सय किलोग्राम सुन तस्करी प्रकरण : संगठित अन्तर्राष्ट्रिय आपराधिक गिरोहको संलग्नता !

छानबिन शुरू हुँदै गर्दा दिल्ली पुगे रोहन अदुकिया



काठमाडौं । गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै संयन्त्र पार गरेर गन्तव्यतर्फलैजान लागेको करिब १ सय किलोग्राम सुन तस्करी प्रकरणमा संगठित अन्तर्राष्ट्रिय आपराधिक गिरोह नै संलग्न रहेको पछिल्लो घटनाक्रमले देखाएको छ ।

विमानस्थलमा रहेको भन्सार कार्यालयबाट बाहिरिएको उक्त सुन हङकङबाट नेपाल ल्याएर यहाँबाट भारत पठाउने गिरोहले नेपालका सबै निकायलाई सेटिङ गरेर भारत लैजाने क्रममा विमानस्थल बाहिरबाट समातिएपछि नेपालमा अवैध सुनको कारोबार गर्नेमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धान शुरू गर्ने भएको छ ।

नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्लले नेपाल समाचारपत्रसँग कुरा गर्दै यसपटक नेपालमा समातिएको सुनको लगानीकर्तामा चिनियाँ आपराधिक समूह,भारतीय आपराधिक समूह र बिचौलियाको भूमिकामा रहेका नेपालका केही सुन व्यापारीसमेत संलग्न रहेको आशंका व्यक्त गर्नुभयो । उहाँले हङकङबाट नेपाली भूमि हँुदै भारत पठाउने गिरोहको संगठित समूह नै यसमा संलग्न रहेको देखिएको रलगानीको हिसाबले हेर्ने हो भने समातिएको सुनमा सबैभन्दाठुलो लगानी भारतीय समूहको रहेको विगतको अनुसन्धानले पनि पुष्टि गर्ने बताउनुभयो ।

पूर्व डीआईजी मल्लले भन्नुभयो– ‘स्कुटरमा लाग्ने ब्रेक सु किन हङकङबाट लगातार आएको छ यसको सूक्ष्म विश्लेषण गरियो भने धैरै कुरा बाहिर आउँछ । नेपाली बजारका लागि सबैभन्दा सस्तो बजार भनेको भारत हो, भारतमा पाईने ब्रेक सु किन हङकङबाट लगातार ल्याइयो? यो विषयमा विमानस्थलको भन्सार कार्यालयले सोधखोज गर्नुपर्ने विषय थियो तर त्यो भएको पाइँदैन ।’

भन्सार कार्यालयमा राम्राभन्दा पनि आफ्ना मान्छेलाई लगेर राख्दाको गलत परिणाम भएको बताउँदै पूर्व डीआईजी मल्ल भन्नुहुन्छ– ‘कहीँ कतै मिलेमतो नभई त्यत्रो परिमाणको सुन कसरी आउन सक्छ? सरकारले उक्त सुन प्रकरणका बारेमा छानबिन गर्न नेपाल प्रहरीलाई दिनुपर्दछ ।’ भारतीय बजारमा सुनको माग प्रतिवर्ष १२ सयदेखि १३ सय टन रहेपनि भारत सरकारले भने ८ सयदेखि ९ सय टन मात्रै आयातको अनुमति दिएकाले पनि सुन तस्करहरूले नेपाली भूमि वा अन्य भूमि प्रयोग गरेर अवैध रूपमा सुन भित्र्याउने गरेको पाइएको उहाँको भनाइ छ ।

नेपालमा पनि प्रतिदिन ४० केजी सुनको माग भएपनिसरकारले भने प्रतिदिन २० केजी मात्रै आयात गर्ने अनुमति दिएकाले सुन तस्करहरूले खाडी मुलुकमा कामको खोजीमा गएका कामदारहरूलाई प्रयोग गरेर अवैध रूपमा सुन नेपाल ल्याउने र त्यसरी ल्याएको सुन बजारमा पठाउने गरेको पूर्व डीआइजी मल्लले बताउनुभयो । नेपालमा हरेक वर्ष ७ हजार ३ सय केजीभन्दा बढी सुन अबैध रूपमा भित्रने गरेको भएपनि सरकारले भने त्यसतर्फ ध्यान दिन नसक्दा राज्यले हरेक वर्ष करोडौं रुपियाँ राजस्व गुमाएको छ भने अवैध रूपमा सुन भित्र्याउने गिरोह मोटाउँदै गएको देखिन्छ ।

मुलुकको पुरानो र एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको सुरक्षा प्रबन्धका बारेमा समेत पटकपटक प्रश्न उठेपनि त्यसको सुधार गर्नेतर्फ राजनीतिक नेतृत्व उदासीन बन्दा संगठित रूपमा अपराध गर्ने गिरोहकालागि नेपाल स्वर्गजस्तै बन्दै गएको भुक्तभोगीहरू बताउँछन् ।

नेपाली सुन तस्करीमा संलग्न रहँदै आएका व्यक्तिको सहयोगमा चिनियाँ र भारतीयसुन तस्करको संगठित गिरोह संलग्न रहेको हुनसक्ने आशंका पूर्व डीआईजी मल्लले गर्नुभएको छ । सुन तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवान र भारतीय नागरिक थाप्तेन छिरिङ पक्राउ परेपछि नेपालका केही सुनको अवैध कारोबार गर्नेहरू भाग्ने तयारीमा रहेका छन् ।

एक सय केजी सुन तस्करीमा राकेश अदुकियाको बाबु छोराको नाम जोडिएपछि अदुकियाका छोरा रोहन अदुकिया शुक्रबार काठमाडौंबाट भारतको राजधानी नयाँदिल्लीतर्फ लाग्नुभएको छ । लामो समयदेखि हङकङकबाट सुन तथा चाँदीको व्यापार गर्दै आएका राकेश अदुकियाको समेत यसमा संलग्ता रहेको हुनसक्ने आशंका व्यक्त भइरहेको बेला उहाँका छोरारोहन भारततर्फ लाग्नुले थप आशंका जन्मिएको छ ।

राजस्व अनुसन्धान विभागले उक्त सुन काण्डमा नेपाली नागरिकको संलग्नताको बारेमा खोजी गर्न थालेपछि राकेशका छोरा रोहन अदुकिया शुक्रबार नेपाल वायुसेवा निगमको उडान नम्बर २०५ बाट दिल्ली जानुभएको हो ।

अदुकियाका बाबुछोराले हङकङबाट चाँदीमा सुन मिसाएर नेपाल ल्याउने र नेपालमा चाँदीको मात्रै भन्सार तिरेर सुनलाई छुट्याएर नेपाली बजारमा लैजाने गरेको आरोप अदुकिया बाबु छोरामाथि लाग्दै आएको छ ।

लामो समयदेखि उक्त व्यापारमा संलग्न रहेका अदुकिया पछिल्लो समय गत असार २० गते हङकङबाट नेपाल आएका थिए । अदुकियाको गतिविधि शंकास्पद रहेको भन्दै अदुकियालाई पनि छानबिनको दायरामा ल्याउने तयारी विभागले गरेपछि अदुकिया पुनः हङकङ जाने तयारीमा रहेको उहाँ निकट स्रोतले जानकारी दियो ।

यसपटक समातिएको सुनमा उहाँको कुनै न कुनै किसिमको संलग्नता रहेको आशंका प्रहरीको उच्च स्रोतले गरेको छ । प्रहरी स्रोतका अनुसार उहाँको विगतको छवि पनि विवादास्पद भएकाले यो सुन काण्डमा उहाँको संलग्नता रहेको हुनसक्छ । यस विषयमा अदुकियासँग सम्पर्क राख्दा नेपालमा समातिएको सुनसँग आफ्नो कुनै साइनो नरहेको र यो आफूलाई बद्नाम गराउने गिरोहको काम भएको दाबी गर्नुभयो ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले गत बुधबार राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको सुनको छानबिन प्रक्रियालाई तीव्र बनाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘हामीले अनुसन्धानलाई तीव्रता दिएका छौं । छिट्टै केही नयाँ तथ्य आउने विश्वास गरेका छौं ।’

यो संगठित अपराध भएकाले राजस्व अनुसन्धान विभागले मात्रै अनुसन्धान गरेर यो काण्डको पटाक्षेप नहुने धारणा राख्दै पूर्व डीआईजी हेमन्त मल्ल सरकारले यसको छानबिन गर्न प्रहरीलाई दिनुपर्ने बताउनुहुन्छ ।

विस्तृत अनुसन्धानका लागि तोकियो ५ जना अधिकृत

राजस्व अनुसन्धान विभागले गत बुधवार बरामद गरेको करिब सय केजी सुनबारे विस्तृत अनुसन्धान गर्न शनिवार ५ जना अधिकृतलाई जिम्मेवारी दिएको छ । जिम्मेवारी दिइएका अधिकृतको सुरक्षालाई ख्याल गर्दै उनीहरूको नाम भने गोप्य राखेको छ । अवैध सुनको कारोबारमा जोडिएका अरू व्यक्तिको खोजीका लागि अनुसन्धान अधिकृत तोकिएको राजस्व अनुसन्धान विभागले बताएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार सेटिङ गरेर अवैध रूपमा नेपाल भित्रिएको सुन विभागले बरामद गरेको थियो । यो सुन प्रकरणमा विभागले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको छ ।

पक्राउ परेकाहरूले बयानमार्फत थप कसैको नाम पोल्ने र अनुसन्धान गर्दा थप प्रमाण फेला पार्न सकिन्छ कि भनेर अबको अनुसन्धान त्यतातर्फ केन्द्रित गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्