्चै अगाडि बढाउने हो, सरकारले आर्थिक क्रान्तिको वातावरण बनाउने र नेपाली जनताले आजैबाट उत्पादनका क्षेत्रमा हली, गोरु, रोपार र खेताला बन्दै आ–आफ्नो क्षेत्रबाट उठ्नु, बाँझा खेत खलियानलाई उर्बर बनाउँदै नगदे बालीमा केन्द्रित हुन जरुरी छ । रेमिट्यान्सको आशा नगरी खाद्यमा आत्मनिर्भर हुनुपर्छ र तत्पश्चात् निर्यातको क्षमता अभिवृद्धि गर्न जरुरी छ । यसले कृषिक्षेत्रमा क्रान्ति ल्याउनेछ भने छरिएको पुँजीलाई एकत्रित गर्दै पुँजीपति वर्गले कलकारखानाको स्थापना गरी औद्योगिक क्रान्ति गर्न जरुरी छ ।

कमरेड पुष्पलालको मार्गदर्शन अनुसार प्राप्त गणतन्त्रलाई सर्वसम्मत बनाउनका लागि गणतन्त्रका पक्षधर शक्तिहरूले अबका दिनमा देशमा आर्थिक, सामाजिक क्रान्तिको साथै जनजीविकाका सवालमा फड्को मार्नु नै आजको प्राथमिक आवश्यकता हो ।

कमरेड पुष्पलालजस्ता युग प्रवत्र्तक दूरदर्शी नेतालाई ओझेलमा पार्ने कोशिश निरन्तर भैरहेको भान भएको छ । कम्युनिस्ट आन्दोलनमै पनि उहाँलाई छायामा पार्ने कोशिशहरु भए । समयको अन्तरालमा कमरेड पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको समयमा २००६ सालमा उहाँले अख्तियार गर्नुभएको बाटो नै नेपाली राजनीतिका लागि मूलबाटो बन्यो । नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातान्त्रिक शक्ति कांग्रेस र त्यसका नायक बीपीलाई वामहरूले सधैंँ सम्झने गरेका छन् । तर विडम्बना पुष्पलालको यति धेरै योगदान हुँदाहुँदै पनि कांग्रेसले नामसम्म लिन कन्जुस्याइँ गर्ने गरेको पाइन्छ । नेपालको राजनीतिक आन्दोलनरुपी सिक्काको पुष्पलाल एउटा पाटो हो भने बीपी अर्काे पाटो । यो वास्तविकतालाई बिर्सेझैँ गरेर तीनै तहका सरकारले कमरेड पुष्पलालको स्मृतिमा स्थापित संस्थाहरूलाई पूर्वाग्रहपूर्ण व्यवहार गरेको २०८०÷८१ को बजेटमा प्रस्ट देखिन्छ । जसको योगदानबाट आजको राजनीतिक परिवर्तन र उपलब्धि हासिल गरेको छ, त्यस्तालाई उपेक्षा गर्नु यो विडम्बना र निन्दनीय कार्य हो । यस्तो पूर्वाग्रही भावनाबाट माथि उठ्नु पनि आजको राजनीतिक आवश्यकता हो ।

अर्कोतिर कम्युनिस्ट नेता तथा नेतृत्वमै आएको सैद्धान्तिक र व्यावहारिक विचलनका कारण देखिएको एकपछि अर्को फुट, एक–अर्काप्रति गरिने गरेका अराजनीतिक गालीगलौज, वैयक्तिक दम्भ र आफूलाई मात्र सही ठान्ने गलत मनोवृत्तिले नेपालको कम्युनिस्ट आन्दोलनलाई रसातलतिर पु¥याइरहेको वर्तमान परिवेश अत्यन्त दुःखदायी छ ।

हिजो पनि नेकपामा आएको फुट र विखण्डनले क. पुष्पलालको अडानलाई हल्लाउन सकेको थिएन । कम्युनिस्ट पार्टीमा आएको विचलनको विषयमा उहाँ निकै चिन्तित हुनुहुन्थ्यो । सोही चिन्ताले पनि उहाँ बिरामी पर्नुभएको देखिन्छ । आखिरमा ०३५ साल साउन ७ गते गोविन्द वल्लभ पन्त अस्पतालमा उहाँको निधन भयो । उहाँको निधन भएको पनि ४५ वर्ष भैसकेको छ । गणतन्त्र नेपालको पहिलो विचारक तथा कल्पनाकार, नेपाली राजनीतिका शिखर पुरुष ‘नेपाल रत्न’ कमरेड पुष्पलालको ४५औं स्मृति दिवस मनाउंँदै गर्दा उहाँले देखाउनुभएको मार्गबाट प्राप्त उपलब्धिलाई उपयोग गर्दै नेपाली जनताको आर्थिक, सांस्कृतिक र जनजीविकाको पक्षमा छलाङ मार्न सबैलाई प्रेरणा मिलोस् ।

(लेखक महर्जन पुष्पलाल स्मृति प्रतिष्ठानका कार्यालय सचिव हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्