सचिव बैठकमा आक्रोश- ‘एसम्यान’ बन्दा प्रशासन संयन्त्र ध्वस्त भयो’



काठमाडौं । लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको सचिव बैठकमा सरकारका केही सचिवहरूले आक्रोश पोखे । डा. बैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त भएपछि उहाँले गत शुक्रवार पहिलोपटक आफ्नै अध्यक्षतामा सचिव बैठक राखेर सुझावहरू लिनुका साथै केही निर्णयहरू पनि गराउनुभयो ।

यसअघिका मुख्य सचिव शंकरदास वैरागीले पछिल्ला महिनामा सचिव बैठक नियमित राख्न सक्नुभएको थिएन । प्रत्येक महिना बसेर महत्वपूर्ण निर्णय लिनुपर्ने सचिव बैैठक केही महिनादेखि अवरुद्ध हुँदै आएको थियो । तर, मुख्य सचिव अर्यालले हरेक महिनाको पहिलो सोमबार सचिव बैठक बस्ने निर्णय गराएर बैठकलाई निरन्तरता दिलाउनुभएको छ । यद्यपि, मुख्य सचिव अर्यालले सचिवहरूको पहिलो बैठकमा नै कडा प्रश्नहरूको सामना गर्नुपरेको छ ।

६० जनाभन्दा बढी सचिवहरू सहभागी सो बैठकमा केही सचिवहरूले प्रशासनिक नेतृत्व राजनीतिक नेतृत्वको लाचार छाया र एसम्यानबन्दा प्रशासनिक संयन्त्र ध्वस्त बनेको टिप्पणी गरे । उनीहरूले मुख्य सचिव अर्याललाई एसम्यान नबन्न र प्रशासनिक संयन्त्रलाई कोमामा पुग्नबाट बचाउन सुझाव दिए । केही सचिवहरूले सचिवहरूकै विरुद्ध समेत आक्रोश पोखे । बैठकमा सहभागी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकृतका अनुसार प्रधानमन्त्री कार्यालयकै एक सचिवले मन्त्रीको चाकडी र चाप्लुसीमा रमाउने सचिवहरूले प्रशासनको साख गिराएको भन्दै आपत्ति व्यक्त गरे । ‘योग्यता र क्षमताबिना नै महत्वपूर्ण र संवेदनशील मन्त्रालयमा जान खोज्ने र त्यहाँ गएर मन्त्रीको एसम्यान बन्दै भ्रष्टाचारलाई संस्थागत गर्ने काम सचिवले गर्नु चिन्ताजनक र आपत्तिजक छ’ –प्रधानमन्त्री कार्यालयका ती सचिवले भने ।

ती सचिवले यसअघिका मुख्य सचिवले संवेदनशील मानिएको मन्त्रालयमा सचिव पठाउँदा ध्यान पु¥याउन नसकेकाले सिंगो प्रशासन संयन्त्र बद्नाम र दूषित बन्न पुगेको बताए । तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले चाकडी र चाप्लुसीका भरमा गृह मन्त्रालयसम्बन्धी कुनै जानकार नभएकालाई सचिवमा लैजानु र गृहबारे केही जानकार नभएका सचिव टेकनारायण पाण्डे पनि आफंै गृह मन्त्रालयमा जान मरिहत्ते गरेर लाग्दा त्यसले समस्या सिर्जना गरेको ती सचिवले दाबी गरे । ‘त्यतिखेर गृहमन्त्रालयमा सचिव पठाउँदा मुख्य सचिवले विशेष ध्यान दिनुपथ्र्यो तर मुख्य सचिवले वास्ता गर्नुभएन अन्ततः सिंगो प्रशासन नै बद्नाम बन्न पुग्यो’ –ती सचिवले भने । त्यतिखेर पाण्डे गृहसचिवमा जाँदा नै गृहसम्बन्धी कुनै जानकारी नै नभएको भन्दै उहाँको व्यापक आलोचना भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री खाँण र तत्कालीन गृहसचिव पाण्डे दुवै जना हाल जेलमा रहेका छन् ।

सचिव बैठकमा सहभागी सचिवहरूले बहालवाला सचिव यसरी जेलमा जानुपर्ने अवस्था किन र कसले गर्दा आयो भन्दै प्रश्न गरेका थिए । ‘कहाँ कसलाई पठाउँदा कस्तो योग्यता र क्षमता चाहिन्छ भनेर मुख्य सचिवले विशेष ध्यान दिएर प्रधानमन्त्रीलाई सोहीअनुसार सजेस्ट गर्न सक्नुपर्छ, तर विगतमा त्यस्तो भएन, अब हुन्छ कि हुँदैन हेर्नेछौं’ –ती सचिवले मुख्य सचिव अर्याललाई संकेत गर्दै भने ।

केही सचिवहरूले मुख्य सचिव प्रधानमन्त्रीको सल्लाहकार भएकाले आवश्यक सल्लाह सुझाव दिनुपर्ने र चाहिँदो कुरामा डराउन नहुने सुझाव दिए । ‘प्रधानमन्त्रीलाई पनि कतिपय कुराहरू थाहा नहुन सक्छ त्यस्तो अवस्थामा मुख्य सचिवले प्रधानमन्त्रीलाई सम्झाउनुपर्छ, हस् हजुर भन्दै एसम्यान बन्नु हुँदैन’ –एक सचिवले मुख्य सचिवलाई सुझाव दिँदै भने । उनले मन्त्रीहरूले सचिव छान्ने परिपाटी पूर्ण रूपमा अन्त हुनुपर्नेमा जोड दिए । सचिव बैठकमा सबै सचिवहरू एकजुट हुनुपर्ने र कोही कसैको एसम्यान हुन नहुनेमा जोड दिइएको थियो ।

सचिव बैठकमा धेरै सचिवहरू भने औपचारिकतामा सीमित भएका थिए । सरकारी संयन्त्र र प्रशासन संयन्त्रमा विकृति बढिरहँदा धेरै सचिवहरूमा भने त्यसलाई कसरी रोक्ने भन्नेमा खासै चिन्ता र चासो नभएको देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो ।

मुख्य सचिव अर्यालले पनि सचिवहरूको सुझाव ग्रहण गर्दै आगामी दिनमा प्रशासनको साख बिग्रन नदिने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारीतन्त्रको ठूलो भूमिका हुने भएकाले सेवा प्रवाहलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सचिव बैठकमा कतिपय कर्मचारीले आचरण पालनामा ध्यान दिन नसकेको भन्दै आचरण पालना र सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने र त्यसको नियमित अनुगमन राष्ट्रिय सर्तकता केन्द्रले गर्नुपर्ने निर्णय गरेको छ । यसै गरी बैठकले विपद्को समय भएकाले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा राज्यका सम्बन्धित निकायलाई प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय गरेको छ । सो बैठकले कतिपय महत्वपूर्ण कानुन निर्माण हुन नसकेकाले त्यस्ता कानुन निर्माण प्रक्रिया थाल्नुपर्ने निर्णय गरेको बताइएको छ । यसै गरी संघीय निजामती सेवा ऐन छिटोभन्दा छिटो ल्याउनुपर्नेमा बैठकले जोड दिएको छ । कार्यालयको काम गर्दा स्वचालित प्रणालीअनुसार गर्ने निर्णय बैठकले गरेको छ ।

सचिव बैठकका मुख्य निर्णय

–कर्मचारीको आचरणमा सुधार गरेर अघि बढ्ने
–राष्ट्रिय सतर्कता केन्द्रले नियमित अनुगमन गर्ने
–विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा आवश्यक ध्यान दिने
–बाँकी रहेका कानुन निर्माण अघि बढाउने
–स्वचालित प्रणालीमा जाने
–सेवा प्रवाह र सुशासनमा विशेष ध्यान दिने

प्रतिक्रिया दिनुहोस्