एक वर्षपछि बल्ल कांग्रेस बैठक : पहिलोपटक प्रत्यक्ष प्रसारण, १० एजेन्डा

कांग्रेस रूपान्तरण अभियानको सातबुँदे सुझाव



काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको एक वर्षपछि मंगलबारबाट शुरू भएको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गरेको छ । पहिलोपटक प्रत्यक्ष प्रसारणको अभ्यास शुरू गरिएको उक्त बैठकका १० एजेन्डाहरू तय गरिएको छ ।

विधानअनुसार प्रत्येक २ महिनामा गर्नुपर्ने बैठक एक वर्षसम्म बस्न नसकेको भन्दै केन्द्रीय समितिका नेताहरूबाटै अलोचना खेप्दै आएको पार्टी नेतृत्वले यसपटक बैठकलाई प्रत्यक्ष प्रसारण गरी पारदर्शी बनाएको छ ।

सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले नेपाल समाचारसँगको कुराकानीमा सभापति शेरबहादुर देउवासहित पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले तय गरेका एजेन्डाका विषयमा केन्द्रीय समितिमा व्यापक छलफल गर्ने र उक्त छलफललाई खुल्ला र पारदर्शी बनाउन प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘लामो समयसम्म केन्द्रीय समितिको बैठक नबसेको कांग्रेसले के गर्दैछ? पार्टीका एजेन्डाहरू के हुन? आगामी दिनमा कसरी अघि बढ्ने भन्ने आम कार्यकर्ता, सुभेच्छुकहरूको जिज्ञासालाई सम्बोधन गर्न र पार्टीका नीति, कार्यक्रम, एजेन्डा तथा पार्टीभित्रको एकताका बारेमा समेत जानकारी दिनका लागि हामीले पहिलो पटक बैठकलाई खुला छलफल गराउन लागेका हौं ।’

कतिपय पार्टीको आन्तरिक असमझदारीका विषयमा नेताहरूले पार्टीमा धारणा नराख्ने र बाहिरबाहिर बोल्दै हिड्ने गरेको परिस्थितिलाई समेत ध्यानमा राखेर सबै नेताहरूका प्रस्तुति आम नागरिकले सुनुन्, बुझुन् र पार्टीलाई संस्थागत बनाउनेतर्फ सकारात्मक होउन भन्नका लागि पनि बैठकलाई प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरिएको विश्वकर्माले बताउनुभयो ।

देशको पुरानो लोकतान्त्रिक दल कांग्रेसले आफ्नो बैठकलाई समेत प्रत्यक्ष प्रसारण गरेर सबै विषयहरू नागरिकमाझ छर्लङ्ग बनाउने अभ्यासको सुरुवात गर्नुले लोकतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने नेताहरूले दाबी गरेका छन् । कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले पनि यसलाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया जनाएका छन् ।

सभापतिसहित पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकका एजेन्डाका विषयमा प्रस्ताव राख्नुभएको थियो । समसामयिक राजनीतिक घटनाक्रम, सांगठनिक कार्ययोजना, राष्ट्रव्यापी अभियानको घोषणा, कार्यसम्पादन समिति बैठकका निर्णय अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदन, नीति अधिवेशनको प्रस्ताव, विभाग गठन, अनुशासन समितिको प्रतिवेदन पेस, संसदीय दलको समीक्षा र संघ, प्रदेश र स्थानीय सरकारको समीक्षा र भातृसंगठनहरूका विषयलाई छलफलको एजेन्डा बनाइएको थियो ।

केद्रीय समितिको बैठकमा प्रस्तुत एजेन्डाहरू फेसबुक र अन्य मिडियाहरूमार्फत लाइभ हुनु एक ऐतिहासिक घटना भएको वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक तारानाथ दाहालले बताउनुभयो । अब कांग्रेसको नीतिगत तहले काम गर्छ वा गर्दैन भन्ने कुरा सर्वसाधारणले सहजै थाहा पाउने जिकिर गर्दै दाहालले भन्नुभयो– ‘लोकतान्त्रिक मुलुक र जनताका लागि यो अभ्यासले सकारात्मक सन्देश दिएको छ । यसले लोकतन्त्रलाई अझै बलियो बनाउन र पार्टीहरूलाई पारदर्शी बनाउन थप मद्दत पुग्ने हुँदा सबै दलहरूले आफ्ना बैठकहरू खुल्ला बनाउनुपर्छ ।’ उहाँले कांग्रेसका बैठक खुल्ला हुनुपर्छ भनेर विचार दिने तत्कालीन मुख्य सचिव शोभाकर पराजुलीको पनि स्मरण गर्नुभयो ।

केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा २२ वटा विभाग थप्न प्रस्तावसमेत गरिएको छ । महामन्त्री गगन थापाले बैठकमा पार्टीको कार्यपत्र प्रस्तुत गर्दै २२ वटा विभाग थप्न प्रस्ताव गर्नुभएको थियो । यसअघि कांग्रेसका ४८ वटा विभाग रहेका छन् । २२ विभाग थप गर्ने प्रस्ताव पारित भएमा कांग्रेसमा विभागको संख्या ७० पुग्नेछ ।

त्यस्तै, कांग्रेसले आगामी एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान चलाउने र ५ देखि ७ लाख नयाँ सदस्य थप गर्ने कार्ययोजना अघि सारेको छ । बैठकमा महामन्त्री थापाले आगामी साउन २० देखि २०८१ साल असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने प्रस्ताव प्रस्तुत गर्नुभयो । बैठकमा केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यहरूले आफ्नो धारणा राख्न पाउने व्यवस्था गरिएको महामन्त्री विश्वप्रकाश शर्माले बताउनुभयो ।

महामन्त्री थापाले बैठकमा कार्यकाल सकिएका ६ वटा भ्रातृ संगठनहरू नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव पनि राख्नुभयो । म्याद सकिएर तदर्थ समिति बनेको, तर समितिले पूर्णता नपाएका नेपाल विद्यार्थी संघलगायतका भ्रातृ संगठनलाई ६ महिनाभित्र अधिवेशन गरिसक्ने गरी भदौ १५ भित्र पूर्णता दिने उहाँको प्रस्ताव छ । हरेक ३÷३ महिनामा भातृसंगठनहरूले प्रगति प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने योजनासमेत छलफलमा ल्याइएको छ ।

यस्ता छन् प्रस्तावित विषय

‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने, समसामियक राजनीतिक घटनाक्रम, सांगठनिक कार्ययोजना, राष्ट्रव्यापी अभियानको घोषणा, कार्यसम्पादन समिति बैठकका निर्णय अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदन, नीति अधिवेशनको प्रस्ताव, विभाग गठन, अनुशासन समितिको प्रतिवेदन पेस, संसदीय दलको समीक्षा र संघ, प्रदेश र स्थानीय सरकारको समीक्षा र भ्रातृसंगठनहरूको तदर्थ समिति निर्माण तथा पूर्णता

कांग्रेस रूपान्तरण अभियानको सातबुँदे सुझाव

यसैबीच नेपाली कांग्रेस रूपान्तरण अभियानले सुझावसहितको प्रतिवेदन बुझाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत मंगलबार सभापति शेरबहादुर देउवालाई सुझाव प्रतिवेदन बुझाइएको नेता भूपेन्द्रजंग शाहीले जानकारी दिनुभयो ।

रूपान्तरण अभियानले प्रदेश भेलाबाट प्राप्त सुझाव पार्टी बैठकमा छलफलका लागि बुझाएको बताएको छ । गत जेठ महिनामा सातै प्रदेशमा रूपान्तरण अभियानअन्र्तगत तेस्रो पुस्ताका नेताहरूले भेला आयोजना गरेका थिए । उक्त प्रतिवेदन सभापति शेरबहादुर देउवालाई नै बुझाउन समय माग गरे पनि सभापति देउवाले समय नदिएपछि मुख्य सचिवमार्फत सुझाव प्रतिवेदन बुझाइएको हो ।

रूपान्तरण अभियानले बुझाएको प्रतिवेदनमा ७ विषयले कांग्रेसका कार्यकर्तालाई चिन्तित बनाएको उल्लेख छ । मंसिरको चुनावमा पार्टीको लोकप्रिय मत घट्दै गएको, अस्वाभाविक गठबन्धन तथा सरकार निर्माणले राजनीतिक दुर्घटना भएको, गत वैशाख १० को उपनिर्वाचनमा अनपेक्षित परिणाम आएको, भ्रष्टाचार प्रकरणमा पार्टीका नेताहरूको संलग्नता, पार्टीभित्र छटपटी र आक्रोश, भ्रातृ संस्था भद्रगोल र नीति तथा विधिविहीन तरिकाले पार्टी सञ्चालन हुनुले चिन्तित बनाएको पाइएकोे प्रतिवेदनमा उल्लेख छ ।

नेतृत्वले कांग्रेस रूपान्तरण अभियानलाई स्वीकार नगरे विशेष महाधिवेशनको प्रक्रियामा जाने भन्दै नेताहरूले पार्टीलाई यथास्थितिबाट मुक्त गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ । नेता गुरुराज घिमिरेले समग्र रूपबाट पार्टी रूपान्तरण गर्न सकिएन भने कांग्रेसले आगामी चुनौती सामना गर्न सक्दैन भन्ने ठहर गरेका बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले सातै प्रदेश भेला गरेर आयौं । प्राप्त गहकिला सुझाव पार्टीलाई बुझाइएको हो ।’ आफूहरूले गरेको कांग्रेस रूपान्तरण अभियानलाई पार्टीका तल्ला तहका संरचनाले अनुमोदन गरेको उहाँको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्