उद्योगबाट निस्कने फोहोर पानीले करिब सय घरपरिवार पीडित



भद्रपुर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) उद्योगबाट निस्कने फोहोर पानीले करिव सय घर परिवार पीडित बनेका छन् ।

मेचीनगर–७ स्थित सञ्चालित डेरी उद्योगबाट निस्किने फोहोर पानीले दुईवटा टोलका एकसय परिवार दुर्गन्धित बनेका हुन् ।

उद्योगबाट केमिकल सहितको सेतो फोहोर पानीले ईच्छा टोल विकास र जोरसिमल टोल विकास समितिका स्थानीय पीडित बनेका छन् ।

वडा नम्बर ७ का मेलमिलाप समितिका सदस्य एवम् जोरसिमल टोलका स्थानीय नरपति काफ्लेले डेरीबाट निस्किएको फोहोर मुख्य राजमार्ग छेउको कल्र्भट मुनीको नालीमा सिधै पाइप लगाएर खसाल्ने गरेको बताउँनुभयो । नालीमा खसालेको फोहोर पानी दक्षिणतिर बगेर गाउँमा पुग्ने गरेको बताउँनुभयो ।

फोहोर पानीको व्यवस्थापनका लागि पटक–पटक नगरपालिका गएपनि सुनुवाई नभएको काफ्लेको आरोप छ । न्यायिक समितिमा दुवै पक्ष बसेर छलफल गरी निर्णयमा पुग्दा पनि डेरीले कार्यान्वयन नगरेको उहाँले आरोप लगाउँनुभयो ।

नालीमा औषधि छिट्ने, दिर्घकालीन समाधान लगायतको व्यवस्थापन गर्न डेरीलाई न्यायिक समितिले सुझाव दिइएको थियो । तर, सो निर्णय कार्यान्वयन नभएकोमा स्थानीय टोलबासीहरु चिन्तित बनेका छन् ।

नाली छेउ घर भएकी स्थानीय मुना खड्काले डेरी उद्योग नहुँदा समस्या थिएन तर डेरी आएपछि घरमा सबै विरामी हुन थालेको बताउँनुभयो । सधै नालीमा फोहोर आउन थालेपछि गन्हाएर घरमा बसिसक्नु नभएको उहाँले पीँडा सुनाउँनुभयो । मौरीको गोला जस्तै लामखुट्टे घरभरी आएका कारण टोकेर ७ वर्षको छोरा विरामी परेको उहाँको भनाइ छ । केमिकल जस्तो गन्ध धेरै आउने गरेको उहाँले बताउँनुभयो ।

रातदिन पीँडा बोकेर बाँचिरहेको स्थानीय बमबहादुर खड्काले बताउँनुभयो । डेरी उद्योग र नगरपालिका धेरै पटक गएपनि अहिलेसम्म सुनवाई नभएको उहाँको भनाइ छ । बर्षायाममा अलिक कम गन्हाउँछ । तर लामखुट्टेले नछाडेको साथै चैत र वैशाख तथा गर्मीको समयमा गन्हाएर घरमा बस्न नसकिने उहाँले बताउँनुभयो ।

एनएमसीका निवर्तमान वरिष्ठ उपाध्यक्ष एवम् डेरी उद्योग समितिका संयोजक नारायण कोइरालाले ट्रिटमेन्ट प्लान्ट बिग्रेका कारण फोहोर पानी व्यवस्थापनमा समस्या भएको बताउँनुभयो ।

मेचीनगर–८ का वडा सदस्य एवम् न्यायिक समितिका सदस्य कुन्दन निरौलाले दुई महिनाअघि दुवै पक्षलाई राखेर यस विषयमा न्यायिक समितिमा छलफल भएको बताउँनुभयो । समितिले डेरीलाई ७ दिनभित्र फोहोर पानी व्यवस्थापन गर्न निर्देशन दिएको उहाँले बताउँनुभयो ।

गाउँले र डेरी उद्योगबीच चित्त बुझ्दो सहमति गरी दिगो समाधान गरिनु पर्ने डेरीका कार्यालय प्रमुख नवराज अधिकारीले बताउँनुभयो ।

डेरी उद्योगले गाउँ नै दुर्गन्धित हुने गरी नालीको पानीमा फोहोर फाल्नु गैर कानुनी काम भएको मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले बताउँनुभयो । फोहोरलाई सम्बन्धीत पक्षले नै व्यवस्थापन गर्नु पर्ने उहाँको भनाइ छ । दुवै पक्षलाई बोलाएर छलफलबाट समस्याको समाधान खोजिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्