सन्दर्भ भानुजयन्ती : प्रयोगमा आउन सकेन रामायण घर



तनहुँ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित शिखरकटेरीमा निर्माण गरिएको रामायण भवन प्रयोग प्रयोगमा आउन सकेको छैन । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा निर्माण गरिएको रामायण भवन प्रयोगविहीन अवस्थामा रहेको छ ।

पश्चिमाञ्चल विकास मञ्चले तीन वर्षअघि ३ करोडको लागतमा निर्माण सम्पन्न गरेको उक्त रामायण घर प्रयोगविहीन भएको छ । रामायण घर प्रयोगमा नआउनु र संरक्षण नहुँदा अलपत्र र जीर्ण बन्दै छ । प्रयोगमा नआउँदा उक्त घरमा ताला लगाएर राखिएको छ ।

घर निर्माण गरिए पनि रामायण घरका लागि आवश्यक भित्री संरचनाहरू बनाउन बाँकी रहेको भानुभक्त जन्मस्थल विकास समिति तनहुँले जनाएको छ । समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले रामायण घर निर्माण गरिए पनि त्यसको संरक्षण गर्न नसकिएको बताउनुभयो ।

५० रोपनी क्षेत्रफलमा रामायण घर निर्माण गरी अन्य संरचना निर्माणका लागि गुरुयोजना तयार भए पनि बजेट अभावले कुनै पनि काम अगाडि बढाउन नसकिएको उहाँको गुनासो छ । रामायण घरमा पुग्दा झ्याल, ढोका राखिएको देखिन्छ । उक्त घरका सिसा फुट्न थालेका छन् भने काठ धमिराले खान थालेको छ ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले आदिकवि भानुभक्त आचार्यको नामबाट नै नामकरण गरिए पनि उहाँसँग सम्बन्धित रामायण घरको संरक्षण गर्न नसकेको स्वीकार गर्नुभयो । ‘भानु जन्मस्थल अहिले संघ सरकार मातहत रहेको छ, भानु जन्मस्थलको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकार र संघ सरकारबाट बजेटको व्यवस्थापन हुने हुँदा नगरपालिकाले कुनै पनि कार्य गर्न सकेको छैन, तर पनि समन्वय गरेर काम गर्ने तयारीमा छौं’, नगर प्रमुख त्रिपाठीले भन्नुभयो– ‘रामायण घरको संरक्षणका लागि एक जना पालेसमेत राख्न सकिएको छैन ।’

पालिकाभित्रको साहित्यिक स्थल भए पनि संरक्षणप्रति चासो नदेखिएको स्थानीयको भनाइ छ । संरक्षणको अभावले गर्दा पछिल्लो समयमा भवनका सामग्री चोरी हुने, तोडफोड हुने, युवायुवती बस्ने र गफिने स्थल बन्दै गएकोमा दुःख लागेको स्थानीय पम्फा परियारले बताउनुभयो । रामयण घरसम्म पुग्ने सडक सहज नहुँदा यहाँ घुम्न आउने पर्यटक र स्थानीयलाई समस्या भएको परियारले बताउनुभयो ।

भानुभक्तसँग सम्बद्ध स्थल, खोज, अनुसन्धान, संरक्षण, प्रवद्र्धन र प्रचार गर्ने उद्देश्यका साथ स्थापना गरिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समिति, स्थानीय निकाय र राज्यले भाषिक एकताका प्रणेता भानुभक्त जन्मस्थलप्रति गरेको बेवास्ताले रामायण घर अलपत्र परेको बताउँछन् । भानु जन्मस्थल उपेक्षामा परेको बताउँछन् ।

यथोचित विकास र प्रचारप्रसारका लागि सम्बद्ध सबैको एकता र ध्यान पुग्न जरुरी देखिएको छ । संघ सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभाग मातहतमा रामायण भवन निर्माण भएको हो । त्यस्तै, गुरुयोजनाअन्तर्गत १४ रोपनी क्षेत्रफलभित्र भानु गृह, आवास गृह, चमेना गृह, पुस्तकालय, शौचालय, पोखरीलगायतका भौतिक संरचना निर्माण गर्ने योजना छ । तर, गुरुयोजना निर्माण गरिए पनि हाल अलपत्र अवस्थामा रहेको छ ।

उक्त गुरुयोजनाका लागि अनुमानित लागत १६ करोड रहेको छ । पर्यटकलाई थप आकर्षित गर्न आदिकविको सय फिट अग्लो सालिक निर्माणलगायतका दीर्घकालीन गुरुयोजनासमेत छ । चुँदीरम्घा बेंसीदेखि शिखरकटेरीसम्म पुग्ने धनञ्जय मोटरमार्ग स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । जसले गर्दा पैदल नै रामायण घरसम्म हिँडेर जानुपर्ने बाध्यता रहेको छ ।

साहित्यिक कार्यक्रम गर्ने सभा हल, भवनको भित्तामा रामायणमा भएका श्लोकहरू, रामायणसँग सम्बन्धित तस्विरहरू कँुदिने योजना रहेको छ । राष्ट्रिय विभूतिको स्मृतिमा निर्मित रामायण घर अलपत्र हुँदा चुँदेली दुःखित छन् । भानुभक्त र रामायणसँग सम्बन्धित सामग्री सुरक्षित गरेर त्यसलाई साहित्यिक गन्तव्य स्थलका रूपमा विकास गर्नुपर्ने स्थानीयको माग छ ।

रामायण भवन कलात्मक बुट्टा कुँदेर निर्माण गरिएको छ । नेपाली भाषा र साहित्यका प्रणेता आदिकवि भानुभक्त आचार्यको जन्म विसं १८७१ असार २९ गते पिता धनञ्जय र माता धर्मावतीदेवीको कोखबाट चुँदीरम्घामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्