हेल्थ टिप्स- टार्न नसकिने झन्झट रजस्वलाको संवेदनशीलता



एकक्षण कल्पना गरौं, यदि पुरुषले पनि महिलाले जस्तै प्रत्येक महिना रजस्वलाको झन्झट भोग्नुपर्ने भए पुरुषवर्गको तुजुक कहाँ पुग्थ्यो होला ? त्यसैले पुरुषवर्ग प्रकृतिप्रति अनुगृहित हुनुपर्दछ र रजस्वलाको पिरलो भोग्नुपर्ने प्राकृतिक बाध्यता व्यहोरिरहेका आफ्ना आमा, दिदी, बहिनी, पत्नी, छोरी, महिला साथी, सहकर्मीलगायत तमाम महिलाप्रति विशेष संवेदनशील र सहयोगी हुनुपर्दछ । तर यो विवेक पुरुषशासित समाजमा कहाँ पाउनु ?

महिनावारी, रजस्वला, मासिक धर्म, नछुने हुनु, छुई हुनु, छाउ, मिन्स, पिरियड आदि विभिन्न नामले बुझिने यो प्राकृतिक प्रक्रियाले प्रत्येक महिलाको जीवनमा अत्यन्तै महत्व राख्दछ । अंग्रेजीमा यसलाई ‘मेन्सुरेसन’ भनिन्छ । यो शब्द ग्रिक भाषाबाट आएको हो । रोमन धार्मिक विश्वासमा रजस्वलाकी पनि देवी छिन्, जसको नाम ‘मेन्स’ हो । उनैको नामबाट रजस्वलालाई मेन्सुरेसन नाम दिइएको हो । यसकै छोटकरी रुप ‘मिन्स’ शिक्षित महिलाहरुबीच प्रचलित छ । रोमन धर्ममा मानिसको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषय वा क्रियासँग सम्बन्धित देवी, देवता मान्ने चलन छ, जस्तै निद्राकी देवी, सपनाकी देवी, भोजनका देवता, खेलकुदका देवता आदि ।

किशोरावस्थाको प्रारम्भदेखि शुरु भई प्रौढावस्थासम्म जारी रहने रजस्वलाले महिलाको शारीरिक, भावनात्मक, यौनिक, पारिवारिक र सामाजिक पक्षमा धेरै प्रभाव पार्दछ । जसरी मानिसको शरीरभित्र उत्पादन भएका काम नलाग्ने पदार्थ जस्तै– दिसा, पिसाब, पसिना, सिँगान, थुक आदि शरीरबाट नियमित रुपमा बाहिर फ्याँकिनु अनिवार्य छ । त्यसै गरी महिलाको पाठेघरभित्र काम नलाग्ने पदार्थको रुपमा परिणत भएको रजस्वला पनि योनिमार्गबाट बाहिर निस्कनु अनिवार्य हुन्छ । यसको कारण र प्रक्रियाबारे स्वयम् कतिपय महिलाहरु अनभिज्ञ छन् । उनीहरुले यसलाई महिला भएपछि भोग्नै पर्ने अप्ठ्यारो वा भगवान्को लीलाको रुपमा मात्र बुझ्ने गरेका छन् । पुरुषहरुले त झन् यसलाई बेसरोकारको विषय मान्दछन्, जो ठीक धारणा होइन । महिलाको रजस्वलाको पीडा नबुझ्ने र त्यस्तो बेला सहयोग नगर्ने पुरुषलाई विवेकशील मान्न सकिँदैन ।

किन हुन्छ रजस्वला ?

रजस्वला खासमा महिलाको प्रजनन स्वास्थ्यसँग सम्बन्धित छ । रजस्वला शुरु हुनु भनेको शरीरमा प्रजनन क्षमता प्राप्त भएको संकेत हो र प्रौढावस्थामा पुगेर रजस्वला सधैँका लागि बन्द (रजोनिवृत्त) भएपछि प्रजनन क्षमता पनि अन्त्य हुन्छ । अर्थात् रजस्वलाको क्रम जारी रहेसम्म मात्र महिलामा प्रजनन क्षमता कायम रहन्छ । यस प्रक्रियामा महिलाको अण्डाशय, अण्ड, अण्डबाहिनी नली, पाठेघर, योनिको प्रत्यक्ष भूमिका रहन्छ । प्रत्येक महिलाको गर्भाशयको दाहिने र देब्रेतिर एक–एक गरी दुईवटा अण्डाशय रहेका हुन्छन् । ती दुईमध्ये एउटाबाट हरेक चार हप्ताको अन्तरालमा एउटा अण्ड निस्कन्छ र अण्डवाहिनी नलीको बाटो गरी पाठेघरभित्र पुग्छ । यो यात्रा पूरा गर्न अण्डलाई करिब ७२ घन्टा लाग्छ । यसबीच पुरुष र महिलाबीच यौनसम्पर्क भई पुरुषको वीर्यमा रहेको शुक्रकीट र अण्डको मिलन भयो भने अण्ड निषिक्त भई स्त्रीमा गर्भ रहन्छ र त्यो निषिक्त अण्ड पाठेघरमै रहेर हुर्किंदै नौ महिना पुगेपछि नवजात शिशुको रुपमा जन्म लिन्छ ।

यदि यौनसम्पर्क भएन र भएर पनि अण्ड निषिक्त भएन भने त्यो अण्ड आफैं पाठेघरभित्रै नष्ट हुन्छ र पाठेघरभित्र जम्मा भएको अन्य रक्तकणसँग मिसिएर योनिमार्गको बाटो बाहिर निस्कन्छ । यसरी नष्ट भएको अण्ड र रक्तकण तरल वा अर्धतरल रुपमा योनिद्वारबाट बाहिर निस्कनु नै रजस्वला हुनु हो । यो रक्तश्राव समान्यतया चार दिनसम्म र बढीमा सात दिनसम्म जारी रहन्छ । गर्भवती नभएसम्म प्रत्येक महिना यो प्रक्रिया दोहोरिने भएकोले यसलाई महिनावारी भनिएको हो । गर्भवती भएपछि शिशु नजन्मिएसम्म रजस्वला स्थगित हुन्छ । पुनः रजस्वला शुरु भएपछि महिला फेरि गर्भवती बन्ने सम्भावना पनि शुरु हुन्छ । यौनसम्पर्कपछि रजस्वला हुनुपर्ने आफ्नो मासिक चक्रअनुसार नभई रजस्वला रोकिनु गर्भवती भएको प्रमुख लक्षण हो ।

परिवार र विद्यालयको दायित्व :

नवकिशोरीहरु पहिलोपटक रजस्वला हुँदा परिवारका परिपक्व महिला अभिभावकहरु जस्तै– आमा, दिदी, भाउजू आदिले पूर्ण सहयोग गर्नुपर्दछ । रजोवती किशोरीमाथि यसो नगर, उसो नगर भनेर अनेकौं चाहिने नचाहिने नियम लाद्नुहुँदैन । पहिलोपटक रजस्वला हुँदा किशोरी आत्तिरहेकी हुन्छिन्, पहिला कहिल्यै नभएको शारीरिक पीडा पनि भइरहेको हुन्छ । तसर्थ यस्तो अवस्थामा उनलाई कसरी सजिलो र सुविधा हुन्छ त्यसै गरिदिनुपर्छ ।

सामान्यतया ९ वर्षको उमेर देखि १६ वर्षको उमेरभित्र केटीहरुमा रजस्वला प्रक्रिया शुरु हुन्छ । यो उमेर समूहका केटीहरु विद्यालय जीवन बिताइरहेका हुन्छन् । तसर्थ यस विषयमा विद्यालयको पनि प्रमुख जिम्मेवारी रहन्छ । यसमा विद्यालयको मुख्यतया दुई किसिमको जिम्मेवारी रहन्छ– ज्ञानमूलक र व्यवस्थापकीय । ज्ञानमूलक जिम्मेवारीमा सबै विद्यालयले रजस्वला हुने अवस्थामा पुगेका आफ्ना छात्राहरुका लागि रजस्वला प्रक्रिया र यसको व्यवस्थापनबारे कक्षा नै लिएर आवश्यक ज्ञान दिनुपर्दछ । सहजताका लागि छात्राहरुलाई मात्र अलग कक्षामा राखी शिक्षिका वा विद्यालय नर्सले रजस्वलाका सबै पक्षबारे विस्तृत जानकारी दिने व्यवस्था गर्न सकिन्छ । पाठ्यक्रममै यौन शिक्षा समावेश गरेर छात्रछात्रा सबैलाई यसबारे जानकारी दिनु अझ लाभदायक हुन्छ ।

हरेक विद्यालयले गर्नै पर्ने अर्को महत्वपूर्ण व्यवस्थापकीय कार्य हो– स्वच्छ, सफा र पर्याप्त पानी भएको महिला शौचालयको व्यवस्था । यसका साथै स्यानिटरी प्याड, साबुन, फोहोर प्याड विसर्जन गर्ने उचित व्यवस्था आदि पनि सुनिश्चित हुनुपर्दछ । कुनै छात्रा विद्यालयमा रहेकै अवस्थामा पहिलोपटक रजस्वला भएमा उसलाई सुरक्षित रुपमा घरसम्म पु¥याइदिने वा अभिभावक बोलाएर जिम्मा लगाउने दायित्व पनि विद्यालयकै हुन्छ । साथै रजस्वलाको कारण छात्राहरुको महत्वपूर्ण परीक्षामा असर पर्न नदिने गरी व्यवस्थापन गराउनु पनि विद्यालयकै दायित्वमा पर्दछ । परिवारबाट टाढा आवासीय विद्यालयको छात्रावासमा रहेका छात्राहरुको रजस्वला अवधिलाई सहजीकरण गर्ने पूरै दायित्व छात्रावास व्यवस्थापनमा निहित रहन्छ ।

रजस्वलामा पीडा :

रजस्वलाको सबैभन्दा नकारात्मक पक्ष यसमा महिलालाई हुने पीडा र असहजता नै हो । यो पीडालाई डिस्मेनोरिया भनिन्छ । रजस्वलामा पीडा प्रायः सबैजसो महिलालाई हुन्छ । तर पीडाको प्रकृति भने फरक–फरक हुनसक्छ । कसैलाई रजस्वला हुनुभन्दा दुई–तीन दिनअघिदेखि तल्लो पेट, तिघ्रा, टाउको, कम्मर, नितम्ब, खुट्टा दुख्ने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने, स्तन भारी हुने र रजस्वला भएपछि आफैं बिस्तारै ठीक हुने हुन्छ । कसैलाई रजस्वला अवधिभर नै पीडा हुन्छ । शारीरिकका अतिरिक्त भावनात्मक असजिलो पनि हुन्छ । जस्तै– झर्को लाग्ने, स–सानो कुरामा रिस उठ्ने, चिडचिडापन, थकान महसुस, खानमा अरुचि, अनिदो रात आदि ।

रजस्वला हुने र भइरहेको बेलामा पाठेघर खुम्चने र पाठेघरवरिपरि र तिघ्राका मांसपेशीहरु तन्किन्छन् । यही खुम्चने र तन्किने कारणले नै ती भागहरुमा पीडा हुन जान्छ । पीडाका कारण अरु पनि हुन सक्छन्, जस्तै– अति दुर्बल शरीर, कुपोषण, क्षयरोग, थाइराइड, रक्तअल्पता, असन्तुलित हरमोन, पाठेघर वा अण्डवाहिनी नलीमा समस्या, यौन अंगमा संक्रमण आदिमध्ये कुनै कारण । रजस्वलाको पीडा दुई–चार दिनमै ठीक हुन्छ भने त्यो सामान्य हो तर हरेक महिना रजस्वला हुँदा बिरामी नै परिन्छ भने त्यो असामान्य हो र त्यस्तो भएमा स्त्रीरोग विशेषज्ञसँग अविलम्ब सम्पर्क गरिहाल्नुपर्दछ । भर्खर–भर्खर रजस्वला शुरु हुँदा र रजोनिवृत्त हुने बेलामा अलि बढी पीडा हुने गर्दछ ।

औषधिमा पहुँच भएका महिलाहरुले रजस्वलाको पीडाबाट राहत पाउन दुखाइ कम गर्ने पेन किलर औषधि सेवन गर्ने गरेको पाइन्छ । तर यो ठीक उपाय होइन । हरेक महिना यसरी पेन किलरको सहारा लिँदा त्यसको प्रतिकूल असर पर्दछ, खास गरी मिर्गौलामा । रजस्वलाको पीडाबाट मुक्ति पाउन नियमित रुपमा कम्मर, तल्लो पेट, नितम्ब, तिघ्रा, योनिभाग आदिमा कसरत हुने किसिमका व्यायाम वा योगाभ्यास गर्नु उचित हुन्छ । पीडा भइरहेको बेला पीडा भएको अंगमा तातो पानीको ब्यागले सेकाउने, मनतातो तागतिलो झोल पदार्थ खाने, आराम गर्नेतर्फ बढी ध्यान दिनुपर्छ, पेन किलर खानेतर्फ होइन ।

रजस्वला भएका बेलामा चिसो चिज खानुहुँदैन भने पचाउन कठिन हुने गरिष्ठ भोजन गर्नुहुँदैन । अपच भई पखाला लाग्यो भने असाध्यै गाह्रो हुन्छ । हाम्रा गाउँघरतिर रजस्वला भएकी महिलालाई दूध, दही पौष्टिक तत्व खान नदिने, दियो भने गाईभैंसी बिरामी हुन्छन् भन्ने अत्यन्तै गलत चलन र अन्धविश्वास रहेको पाइन्छ । त्यस्तो बेलामा महिलालाई अरु बेलाको भन्दा अझ बढी पौष्टिक आहार खान दिनुपर्छ । विशेष गरी प्रोटिन र आइरनयुक्त खानेकुरा लाभदायक हुन्छ ।

(श्रीरामसिंह बस्नेत, साधना हेल्थ मासिक, वि.सं. २०८० जेठबाट साभार)

प्रतिक्रिया दिनुहोस्